
सागर रिजाल
प्युठान २० पुस ।
ऐरावती गाउँपालिका –३ जाबुनेकी दुर्गा सुनार अहिले १६ वर्ष पुगिन् । उनी धर्मोदय माध्यामिक विद्यालय जाबुनेमै कक्षा ८ मा पढ्छिन् । पछिल्लो समय उनलाई पढाई संगै घरपरिवार चलाउने जिम्मेवारी थपिएको छ । उनका बुबा गंगा सुनारले अर्को श्रीमती बिहे गरेपछि उनलाई यो समस्या सिर्जना भएको हो । जेठी श्रीमती(दुर्गाको आमा) बाट ६ भाईबहिना बच्चाबच्ची हुँदाहुँदै उनका बुबा गंगाले ०६९ सालमा गाउँकै सन्ध्या बुढामगरलाई दोस्रो विवाह गरे । बिहेपछि पहिलो वर्षमै बुबाले पछिल्ली श्रीमतीलाई लगेर भारत गएपछि आमा संगै हामीहरुलाई अलपत्र पारेको दुर्गाले बताईन् ।
अघिल्ली श्रीमतीसंग लामो समय भारत बसेका गंगा केहि समयपहिले घर फर्किएका थिए । ढेंगु रोग लागेर घर फर्र्किएको र निको भईसकेपछि एकहप्ता अघि फेरि भारतमा गएको दुर्गाले बताईन् । यो पटक पछिल्ली श्रीमती कोठा भाडा लिएर काठमाण्डौमा बसेपछि आफ्नी आमा बाबासंग संगै भारत गएको दुर्गाले बताईन् ।
आफ्नी आमा(मन्जु सुनार) बाबा संगै भारत गएपछि दुर्गाको परिवारमा समस्या गहिरिँदै गएको छ । आमाले पछिल्ली श्रीमतीसंग बुबालाई छुटाउँछु भन्दै संगै भारत जानुभयो दुर्गाले भनिन,–‘पछिल्ली श्रीमती नछोड्दासम्म भारतबाट फर्किन्न भन्नुभएको छ ।’ आमा भारत लागेपछि यता दुर्गा संगै भाईवहिनाको बिचल्ली भएको छ ।
पाँच भाईबहिनाको विचल्ली
आमा बाबा भारतमा गएपछि १६ वर्षिय दुर्गा सुनार, १३ वर्षिय ज्योती सुनार, १० वर्षिय लक्ष्मी सुनार , ६÷६ वर्षिय शंकर र विष्णु सुनार बिचल्ली भएका छन् । यी पाँचैभाईभैनाले धर्मोदय माध्यामिक विद्यालय जाबुनेमै क्रमश आठ,सात,तीन, र दुई भाईले शिशु कक्षामा अध्ययन गर्दै आएका छन् । दुर्गाको दाई भएपनि भारतमा छन् । हाल घरको मुख्य व्यक्ति दुर्गा बनेकी छिन् । पछिल्लो समय दुर्गालाई आफुले पढनुका साथै भाईबहिनालाई पढाउने र घरपरिवार चलाउने चिन्ता बढेको छ । भारतमा जाँदा तीन हजार आमाले छाडदिएर गएपनि उक्त पैसा सकिन लागेको उनले बताईन् । उनले भनिन,–‘पैसा सकिएपछि कसरी भाईबहिनाको लालनपालन र स्याहारसुसार गर्ने हो सोच्नै सकेको छैन् ।’
पढाई छाडने अवस्थामा दुर्गा
केहि समयपहिले गाउँपालिका अध्यक्ष नबीलविक्रम शाहले दुर्गाको पढाई खर्च ब्यर्होने भनेका छन् । तर दुर्गा भन्छिन्,–‘ आफुमात्र पढेर मात्र भएन भाईबहिना पढाउने सोँच छ ।’ आफु पढन छाडेर भएपनि भाईबहिनाको स्यारसुसार संगै पढाउने सपना उनले बोकेकी छिन् तर कहाँबाट सम्भव हुन्छ उनलाई नै थाहाँ छैन् । सानै उमेरमा बाबा आमाले बिचल्ली बनाएर हिडेपछि आफुमाथि जिम्मेवारी थपिएको उनले बताईन् । लगाउने कपडा,चप्पल, खाने खाधान्न नभएपछि यसको जोहो गर्नका लागि भएपनि पढाई छाड्न लागेको दुर्गाले बताउछिन् ।
यो भन्दा पहिले ऋण तिर्नका लागि दुई महिना काठमाण्डौमा ईट्टा भट्टामा काम गरेकी दुर्गाले भाईबहिनालाई आफुले पढाई छाडेर ज्याला मजदुरी गरेरै पाल्ने बताउछिन् । कक्षा ८ को विज्ञान,गणित र अगे्रजी विषयको टिउसन कक्षा पढेपनि आफुसंग पैसा नभएपछि बिचमै छाड्न लागेको उनले दुःख व्यक्त गरिन् । विद्यालयका शिक्षकहरुले पनि बालबच्चा हेर्ने समयमा श्रीमान पछि लागि श्रीमतीपनि भारतमा जानु राम्रो काम नभएको बताउछन् ।
कमेन्ट गर्नुहोस !