आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

विदेशबाट फर्केका यूवा कृषिमा भविष्य खोज्दै


सागर रिजाल
प्युठान । प्युठान नगरपालिका– ५ जुम्रिकाढाँका २३ वर्षीय जीते राना १३ महिना संयुक्त अरब इमिरेट्स बसेर हालै घर फर्कनुभयो । वैदेशिक रोजगारीबाट २४ दिनको छुट्टीमा घर आउनुभएका राना बन्दाबन्दीका कारण फर्कन पाउनुभएको छैन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण जारी बन्दाबन्दीले गर्दा विदेश जान नपाएका रानाको मन अहिले भने फेरिएको छ । उहाँले अहिले स्थानीय सरकारले केही अनुदान दिए घरमै बसेर केही व्यवसाय गर्ने सोच बनाउनुभएको छ । स्थानीय सरकारले अनुदान दिने हो भने कृषिसँगै कुखुरापालन, बाख्रापालन गर्ने सोचाइमा रहेको उहाँले बताउनुभयो । चारजनाको परिवार पाल्न खाडी मुलुकमा जानुभन्दा यहीँ बसेर कृषि पेशा अंगाल्ने पुनले बताउनुभयो ।
जिल्लाको माण्डवी गाउँपालिका–५ रम्दीकी ३४ वर्षीया शारदा शाही पनि रोजगारीका लागि विगत सात वर्षदेखी दुबही शहर आउजाउ गरिरहनुभएको छ । श्रीमान्ले अर्को बिहे गरेपछि उहाँ हाल एक्लै माइती गाउँ बरौलामा बस्नुहुन्छ । पुनः भिसा लगाएर विदेश जाने क्रममा रहनुभएकी शाही बन्दाबन्दीका कारणले जान नपाएको बताउनुहुन्छ ।
तीन छोरासहित १२ वर्षदेखि छुट्टै बस्दै आएकी शाहीले चार जनाको परिवार पाल्नकै लागि विदेशिनुपरेको गुनासो सुनाउनुभयो । लकडाउन पहिले नै विदेशबाट फर्किएकी शाहीको फेरि रोजगारीका लागि विदेश जाने सोचमा परिवर्तन देखिएको छ । उहाँले पनि स्थानीय सरकारले रोजगारीका केही अवसर सिर्जना गरे गाउँमै केही गर्ने बताउनुहुन्छ ।
कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किएकालाई रोजगारी सिर्जना गर्न स्थानीय सरकारलाई अहिले चुनौती देखिएको छ । विदेशबाट रोजगारी छाडेर फर्किएकाहरु तत्काल रोजगारीमा फर्कने अवस्था भने देखिँदैन । अहिले गाउँघरमा विदेशको रोजगारी गुमाएकाहरु स्थानीयस्तरमै रोजगारीको अवसरको पर्खाइमा छन् ।
प्यूठान नगरपालिका–५ जुम्रिकाढाँका जीतबहादुर पुन २२ वर्षदेखि भारतको पञ्जाव आउजाउ गर्नुहुन्थ्यो । बन्दाबन्दीले गर्दा विदेशको रोजगार गुमेपछि जीतबहादुर अहिले बेरोजगार हुनुभएको छ । बन्दाबन्दीका कारण फेरि काममा भारत फर्कनसक्ने अवस्था पनि छैन । त्यसैले अवसर पाएमा गाउँठाउँमै केही काम गर्न चाहेको उहाँ बताउनुहुन्छ । अर्काको देशमा गएर काम गर्नुभन्दा स्थानीय सरकारले रोजगारी दिएमा गाउँमै केही उद्यम गर्ने उहाँले बताउनुभयो । “लेखाइपढाई त केही छैन” जीतबहादुरले भन्नुभयो” “दैनिक रोजगारी पाएमा गाउँमै बसेर कामगर्ने मन छ, हेरौँ सरकारले कुनै अवसर दिन सक्छ कि सक्दैन ।”प्यूठानका स्थानीय तह आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट निर्माणमा लागेका छन् । जिल्लाका अधिकांश स्थानीय तहहरुले आगामी आर्थिक वर्षका कार्यक्रम तथा बजेटमा कृषिमा निर्भर रोजगारीलाई प्राथमिकतामा राखेका गरेका बताएका छन् । कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि बजेट निर्माण गर्ने भएका छन् । जिल्लाको स्वर्गद्वारी नगरपालिका, प्यूठान नगरपालिका, ऐरावती, नौवहिनी, सरुमारानी, गौमुखी र माण्डवी गाउँपालिकाले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नका लागि कृषि र कृषिजन्य बस्तुको उत्पादनमा जोड दिने भएका हुन् ।
