बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

प्युठानमा वामदेवको सम्भावना कति? यी हुन् सम्भावित उम्मेदवार




प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्ने आकांक्षीहरुको ओइरो लागेको छ। विगतमा निर्वाचन जितेका र केही नयाँ अनुहारहरु अहिले चुनावी प्रतिस्पर्धामा उत्रने उद्घोष गरेका छन्।



पाँच दलीय गठवन्धनमा टिकट लिनका लागि नेताहरु शक्ति केन्द्र धाउने क्रम बाक्लिएको छ। जिल्लाका प्रायःजसो नेताहरु राजधानी केन्द्रित छन्। माओवादीको चुनाव चिन्हबाट बामदेव गौतम प्युठानबाट चुनाव लड्ने चर्चा बाहिर आएपछि चुनावी माहोल अझ रोचक बन्दै गएको छ।

प्युठान कम्युनिष्टको किल्ला भनेर चिनिन्छ। विगतको निर्वाचन हेर्दा अहिलेसम्म कम्युनिष्ट पार्टीले नै धेरैजसो चुनाव जितेका छन्। ०४८ सालको आम निर्वाचनमा प्युठानका दुवै निर्वाचन क्षेत्रमा राजमोले जितेको थियो। निर्वाचन क्षेत्र नम्बर १ मा शिवराज सुवेदी र २ मा मुक्तिप्रसाद शर्माले चुनाव जितेका थिए। ०५१ को मध्यावधि निर्वाचनमा १ नम्बर क्षेत्रमा राजमोका नवराज सुवेदी र २ मा नेपाली कांग्रेसका शिवराज सुवेदीले निर्वाचन जिते।

०५६ मा पुनः राजमोले १ नम्बर क्षेत्रमा हरि आचार्य र २ मा नवराज सुवेदीले एमालेको सहयोगमा निर्वाचन जितेका हुन्। त्यसपछि ०६४ मा पहिलो संविधानसभाको निर्वाचन भयो। त्यसबेला प्युठानका दुवै क्षेत्र माओवादीले जित्यो। सशस्त्र जनआन्दोलनपछि भएको पहिलो संविधानसभा निर्वाचनमा मतदाताको मन माओवादीमा चुर्लुम्म डुब्यो। त्यसबेला क्षेत्र नम्बर १ मा नारायणप्रसाद अधिकारी र २ नम्बर क्षेत्रमा दीपक केसीले चुनाव जिते। माओवादीको विरासत त्यसपछि भएको ०७० को दोस्रो संविधानसभामा आएर ढल्यो।

स्थानीय तह निर्वाचनलाई हेर्दा प्युठानमा पहिलो दल एमाले छ। एमालेले ३९ हजार ९ सय ७७, कांग्रेसले २१ हजार ५ सय ४६, माओवादीले १७ हजार १ सय ६३, जनमोर्चाले १३ हजार ६ सय १२ र समाजवादीले १ हजार ४ सय १७ मत ल्याएका छन्।
त्यसबेला फेरि प्युठानका दुवै क्षेत्र एमालेले जित्यो। क्षेत्र नम्बर १ मा बामदेव गौतम र २ नम्बर क्षेत्रमा हीराबहादुर केसीले चुनाव जिते। तर, बीचमा हराएको राजमो फेरि ०७४ को निर्वाचनमा आएर उदायो। वाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले चुनाव जितिन्। त्यसबेला कांग्रेसको विरुद्ध अरु सबै दल मिलेका थिए।

०७४ को निर्वाचनमा वाम गठबन्धनको तर्फबाट पौडेलले ४७ हजार ५ सय १४ र कांग्रेसका प्रा.डा गोविन्दराज पोखरेलले ३१ हजार २ सय ८६ मत ल्याएका थिए। उनीहरुबीचको मतान्तर १६ हजार २ सय २८ भयो। विगतको निर्वाचनको इतिहास हेर्दा कांग्रेसभन्दा कम्युनिष्ट पार्टीका उमेदवारहरुले नै प्युठानमा चुनाव जितेको देखिन्छ।

