शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

दुर्गम बस्तीका विद्यार्थीलाई पढ्नै सकस


प्युठान, ५ माघ ।
ऐरावती गाउँपालिका – २ अन्र्तगतका रानिबास, चितेबास, लामिदमार, ओवास,मसिना (साविकका तीन र चार वडा) का विद्यार्थीहरुलाई नौ कक्षा पढ्नलाई समस्या परेको छ । रानिबासमा जनकल्याण आधारभुत विद्यालय कक्षा आठ सम्म रहेको छ । जसोतसो यस क्षेत्रका विद्यार्थीहरु कक्षा आठ सम्म पास गर्छन । तर नौ कक्षा पढ्नको लागि समय बढी लाग्ने भएकोले उनिहरुलाई समस्या देखिएको छ । आठ कक्षा पढ्न आउनको लागि नै समय धेरै लाग्ने विद्यार्थीहरुलार्ई नौ, दश कक्षा पढ्न सपना जस्तै भएको छ । नौ कक्षा पढ्नको लागि वडा नं १ मा पर्ने दाङवाङ माध्यामिक विद्यालय अमिली, वडा नं २ मा पर्ने मोति माध्यमिक विद्यालय बरौलामा जानको लागि त्यहाँका विद्यार्थीहरुलाई पैदल दुई देखि तीन घण्टा पैदल हिडेर पढ्नको लागि समस्या हुने हुँदा उनीहरुले कोठा भाडा लिएर बस्नु पर्दछ ।
आर्थिकले दियो चुनौती
यस क्षेत्रका विद्यार्थीहरुलाई नौ कक्षा पढनका लागि आर्थिकले चुनौती दिएको छ । जेनतेन बिहान साँझ छाक टार्न नै धौधौ पर्ने यस क्षेत्रका अभिभावकहरुलाई आफ्ना छोराछोेरीलाई माथिल्लो कक्षा पढाउने सपना जस्तै भएको छ । घरबाट विद्यालय टाढा भएकाले कोठा भाडामा बस्नुपर्ने हुन्छ,विद्यालय व्यस्थापन समितिका सदस्य चुडामणी घर्तिमगरले भने,–‘भाडामा बसेर छोराछोरी पढाउने पैसा अभिभावकसँग हुदैँन् ।’
रानीबासका छविलाल घर्ति मगर अहिले १८ वर्ष पुगे । उनी अहिले दाङवाङ माध्यामिक विद्यालय अमिलीमा कक्षा १० मा अध्ययनरत छन् । उनी दाङवाङ एक्लै जान्छन् । एक्लै आवतजावत गर्न समस्या भएको उनको भनाई छ । अघिल्लो वर्ष नियमित विद्यालय नगएपछि उनी कक्षा ९ मा असफल भए तर उनले हार नमानी पढेको बताउछन् । उनीसंग ३० जना विद्यार्थी कक्षा ८ उतिर्ण भएका थिए । तर १५ जनाले विभिन्न विद्यालयमा पढेपनि १५ जनाले छाडेको उनले बताए । छाडेका साथीहरु केटाहरु भारतमा छन् भने केटीहरुले बिहे गरेको उनले बताए । उनी भन्छन्,–‘ नौ –दश कक्षाको पढाई गाउँमै हुने हो भने यसरी विद्यार्थी बिस्थापित हुने थिएनन् ।’ गाउँमै विद्यालय हुने हो भने साग र सिस्नो खाएरै भएपनि पढने उनी बताउछन् । अघिल्लो वर्ष रानिबासका विकास भैया र लेखनाथ भैया आठ पास गरे । तर उनलाई नौ कक्षा पढ्नलाई आर्थिक नभएपछि उनी अहिले भारतमा पुगेको स्थानियहरु बताउछन् । यस विद्यालयमा कक्षा ८ उतिर्ण भएका आधा विद्यार्थी मात्र ९ कक्षा भर्ना हुने गरेको विद्यालयका शिक्षक कमानसिंह घर्तिमगरले बताए ।
९ र १० सञ्चालन गर्न माग
विद्यार्थीका समस्यालाई मध्यनजर गरेर विद्यालय व्यवस्थापन समितिले कक्षा नौ र दश सञ्चालनका लागि गाउँपालिका संग माग गरेको छ । अघिल्लो वर्षबाटै उच्च कक्षा सञ्चालनका लागि माग गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य चुडामणी घर्तिमगरले बताए । भारतमा गएका विद्यार्थीहरु पनि गाउँमा ९ कक्षाको पढाई हुने भए हामी फर्कने भनेपछि हामीहरुले कक्षा सञ्चालनलाई माग गरेको उनले बताए । गाउँमा एस.ई.ई पढेका मान्छेहरु समेत भेटाउन समेत नसकिने उनले बताए ।
अघिल्लो वर्षबाट नै नौ कक्षा सञ्चालन गर्ने भने पनि आर्थिक समस्याले चुनौति दिएको उनले बताए । ९÷१० कक्षाको पढाई गाउँमा हुने हो भने यस क्षेत्रमा शैक्षिक गुणस्तर समेत बृद्ध हुने उनले बताए । कक्षा बढाउनका लागि यस क्षेत्रका अभिभावक समेत कस्सीएका छन् । विद्यालयमा कक्षा बृद्धि हुने भए सक्दो सहयोग समेत गर्ने स्थानियको भनाई छ ।
कार्यपालिकामा निर्णय गरिने
विद्यालय व्यवस्थापन समितिले वडाको सिफारिस सहित ९ र १० कक्षा सञ्चालन गरिदिन भन्दै माग गरेपछि सामाजिक विकास शाखा शिक्षा शाखामा छलफल गरिएको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले जानकारी दिए । स्थानीयले जायज माग राखेको बताउँदै उनले अब बस्ने कार्यपालिकाको बैठकमा मागका विषयमा छलफल गरिने बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top