बिहिबार, माघ १०, २०८१ | Thursday 23rd January 2025

प्यूठान नगरवासीको समृद्धिका लागि समर्पित: बिष्णु योगी



बिष्णु बहादुर योगी प्यूठान नगरपालिकाका नगरप्रमुख । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा जिल्लाको मुटु केन्द्र प्यूठान नगरपालिकामा कांग्रेस माओबादी र राजमो सहितको गठबन्धनबाट निकटम प्रतिद्धन्दी एमाले उम्मेदवार बिजयबिराज बिष्टलाई फराकिलो मतान्तरले पछि पार्दै नगर प्रमुख (मेयर) मा बिजयी बनेका बिष्णु बहादुर योगी माओबादी केन्द्रका स्थानीय नेता पनि हुन ।
सरल स्वभाव र मृदभाषी ब्यक्तित्वको रुपमा चिनिनु हुने योगी प्यू नपा –१ क्वाडीमा २०२० साल कात्तिक १७ गते बुवा गुरु प्रसाद योगी र आमा कुमारी देवी योगीको कोखबाट जन्मेका ३ भाई मध्येका माइला छोरा हुन् । २०३९ सालमा नेपालगंज महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दैगर्दा बिद्यार्थी आन्दोलनको पृष्ठभूमिबाट राजनीतिक भूमिकामा जोडिएका उनी २०४२ सालमा मोहन बैद्यले नेतृत्व गर्नुभएको बैद्य समुहमा आबद्ध भई राजनीतिमा क्रियाशील हुने क्रममा तत्कालीन समयमा भएका रामराजाको बमकाण्ड, २०४२ सालमै मित्रमणी आचार्यको बिभत्स हत्याको घटनाबाट त्यसको बिरोधमा उठेको आन्दोलनले योगीलाई राजनीतिक क्षेत्रमा हेलिंदै अनि तिखारिंदै लगेको देखिन्छ । त्यसैगरी २०४६ सालको पंचायत बिरोधि जनआन्दोलन त्यस्तै ०६२÷०६३ को जनआन्दोलनको क्रममा उनले आफ्नो क्रान्तिकारी राजनीतिक भूमिकालाई राम्रैसंग प्रदर्शन गरेका थिए । पछिल्ला दिनमा पार्टीको जिल्ला कमिटीको सचिवालय तहदेखि माओबादी केन्द्रको सांगठनिक गतिबिधिलाई मुभ गर्न नगरपालिकामा नेतृत्वदायी भूमिका खेल्दै आउने क्रममा अधिकार सम्पन्न स्थानीय सरकारको रुपमा रहेको प्यूठान नगरपालिकामा जनताको अपार समर्थन सहित नगरप्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका छन् ।
राजनीतिक जिम्मेवारी बहनसंगै जीवनको लामो घडी शिक्षण पेशामा समर्पित योगीले ०४३ सालदेखि ०४८ सम्म मुक्ति मावि रातामाटामा शिक्षण गरेका थिए । यसैक्रममा ०४७ साल माघ २५ गते बिजयनगर रातामाटामा भएको गिरिजा काण्डमा संलग्न भएको आरोपमा तत्कालीन कांग्रेस सरकारले केही समय हिरासतमा लिएको थियो भने सोही घटनामा संलग्न भएको दोषी देखाएर शिक्षण पेशाबाट अवकाश लिनु परेको थियो । शिक्षण पेशाबाट हात धुनुपरेपछि राजनीतिमा होमिने दृढ अठोट सहित काठमाण्डौ छिरेका योगी पुनः ०५० सालमा प्यूठान फर्केर माण्डवी मावि नयाँ गाउँमा २ बर्ष शिक्षण गरे यस्तै ०५३ सालमा १ बर्ष कालिका बोर्डिङमा पनि शिक्षण गरेको पाइन्छ । त्यसपछि भने २०५४ सालयता देखि आफ्ना सहकर्मी साथीहरु जगन्नाथ पोखरेल, दामोदर पोखरेल, बिष्णु पोखरेल, मेघराज शर्मा, भूपेन्द्रराज गौतम लगयातका केही सहकर्मी साथीहरु सहितको पहलमा निजी क्षेत्रबाट स्थापना भई जिल्लाको शैक्षिक नतिजामा अलग पहिचान दिन सफल पब्लिक आवासीय माबिको प्रिन्सिपलको अनवरत भूमिका र योगदान योगीको शिक्षा क्षेत्रको बिशेष पहिचान हो । यससंगै उनले जिल्लाका बिभिन्न संघसंस्थामा आबद्ध रहेर पनि सामाजिक क्षेत्रमा योगदान पुरयाएको पाइन्छ । पछिल्लो समय जिल्ला सहकारी संघ प्यूठान, नव सिद्धार्थ बचत तथा क्रण सहकारी संस्था लगायतका संस्थामा नेतृत्व गरेर योगदान पुरयाउदै आउने क्रममा अहिले प्यूठान नगपालिकामा नगरप्रमुखको जिम्मेवारीमा रही नगरवासी जनताको समृद्धिका लागि योजनाको खाका कोर्दैछन् ।
यी सवै अनुभव र योगदानले परिपक्व दृष्टिकोण र निष्कलंक छवी कायम राख्न सकेकै कारण अहिले यो स्थानीय सरकारको नेतृत्व गर्ने राजनीतिक उचाईको सफलता मिलेको हो । कुरा र भाषण भन्दा कामको परिणाममा बिश्वास राख्ने योगी प्यूठान नगरपालिकालाई आफ्नो कार्यकालमा समुन्नत नगरपालिकाको रुपमा बिकास गर्ने परिकल्पना गर्दै छन् । अहिले झिमरुक उपत्यका क्षेत्रमा पर्ने मासिंदो उर्वर खेतीयोग्य फाँट संरक्षण उनको मुख्य चिन्ताको बिषय बनेको छ । राजनीतक बिचार र दृष्टिकोणमा कहिले पनि उतारचढाव तथा बिचलनमा नआई निरन्तर समर्पित रही पार्टीले दिएको जिम्मेवारी अनुसार कार्यकुशलता देखाउन सकेकै कारण जनताले पनि उहाँप्रति मत प्रकट गरेका छन् । जीवनभर कम्यूनिष्ट बिचारमा समर्पित रहँदै आएका नगरप्रमुख योगीले नगरपालिकाभित्र बिभिन्न अभाव र पीडा बेहोरेका आधारभूत तथा सिमान्तकृत बर्गलाई स्थानीय सरकारको अनुभूति दिलाउन इमान्न्दारितापूर्बक जिम्मेवारी पुरा गर्ने दृढ प्रतिबद्धता देखाएका छन् ।
श्रीमती पुतला योगी, २ छोरा २ छोरीका धनी योगी शिक्षामा गणित बिषय लिई स्नातक हुन् । अवका दिन पूर्ण रुपमा राजनीतिमा होमिने संकल्प लिएका नगरप्रमुख योगीले न्यायप्रेमी जनता, स्थानीय राजनीतिक दल, संचारकर्मी, राष्टसेवक कर्मचारी लगायत सवैलाई साथमा लिई नगरबासी जनताको मुहार फेर्नेमा प्रतिबद्ध छन् । निष्कलंक छवी र सरल स्वभावले नै पार्टी र जनताको बिश्वास जितेर नगरप्रमुखको जिम्मेवारीमा आएका योगीले सिमित स्रोत साधन अनि जनताका असिमित आबश्यकता र चाहना पुरा गर्नुपर्ने चुनौतिको बीचमा भनाई अनसार कर्तब्य कसरी पुरा गर्लान् यो भने उनको ब्यवहार र अभ्यासबाटै अबश्य नै देखिनेछ ।
प्रस्तुती : सुशील पोखरेल







कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top