नेपालमा कम्युनिस्ट आन्दोलनको जग बसाल्ने नेताहरु धेरैजसो प्युठानकै छन्। मोहन विक्रम सिंह, मोहन वैद्य (किरण), वामदेव गौतम, लिलामणि पोखरेल, मणि थापा, सूर्य थापालगायत कम्युनिस्ट नेता प्युठानकै हुन्। नेतैनेता जन्माए पनि प्युठानको विकासले गति लिन नसकेको जिल्लाका नागरिकहरु गुनासो गरिरहन्छन्।

सरकारले पठाउने नियमित बजेटबाहेक प्युठानको काँचुली फेरिने गरी गौरवका कुनै पनि योजनाहरु अहिलेसम्म सञ्चालन हुन सकेका छैनन्।

मंसिर ४ गते हुने चुनावको मिति नजिकिएसँगै जिल्लामा अब को उम्मेदवार बन्ने चर्चाले बजार तातेको छ। जहाँतहीँ चुनावकै चर्चा सुनिन्छ। ०७४ मा वाम गठबन्धन एक थिए। तर अहिले एमालेबाहेक अरु सबै शक्ति एक हुने देखिन्छ। पाँच दलीय गठबन्धन र एमालेबीचमै चुनावी प्रतिस्पर्धा हुने उच्च सम्भावना छ।

गठबन्धनबाट को छन् सम्भावित उम्मेदवार?

पाँच दलीय गठबन्धनबाट हालसम्म पाँच जना उमेदवार प्रतिनिधिसभा सदस्यमा उमेदवारको आकांक्षी देखिएका छन्। गठबन्धनमा छलफल नभए पनि माओवादीको चुनाव चिन्ह लिएर वामदेव गौतम, माओवादीकै पोलिटव्युरो सदस्य एवं हालः लुम्बिनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्का, राजमोकी उपाध्यक्ष दुर्गा पौडेल, कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल र कांग्रेसकै युवा नेता खिमानसिंह रायमाझी प्रतिनिधिसभा सदस्यमा आकांक्षी देखिएका छन्।

कांग्रेसका उम्मेदवारका आकांक्षी गोविन्दराज पोखरेलले पनि प्युठान कांग्रेसकै भागमा पर्नुपर्ने बताएका छन्। तर, पोखरेल, शेखर कोइराला पक्षका नेता भएकाले देउवाले उनलाई टिकट नदिने कांग्रेसकै नेताहरु सुनाउँछन्। ‘पोखरेलजीको सम्भावना निकै कम देखिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘वामदेव र दुर्गामध्ये एकले टिकट पाउने सम्भावना छ।’

राजमोले टिकट पाउने वा नपाउने पक्षमा उपाध्यक्ष दुर्गा पौडेलले स्पष्ट प्रतिक्रिया दिइनन्। उनले पार्टीले गर्ने निर्णय नै अन्तिम निर्णय हुने भनिन्। आफ्नो पार्टीले नै उम्मेदवार पाउनुपर्छ भन्ने पक्षमा उनले अडान राख्न सकिनन्। राष्ट्रिय सभामा मनोनित हुने कुराले पौडेलले खुलेर प्रतिक्रिया नदिएको उनकै पार्टीभित्र चर्चा छ।

एमालेमा छैन् विवाद

गठबन्धनसँग एक्लै चुनाव भिड्न तयार रहेको एमाले प्युठानमा टिकटका लागि विवाद नरहेको जिल्ला अध्यक्ष विजयविराज विष्टले जानकारी दिए। एमाले स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मणि थापा, पोलिटव्युरो सदस्य एवं प्युठान इन्चार्ज सूर्य थापामध्ये एक जनाले टिकट पाउने निश्चित रहेको एमालेले जनाएको छ।

स्थानीय तह निर्वाचनलाई हेर्दा प्युठानमा पहिलो दल एमाले छ। एमालेले ३९ हजार ९ सय ७७, कांग्रेसले २१ हजार ५ सय ४६, माओवादीले १७ हजार १ सय ६३, जनमोर्चाले १३ हजार ६ सय १२ र समाजवादीले १ हजार ४ सय १७ मत ल्याएका छन्।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top