शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

पीडामा युरोप


 शिवराज पण्डित (पीएच.डी.)

जोन्स हप्किन्स विश्वविद्यालयको प्रतिवेदन (९अप्रिल २०२०) अनुसार कोराना भाइरसबाट विश्वका २०९ देशहरु संक्रमित तथा प्रभावित छन् । यी देशहरु मध्ये १० देशहरु उच्च जोखिममा छन् । जोखिममा रहेका १० देशहरु मध्ये ७ वटा देशहरु युरोपमा पर्दछन् । विश्व मानचित्रमा ४८ देशहरु युरोपमा पर्दछन् । युरोपमा विश्वको कूल जनशंख्याको ९.५९ प्रतिशत (७४७,६३६,०२६) मानिसहरु बसोवास गर्दछन् ।  विश्वमा फैलिएका महामारी र युद्धले गर्दा युरोपको जनशंख्याको आकार घटबढ् हुंदै आएको देखिन्छ । विश्वको इतिहांस हेर्दा युरोपले प्राकृतिक र मानव निर्मित धेरै संकटहरु झेल्दै र भोग्दै आएको छ । युरोपका यी संकटहरु पीडादायी मात्र थिएनन्, सिंङ्गो मानव समुदायका लागि ज्ञान, विज्ञान र मानव शुखका लागि प्रेरणाका स्रोतहरु पनि थिए ।

पश्चिमाहरु भन्ने गर्दछन्– हरेक १०० वर्षमा विश्वमा महामारी आउंदछ । पूर्वीय दर्शनमा आधारित ग्रन्थ र दार्शनिकहरु भन्ने गर्दछन्– हरेक १२० वर्षमा महामारी वा संकट आउने गर्दछ ( अन्नपूर्ण पोष्ट चैत्र, ०९ ) । हुन पनि त्यस्तै भएको छ । पश्चिमाहरुले भने जस्तो हरेक १०० वर्ष ( सन् १७२०,१८२०,१९२०,२०२०) मा विश्वका मानवहरुले विभिन्न प्रकारका माहामारी र विपत्हरु भोग्दै, झेल्दै र पाठ सिक्दै आएका छन् ।  तिनै विपत्हरुको   एउटा श्रंखला होे कोभिड–१९ ।

विश्व स्वास्थ्य संगठन (२०७६) को अनुसार कोरोना भाइरस पहिलो पटक सन् २००२ मा चीनको ग्वाङ्ङङ प्रान्तमा देखा परयो । त्यसको प्रभाव र असर २००५ सम्म देखा परयो । यो रोगबाट चीन,हंङकङ,भियतनाम,ताइवनान,सिंङ्गापुर,क्यानडा लगायत २६ देशहरु प्रभावित भए । यो रोगको कारण करिव ८००० मानिसहरुको मृत्यू भयो । तर युरोपले कोरानाको पहिलो आक्रमणबाट त्यति क्षति ब्यहोर्नु परेन जुन क्षति कोरानाको दोस्रो संस्करण कोभिड–१९ बाट ब्यहोर्नु परेको छ ।

युरोपले अन्य महादेशहरुको तुलनामा ई.पू.५४१ देखि सन् २०२१ सम्म आउंदा धेरै रोग र महामारीहरुको सामना गरेको देखिन्छ  । प्लेग (ई.पू.५४१) ब्ल्याक डेथ (१३४७) । यो रोगको महामारी यति ठूलो थियो यसले युरोप लगाएत अन्य महादेशहरुका झण्डै २० करोड मानिसहरुको मृत्यू भएको अनुमान छ । यो रोगको महामारीको केन्द्र युरोप थियो । त्यस्तै दि ग्रेट प्लेग (१६६५), स्मालपक्स ( १५–१८ औं शताव्दी ) कालेरा (१९ औं शताव्दी ) देखि सन् २०२० को कोभिड–१९ सम्म आउंदा झण्डै २ दर्जन महामारी रोगहरु फैलिएर विश्वका झण्डै ३० करोड मानिसहरुको मृत्यू भएको अनुमान छ । मृत्यू र संक्रमणको दृष्टिले युरोपले ठूलो क्षति भोगेको देखिन्छ ।

