
माघ, २८
प्यूठान । तेस्रो स्वर्गद्धारी प्यूठान महोत्सवमा निशुल्क माटो परिक्षण आकर्षणको केन्द्र बन्ने भएको छ । प्यूठानी कृषिक तथा अन्तर जिल्लाबाट मेला भर्न आउने कृषकहरुले माटो परिक्षण तथा परामर्श मार्फत धेरै लाभ लिन सक्ने आयोजकले विश्वास लिएको छ ।
कुन खेती लगाउने, कुन वाली राम्रो फल्ने, मौशम, चुनौतीहरुको सामाना के–कसरी गर्ने आदी वारे किसानहरुलाई विशेषज्ञहरुले सल्लाह सुझाव दिने हुँदा नि–शुल्क माटो परिक्षण आकर्षणको केन्द्र बन्नेमा आयोजक विश्वस्त भएको महोत्सवका सह–संयोजक चन्द्रलाल न्यौपानेले बताए । प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजना बसुन्धारा काठमाण्डौसंग समन्वय गरि नि–शुल्क माटो परिक्षण तथा किसानलाई आधुनिक कृषि औजारमा ५० प्रतिशत् छुटमा विक्री गरिने न्यौपानेले हाम्रो एकतालाई बताए ।
महोत्सवमा पशु प्रजनन् तथा कृतिम गर्भाधानका तथा बैङ्कीङ्ग कारोवारको वारेमा पनि परामर्श तथा अन्तक्रिया हुने महोत्सव सचिवालयले जनाएको छ । ‘परम्परागत कृषि प्रणालीलाई आधुनिकिरण गर्नै पर्छ ।’ महोत्सव संयोजक ज्ञामुराम न्यौपानेले भने, ‘कृषि पनि व्यापार हो भन्नेवारे हामी प्रचार गर्न चाहान्छौँ ।’ उद्यमी जनशक्ति विना सम्वृद्ध प्यूठानको परिकल्पना गर्न नसकिने उनले बताए ।
माटो परिक्षण किसानहरुलाई खुसीको सन्देश भएको ढुङ्गेठाँटीका किसान शोभाराम भण्डारीले बताए । करिब २ रोपनी बारीमा व्यवसायीक तरकारी खेती गर्दै आएको उनले बताए । ‘मेलामा माटो परिक्षण गर्ने छु ।’ भण्डारीले भने, ‘मौकाको फाईदा सबैले लिन पर्दछ ।’
महोत्सवमा कृतिम गर्भाधान सम्वन्धि परामर्श हुने समाचारले आफुलाई प्रफुल्लीत बनाएको ऐरावती ५ जारीका पुरनसिंह भण्डारीले बताए । पुश्पा बाख्रा फर्म समेत संचालन गरेका भण्डारीको बाख्रा फर्ममा करिब ६० वटा बाख्राहरु रहेका छन् । उनले यस अघि १४ वटा खरी माउ जातका बाख्रामा बोएर जातको बाख्राको कृतिम गर्भाधान गरेको भण्डारीले बताए ।
कमेन्ट गर्नुहोस !