
प्रकाश बैद्य
१७ साउन ०७५
प्यूठान ÷ प्यूठान नगरपालिका वडा न. ३ ले आ.व. ०७४÷०७५ को समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न गरेको छ ।
वडा द्धारा संचालित बिकास निर्माण तथा लक्षित बर्गका विभिन्न कार्यक्रम तथा समग्र गतिविधिको समिक्षा तथा आर्थिक गतिविधि एवं आगामि कार्यक्रमहरुको वडाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
कार्यक्रममा आ.व. ०७४÷०७५ मा पुजिगत अनुदान तर्फ १ करोड ५ लाख २३ हजार तथा चालु अनुदान तर्फ ५ लाख को आय व्यय तथा आ.व. ०७५÷०७६ को कुल ७३ लाख ५० हजार को आय व्यय वडा सचिव ध्वज बहादुर के.सी. ले प्रस्तुत गरेका थिए ।
वडाले आ.व. ०७५÷०७६ मा कृषि अन्तर्गत ३ लाख,पशु बिकास अन्तर्गत २ लाख ,पर्यटन अन्तर्गत १ लाख, आय आर्जन अन्तर्गत २ लाख ८ हजार , सडक पूर्वाधार अन्तर्गत २४ लाख ९२ हजार ,सिचाई अन्तर्गत २ लाख ५० हजार , खानेपानी तर्फ १० लाख,भवन तर्फ ३ लाख ,जनता आवास कार्यक्रम अन्तर्गत ५ लाख ,बिज्ञान तथा प्रविधि तर्फ १ लाख ,संस्कृति प्रबद्र्धन तर्फ १ लाख ,बिनियोजन गरेको छ । ५ न. प्रदेशबाट प्राप्त हुन आउने अनुदान ४ लाख ५० हजार तथा प्यूठान न.पा. बाट प्र्राप्त हुन आउने बाख्रापालन कार्यक्रम बापत रु ८ लाख ५० हजारर आवश्यक क्षेत्रमा खर्च गर्ने गरी वडाले बजेट विनियोजन गरेको छ ।
वडा न. ३ का वडा अध्यक्ष प्रेम बहादुर हमालको अध्यक्षतामा भएको सो वडाको सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका विभिन्न तहका व्यक्तित्व , उपभोक्ता , सेवाग्राहीहरुको सकृय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले आ आफ्ना गाउँ तथा क्षेत्रका खानेपानी ,बाटोघाटो, पुल पुलेसा लगायतका विषयमा मागहरु राखेका थिए भने सहभागिहरुको माग तथा जिज्ञासाका विषयमा कार्यक्रमका प्रमुख अतिथि प्यूठान न.पा.का मेयर अर्जुन कुमार कक्षपतिले जबाफ दिएका थिए । वडामा भएका समस्या एवं वडाका बासिन्दाको इच्छा र चाहना अनुसार कार्यक्रम अगाडि बढाउने वडा अध्यक्ष प्रेम बहादुर हमालले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्यूठान न.पा.का मेयर अर्जुन कुमार कक्षपतिले नगरपालिकाका हरेक गतिविधिलाई प्रभावकारी रुपले संचालन गर्न नगरपालिकाले विशेष योजना अगाडि सारेको र हरेक बिकास निर्माणका योजनामा सम्वन्धित जनप्रतिनिधि ,कर्मचारीको मात्र नभएर उपभोक्ताहरुको विशेष चासो एवं निगरानी हुनु पर्नेमा जोड दिए । कुनै पनि योजनाको काम ठेक्कामा दिन नहुने भन्दै मेयर कक्षपतिले बाटो खन्दा मेशिन प्रयोग गर्दा खुल्ला दर रेट लिएर जनताको प्रत्यक्ष निगरानिमा हुनु पर्ने समेत प्रष्ट पारे ।
कार्यक्रममा समाजसेवाी टंक बहादुर खड्का , मुक्ति प्रसाद सुवेदी लगायतले मन्तव्य राखेका थिए भने संचालन दिलिप के.एम.ले गरेका थिए ।
कमेन्ट गर्नुहोस !