प्यूठान, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीले अवको मूल राजनीतिक निकाश भनेको संघीय जनगणतन्त्र भएको औल्याएका छन् । उनले लोकतान्त्रिक गणतन्त्र राजतन्त्रको तुलनामा एक स्टेप प्रगतिशील भएतापनि यो ब्यवस्थाले पनि नेपाली जनताको बास्तविक समस्या समाधान गर्न नसक्ने बताएका छन् । उनले यो बिषयमा थप प्रष्ट पार्दै भनेका छनकी अहिले सम्मको भोगाईले यो लोकतान्त्रिक गणतन्त्र भनिने ब्यवस्थाबाट पनि सकारात्मक सन्देश दिने छनक नदेखिएकाले संघीय जनगणतन्त्रका लागि अव मुलुकका प्रगतिशील बामपन्थी शक्तिहरु एकतासंगै धुब्रीकरणको दिशामा जुट्नुपर्ने खाचोमा जोड दिएका छन । उनले जनगणतन्त्रका लागि आधार तयार पार्न आजै देखि लागि पर्नुपर्नेमा समेत जोड दिए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति प्यूठानले आज बिहिवार जुम्रीमा आयोजना गरेको बर्तमान राजनीतिक परिस्थिति र अवको निकाश बिषयक एक दिने अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता हेमन्त प्रकाश वलीले बर्तमा राजनीतिक ब्यवस्था र अहिलेका शासकले देखाएको चरित्र र ब्यवहारका बारेमा उदांगो पारेका थिए । यसैगरी कार्यक्रममा सहभागी आमन्त्रित अर्का बक्ता क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य केबी गुरुगले अहिलेको ब्यवस्थामा समाजबाद उन्मुख अर्थतन्त्रको वकालत यथास्थितिबादी चक्करमा रमाउने शक्तिहरुबाट गरिएको भएपनि यो मूलरुपमा प्रतिक्रियाबादी ब्यवस्था भएकाले यसबाट मुलुकले निकास पाउन नसक्ने बताए । साथै उनले यसका लागि बर्तमान बयवस्था फालेर संघीय जनगणतन्त्र स्थापनासंगै बैज्ञानिक समाजबादको बाटा ेनैे अवको मुख्य बिकल्प रहेकोमा जोड दिए ।
अन्र्तक्रिया कार्यक्रममा अर्का क्रान्तिकारी कम्युनिष्ट पार्टीकै नेता तथा पोलिटब्यूरो सदस्य शशिधर भण्डारीले अव क्रान्तिकारी कम्यूनिष्ट पार्टीले जनसंघर्षको अभियानलाई बढाउदै स्थानीय स्तरमा रहेका अर्थात घरेलु जाली फटाह र जनतालाई ठग्ने ठगहरुलाई कार्वाही अभियान चलाउने र आम क्रान्तिकारी शक्तिहरुलाई गोलबन्द गरी अव एउटा नयाँ बिद्रोहको शुरुवात हुने र त्यसले नै जनताले चाहे अनुसारको ब्यवस्था स्थापना हुने बताए । उनको भनाई थियो की अहिलेको भोगाईबाट आजित जनताले बिकल्प खोजेरै छाड्ने उनको भनाई थियो ।
पार्टीका जिल्ला अध्यक्ष टीकाराम पोखरेलको अध्यक्षतामा आयोजित उक्त अन्र्तक्रिया कार्यक्रममा बोल्ने सवै सहभागी बक्ताहरुले बर्तमान ब्यबस्थाले आशा भन्दा धेरै निराशा उत्पन्न गरेको, गणतन्त्र बोलीमा केन्द्रित तर पेटमा नभएको कारण दरवारीया शक्तिहरु मौलाउदै जान थालेकाले अव क्रान्तिकारी शक्तिहरु संगठित भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा माओबादी केन्द्र प्यूठानका संयोजक यज्ञ बहादुर खत्री प्रभात, बामपंन्थी नेता राजकुमार कक्षपति, कृष्ण पोखरेल लगायतका एक दर्जन जति बक्ताहरुले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा क. गौरवद्धारा तयार गरिएको समसामयिक राजनीतिक प्रतिबेदन पनि क. हेमन्त प्रकाश वलीद्धारा प्रस्तुत गरिएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले देशब्यापी रुपमा अन्र्तक्रियाका माध्यमबाट क्रान्तिकारी शक्तिहरुको बीचमा जागरण पैदा गर्ने उद्धेश्यका साथ प्यूठानमा पनि यो अन्र्तक्रिया गरिउको हो । कार्यक्रमको संचालन जिल्ला पार्टी सचिव बीर बहादुर पुनले गरेका थिए ।
कमेन्ट गर्नुहोस !