कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले आइतबार उनलाई शपथ खुवाएका हुन्। नेकपा माओवादी केन्द्रका सांसद शाही गत बिहीबार मन्त्री नियुक्त भएका थिए। उनी डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद् हुन्।
२०७८ माघ २३ गते हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को नियुक्त भएकामा उनको पदावधि साउन २३ गते सकिएको थियो। माओवादी केन्द्रको संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई खाली भएको मन्त्रालयमा नाम पठाउने जिम्मेवारी दिइएको थियो। शाहीले डोल्पाका सांसदलाई सिफारिस गरेका थिए। मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नियुक्त गरेपछि शुक्रबार नै शपथ खुवाउने तालिका बनाइएको थियो।
तर, उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशिता कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि उक्त शपथ तालिका रोकिएको थियो।
अघिल्लो पटक माघमा पूर्णता पाएको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्तविपरीत भएको भन्दै अधिवक्ता शेरबहादुर केसीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए। सोही आधारमा बिहीबार मन्त्री नियुक्त भएलगत्तै उच्चले मुख्यमन्त्री र प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो।
तर, कर्णाली प्रदेश सरकारले अदालतको ध्यानाकर्षण पत्रको वेवास्ता गर्दै शाहीलाई नै उद्योग मन्त्री बनाएको छ।
कमेन्ट गर्नुहोस !