कोभिड–१९ का कारण समयमा सरकारले गरेको बन्दाबन्दीले गर्दा भारत तथा तेस्रो मुलुकबाट रोजगारी गुमाएर स्वदेश फर्कने क्रम जारी छ । उनीहरु तत्कालै आफ्नो रोजगारीमा फर्कने अवस्था पनि देखिदैन । त्यसैले स्वदेश फर्किएर गाउँघरमा बेरोजगार बनेका आफ्ना नागरिकलाई रोजगारी सिर्जना गर्न स्थानीय पालिकाहरुले कृषिमा निर्भर रोजगारीलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
जिल्लाको स्वर्गद्वारी नगरपालिकाले आगामी आर्थिक वर्षको कार्यक्रम र बजेट कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर निर्माण गर्ने तयारीमा रहेको नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्री बताउनुहन्छ । सीप र दक्षताअनुसार स्थानीय नागरिकहरुलाई कृषि क्षेत्रमा परिचालन गरिने उहाँको भनाइ छ । प्रमुख रोकाले नगरपालिकामा अहिलेसम्म एक हजार जना व्यक्ति वैदेशिक रोजगारी गुमाएर भारत तथा अन्य मुलुकबाट आइसकेको र अझै एक हजार पाँच सयभन्दा बढी व्यक्ति फर्कने क्रममा रहेका नगरक्षेत्रमा आउने तथ्याङ्क रहेको जानकारी दिनुभयो । उनीहरुलाई सम्बोधन हुनेगरी नगरपालिकाले आधुनिक कृषि खेतीका लागि सहयोग कार्यक्रम ल्याउने नगरप्रमुख रोकाको भनाई छ । मकै र गहुँ मात्रै उत्पादन हुने यस क्षेत्रमा आगामी दिनमा व्यावसायिकरुपमा अन्य बाली र तरकारीखेती उत्पादनका लागि अनुदानका कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “नगरका विभिन्न वडामा रहेको बाँझो जमिनलाई अब उत्पादनमुखी बनाउने योजनामा छौँ । यसका लागि कृषिमा आधुनिकीकरण, कृषि औजार अनुदानमा दिइने कार्यक्रम बनाउछौँ ।”प्यूठान नगरपालिकाका वैदेशिक रोजगारीमा गएका करिब चार हजार पाँच सय नागरिकमध्ये अहिलेसम्म एक हजार पाँच सय जना व्यक्ति फर्किसकेका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । आगामी आर्थिक वर्षका लागि पालिकामा कार्यक्रम तथा बजेट निर्माणको काम भइरहेको समेत नगर प्रमुख कक्षपतिले बताउनुभयो । उहाँले आगामी बजेट निर्माण गर्दा कृषि, रोजगारी, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुहुन्छ । भारतबाट नगरक्षेत्रमा आएका व्यक्तिहरुलाई नगरक्षेत्रमै टिकाउन स्वरोजगारमूलक कार्यक्रमहरु ल्याउने योजनामा रहेको उहाँले बताउनुभयो ।
उनीहरुलाई उत्पादनका क्षेत्रमा लगाउने मौसमी, बेमौसमी तरकारीखेती, बीउबिजन उत्पादन गरिने उहाँले बताउनुभयो । आर्थिक अनुदान भन्दा उत्पादनमा आधारित सहयोगका कार्यक्रम नगरपालिकाको योजनामा रहेको नगरप्रमुख कक्षपति बताउनुहुन्छ । उहाँले भन्नुभयो– “उत्पादनमा आधारित सहयोगले वास्तविक किसानलाई सम्बोधन गर्नेछ । नगरमा रहेको बाँझो जमिन अब खाली नराख्नेगरी कृषिमा आधारित रोजगारी सिर्जना गरिनेछ ।”
त्यस्तै नगरले विकास निर्माणका काममा नागरिकलाई सहभागी बनाउने योजनासमेत बनाएको छ । यसभन्दा पहिलेका वर्षहरुमा जस्तै श्रममूलक कामलाई जोडदिने योजनामा रहेको नगरप्रमुख कक्षपति बताउनुहुन्छ । जिल्लाको ऐरावती गाउँपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्ने तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाह बताउनुहुन्छ । भारतबाट आएका युवाहरुलाई स्थानीय स्तरमै रोजगारी सिर्जनागरी टिकाइराख्न क्षेत्रलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ । “साना लघुउद्यममार्फत रोजगार सिर्जना गर्नेतर्फ पनि पालिकाले बजेट विनियोजन गर्नेछ”– अध्यक्ष शाहले भन्नुभयो –“यसले पनि युवाहरु समेटिने छन् ।”