युरोपको पीडा महामारी रोगसंग मात्र सिमित छैन, मानव सिर्जित ठूला ठूला युद्धहरुको पनि सामना गरेको छ युरोपले । जस्तो छैठौं शताव्दी देखि १५ औं शताव्दीको अन्त्य सम्म झण्डै एक हजार वर्ष धार्मिक युद्धको सामना गर्नु परयो । धार्मिक युद्धमा कति मानिसहरुको मारिए भन्ने एकिन तथ्यांक नभए पनि विभिन्न ऐतिहासिक ग्रन्थ र खोजहरुको अध्ययन गर्र्दा १० करोड भन्दा बढी मानिसहरु मारिएको अनुमान गरिएको छ । त्यस्तै बेलायतको गौरवमय क्रान्ति ( सन् १६८८),फ्रेन्च रिभुलसन ( सन् १७८९ ) अठारौं शताव्दीको औधोगिक क्रान्ति, प्रथम विश्वयुद्ध (सन् १९१४), रसीयन क्रान्ति ( सन् २०१७)  दोस्रो विश्वयुद्ध (सन् १९३९) आदि युद्धहरु युरोपका देशहरु प्रत्यक्ष रुपमा संग्लन भै लडेका युद्धहरु हुन् ,जसबाट युरोपले ठूलो क्षति ब्यहोर्नु परयो ।

भनिन्छ– युरोपियनहरुले विभिन्न प्राकृतिक र मानव निर्मित संकटहरु आफ्नै आंखाले देखे ।  आफ्नै सामुन्ने परिवारको सदस्य तथा आफ्न्तहरु मरेको र मारिएको देखे । यी पिडाहरुको अभ्यस्तताले युरोपियनहरुमा मर्ने डर या भय हरायो । जोखिम मोल्न सक्ने ताकत र क्षमता पैदा गरयो । जोखिम मोलेर संसारलाई चाहार्ने,अध्ययन गर्ने,खोज अन्वेषण गर्ने सोंच र चिन्तनको विकास भयो युरोपियनहरुमा । यिनै महामारी र युद्धका बीचबाट विश्वलाई नयां ज्ञान, विज्ञान र मानवताको सन्देश दिने धेरै महापुरुषहरु तथा वैज्ञानिकहरु जन्मिए ।

महान बैज्ञानिक स्टेपन हकिन्स (१९४२–२००८),कार्लमाक्र्स (जर्मन) ग्यालिलियो (इटाली),आइस्टान देखि अमेरिका पत्ता लगाउने स्पेनिस माझि क्रिष्टोफर कोलोम्बस (१९४२)  जस्ता सयौं बैज्ञानिक र महापुरुषहरु युरोपले जन्मायो । कोलम्बसको सामुन्द्रिक यात्राले  विश्वका मानव–मानव बीचको सह–सम्बन्ध स्थापना गरी सामाजिक, आर्थिक,सांस्कृतिक सम्बन्धको विस्तार  गर्न सहयोग पुग्यो । यसबाट नयां विश्व ब्यबस्था स्थापना भयो ।

युरोपको योगदान ज्ञान र विज्ञानसंग मात्र सिमित छैन । विश्वमा प्रचलनमा रहेका राजनैतिक प्रणाली,वाद र विचारधाराहरु पनि युरोपियनहरुको योगदान हुन् । कोभिड–१९ बाट बढी प्रभावित भएको देश इटाली हो, जहांबाट मानव सभ्यताको विकास भएको थियोे । इटाली त्यो देश हो जहांबाट युरोपमा झण्डै एक हजार वर्ष चलेको धार्मिक युद्धको अन्त्य भएको घोषणा गरिएको थियो । धार्मिक युद्धको अन्त्यसंगै युरोपमा पुनर्जागरण कालको शुरुवात भएको थियो । पुनर्जागरणले मानवतावादी धारणाको विकास गरयोे । मानवतावादको उद्घोष गर्ने इटाली कोभिड–१९ को महामारीका कारण मानवता हराएको देश जस्तो भएको छ ।

