
ताप्लेजुङ: ताप्लेजुङका गाउँ-गाउँमा लिङ्गे पिङ थाप्ने चलन हराउदै गएको छ। केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाडमा प्रत्येक टोलमा पिङ थापिन्थ्यो। तर पछिल्लो समय गाउँगाउँमा खेलिने लिङगे पिङको चलन हराउदै गएको हो।
दशैंको सुरुवातदेखि थापेको पिङ तिहारसम्मै राखिन्थ्यो । युवाहरु विभिन्न सिलसिलामा गाउँबाट बिहिर जान थालेसँगै दशैंको खुसियालीमा रौनक थप्ने पिङ खेल्ने संस्कृती हराउदै गएको बुढापाहरुको भनाई छ।
‘दशैँका बेला गाउँका विषेश गरी युवा पुस्ताले बालबालिकाको लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो, अहिलेको पुस्तामा त्यो रहर देखिदैन।’ फुङलिङ नगरपालिका ८ का घनश्याम पौडेलले भने। प्रविधिको विकास भएसँगै मनोरञ्जनका अन्य साधनहरु प्रशस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको उनको बुझाई छ। रोजगारका लागि युवाहरु विदेशिएका कारण पिङ थाप्ने जनशक्ति नै गाउँमा नभएको सिरिजंघा गाउँपालिका ७ का सन्तोष पुर्कुटी बताउछन।
पिङ थाप्नको लागि बाबियो काटेर ल्याउने, लठ्ठा बनाउने देखि लिएर बाँस तयार गरी लिङ्गा जोड्न कम्तिमा पनि ५—८ जनाको आवश्यकता पर्ने उनको भनाई छ । ताप्लेजुङको फुङलिङ बजारमा नेपाली सेना र शसस्त्र प्रहरीले पिङ थाप्ने परम्परालाई निरन्तरता दिए पनि जिल्लाका अन्य गाउँमा फाट्टफुट्ट मात्र पिङ थापिएको छ।
कमेन्ट गर्नुहोस !