त्यस्तै पालिकाले स्वास्थ्य, शिक्षा, सञ्चार क्षेत्रमा पनि बजेट प्राथमिकता दिने योजना रहेको अध्यक्ष शाहको भनाइ छ । ऐरावती गाउँपालिकाभित्रका चार हजार दुई सयमध्ये अहिलेसम्म एक हजार ९६ जना व्यक्ति बिदेशबाट फर्किएका छन् । नौवहिनी गाउँपालिकाले पनि आगामी बजेट निर्माणमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भएको छ । भारत तथा तेश्रो मुलुकबाट नागरिक आउनेक्रम जारी रहेकाले उनीहरुलाई रोजगारमुखी कार्यक्रमहरुको तयारीमा रहेको पालिकाका अध्यक्ष शिव रिजालले बताउनुभयो । हालसम्म पालिकामा सात सय जना आइसकेका र अरु आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो । यस क्षेत्रका पाँच हजार जनता भारत तथा तेस्रो मुलुकमा रहेकाले दुई हजार जति पालिका क्षेत्रमा आउने सम्भावना रहेको छ ।

पालिकाले कृषि क्षेत्रलाई प्राथमिकता राख्ने पालिकाको योजना छ । “कृषिमा आत्मनिर्भर हुनेगरी कृषि खेतीगर्ने व्यक्तिको अन्न पालिकाले खरिद गर्ने र खरिद अन्न बराबरको रकम पालिकाले पुरस्कार समेत दिने योजनामा रहेमा छौँ”– अध्यक्ष रिजालले भन्नुभयो– “अब बस्ने कार्यपालिकामा यस विषयमा छलफल गर्ने तयारीमा छौँ ।”
जिल्लाको सरुमारानी गाउँपालिकाले पनि श्रममूलक काम र कृषि क्षेत्रमा जोड दिएर बजेट निर्माण गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । भारतबाट आएका युवाहरुलाई स्थानीयस्तरमै रोजगारी दिनका लागि गाउँपालिकाले निर्माण गरेका सड्कहरुमा नाली निर्माण गर्न युवाहरु नै परिचालिन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
त्यस्तै पालिकाले कृषि क्षेत्रलाई पनि जोड दिएर बजेट बनाउँदैछ । अध्यक्ष विश्वकर्माले जग्गा बाँझो नराखी उत्पादन गर्ने नीतिमा पालिकाले सहयोग गर्ने पनि बताउनुभयो । प्यूठान जिल्लको ऐतिहासिक गौमुखी गाउँपालिकाले विकास निर्माणका काममा मेसिन तथा औजारको कम प्रयोगगरी मजदूर लगाउने गरी आगामी बजेट निर्माण गर्ने पालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताउनुहुन्छ । त्यस्तै कृषि तथा पशुपालनका क्षेत्रमा अनुदान र प्रोत्साहनका कार्यक्रमहरु बनाउने विषयमा कार्यपालिकाको बैठक बसी छलफल गरिने उहाँको भनाइ छ । पालिकामा तीन हजार छ सयमध्ये हालसम्म तीन सयभन्दा बढी व्यक्ति घर फर्किएका पालिका क्षेत्रमा आएको अध्यक्ष गिरीले बताउनुभयो ।माण्डवी गाउँपालिकामा भारतमा रहेका दुई हजार दुई सयमध्ये आजसम्म सातसय जना व्यक्तिहरु पालिका क्षेत्रमा आइसकेको पालिकाका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । भारतबाट आएका व्यक्तिहरुलाई पालिका क्षेत्रमै बसाल्ने वातावरण मिलाउनका लागि कृषि, पशु र अन्य व्यवसायमूलक कामहरुमा समावेश हुनेगरी बजेट निर्माण गरिने उहाँले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अगाडि बढेको श्रममूलक कामलाई स्थानीय सरकारले पनि प्राथमिकता दिई बजेट निर्माण गर्ने उहाँको भनाइ छ ।
त्यस्तै पालिकाले वडा नं १, २, ३ र ४ लाई समेटेर अरङखोला क्षेत्रलाई व्यावसायिक रुपमा कृषि जोनको रुपमा विकास गर्ने योजनामा रहेको छ । यस क्षेत्रमा बाख्रापालन, बङ्गुरपालन, व्यावसायिक तरकारीखेती उत्पादनका लागि सङ्घीय सरकारबाट रु १ करोड बजेट विनियोजन भएको र त्यसमा पनि धेरै युवा समेटिने पालिकाका अध्यक्ष रोकाले बताउनुभयो । त्यस्तै जिल्लाका मल्लरानी र झिमरुक गाउँपालिकाले पनि बजेट निर्माणका लागि योजनाहरु प्राथमिकताका विषयमा छलफल भइरहेको बताएका छन् ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top