हरेक महामारीे र ठूला युद्धहरुको परिणाम दुःखद् भए पनि यस्ता महामारी र युद्धहरु मानवजातिका लागि पीडादायक मात्र भएका छैनन् । नयां विश्व ब्यवस्था स्थापनाका लागि कोशे ढुङ्गा समेत सावित भएका छन् । युरोपलाई केन्द्र बनाएर प्लेग र ब्याल्क डेथ जस्ता महामारी फैलिएका कारण युरोप र अमेरिकाको सामाजिक,राजनैतिक,आर्थिक,बैज्ञानिक क्षेत्रमा उल्लेखनीय परिवर्तनहरु भएका थिए । पहिलो र दोस्रो विश्वयुद्ध नभएको भए शक्तिसाली जारको शासन अन्त्य भै रुसमा समाजवादी क्रान्ति सम्पन्न हुने थिएन ।  चीनको समाजवादी क्रान्ति सम्पन्न हुनुको पछाडिको कारण पनि दोस्रो विश्वयुद्धले सिर्जित विश्व ब्यबस्थालाई  मानिन्छ । महामारीले अत्यासपूर्ण स्थिति सिर्जना नभएको भए युरोपेली मुलुकहरुबाट सामन्ति  तथा जमिन्दारी प्रथाको अन्त्य हुने थिएन । सामन्ति र जमिन्दारी प्रथाको अन्त्यसंगै युरोपमा औधोगिक युगको शुरुवात भयो ।

महामारी,युद्ध र राजनैतिक प्रकृतिका आन्तरिक द्वन्द्वले विपत्ति मात्र निम्ताउंदैन, विपत्तिले मान्छेको सोंच्ने क्षमता,शिप,ज्ञान,विज्ञानको पनि ढोका खोल्दछ । संसारको विकास र रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा विश्वमा घटेका महान र ठूला ठूला घटनाक्रमहरुले पुष्टि गरेकाछन् । यसका लागि इतिहांस साक्षी छ । सन् ९० को दशकमा शोभियत संघ विघठन भएपछि विश्वमा एक धु्रवीय विश्वब्यबस्था स्थापना भएको थियो । कोभिड–१९ को असर र प्रभाव बहुआयमीक र दीर्घकालीन प्रकृतिको हुने निश्चित छ । राजनैतिक विश्लेषकहरुको तर्र्क छ– कोभिड–१९ ले एक धु्रवीय विश्वब्यबस्थालाई बहुध्रुवीय विश्वब्यबस्थामा परिणत गर्ने देखिन्छ ।

अन्तमा, विपत्ति पीडादायि नै हुन्छ ।  यो विपतलाई सहनु र संगै ब्यबस्थापन गर्नु वाहेक हाम्रा सामू अर्को विकल्प छैन । विगत् झण्डै ५ सय वर्षको इतिहांस हेर्दा मानिसले यस्ता प्रकृति सिर्जित विपतहरुलाई छोटो समयमा विजय हासिल गरेकोे देखिदैन । तसर्थ अहिलेको विपत् पनि हामीहरुले सोंचे जस्तो छिट्टै नियन्त्रणमा आउने शंभावना देखिदैन् । राम्रो पक्ष के भने विगत्का विपत्हरुले पाठ सिकाएको कारण यस्ता विपतबाट कसरी बंच्न सकिन्छ त्यो कुरा मानिसले केही हद सम्म थाहा जानकारी पाएको छ । त्यही कारण हो जसरी विगत्मा डढेलो जसरी फैलिएको संक्रमण त्यो रुपमा फैलिन सकेको छैन । यो संगै अर्को पनि आसा गरौं– विगत्मा कोभिड जस्ता दुई दर्जन भन्दा बढी संक्रामक रोगहरुको विपत् भोगेका युरोपियन,अमेरिकन र चाइनिजहरु कोभिड–१९ नामको महारोग सदाका लागि अन्त्य गर्ने औषधी उत्पादन गर्न सक्षम हुनेछन् । जसरी औलो,बिफर,टिबी जस्ता जटिल र महामारी रोगहरु निवारण गर्न ति देशहरु सफल भएका थिए ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top