बिहिबार, माघ १०, २०८१ | Thursday 23rd January 2025

कोट घर



‘कुखुरी काँ’ भाले भ्याट भ्याट पखेटा पार्दै बास्यो । गहिरो निद्रामा डुबेको म झसंग झस्कँदै जुरुक्क उठे । यताउति हेरेर आँखा मिच्न थाले ।
‘जगते गमाल अझै उठेको छैनस् कि क्या हो ? कामका बेला पनि कति सुत्छस् हो । उठ, बाहिर आइज,’ तल्ला गाउँका रेग्मी बाजे झ्यालबाट ठुलो स्वरमा कराए ।
‘उठेर हातमुख धुँदै छु हजुर, म आइहाले,’ रुमालले मुख पुछ्दै म बाहिर निस्के ।
‘नमस्कार बाजे । झिसमिसेमै आइपुग्नु भएछ त ?’ विनम्र भएर सोधे ।
हँसियाले भरिएको झोला पिँढीमा राखेर रेग्मी बाजे आँगनको डिलमा टुसुक्क बसे । मतिर हेरेर फिस्स हाँसे र भने, ‘तँ आफै सोच न, एकबिहानै तेरो घरमा किन आइपुगे होला ?’
‘अ पुस लाग्यो । खर काट्ने बेला भयो । हँसिया पिटाउन त आउनुभयो होला । होइन त बाडो,’ मैले सोधे ।
‘ठिक भनिस्, म हाँसिया पिटाउनै आएको हो । खर काट्न ढिलो भइसक्यो । गाउँले सबैले खर काटिसके । हाम्रो ख¥यानमा मात्र बाँकी छ । सुकेर खङ्ग्रङ्ग भइसक्यो । आजै पिटाइदे । भोलिबाट त काट्नै पर्छ,’ रेग्मी बाजेले झर्कँदै भने ।
‘हँसिया पिटाउने त मेरो काम नै हो पिटाउला बाजे । आज चाहि पिटाउन सकिँदैन,’ मैले भने ।
‘किन नि जगते ?’ उनले आश्चर्य मान्दै सोधे ।
‘गोल ट्याक्रक्कै सकिएको छ । केल्ले पिटाउने हो र हँसिया ?’ मैले जवाफ दिए ।
‘ओहो कामको हतार भएको बेला यस्तै हुन्छ । त्यसो भए आज गोल काट्न जा । भोलि त जसरी भए पनि मेरा हँसिया पिटाइदे,’ रेग्मी बाजेको स्वर अलि चर्को पारे ।
‘आज गहत गोडिन्छ । बारीमै सुकेर चङ्गरङ्ग भइसक्यो । गोल काट्न जान भ्याउँदिनँ । भोलि जान्छु गोल काट्न । पर्सि जसरी भए पनि बाजेका हँसियाँ पिटाइदिन्छु,’ मैले मेरो कुरा राखे ।
बुढालाई मेरो कुरा चित्त बुझेनछ क्यार । मेरो मुखमा कर्के नजर लगाएर भुन्भुनाउँदै लसक्क ओरालो लागे ।
त्यो दिनभरी घरका परिवारसित मिलेर आफ्नै गहत गोडे । भोलिपल्ट खाना खाएर डोको बोके । काँधमा बन्चरो राखे । खल्तीमा आगो पार्न तक्मा र झुल राखेर राघन खोलातिर गोल पोल्न हिँडे ।
गोल पोल्न मुढा बटुल्दै थिए । सुनसरी गौडामा एउटा फलामको टुक्रा देखेँ ।
‘आहा कति राम्रो फलामको टुक्रा । यसको त चम्कने खुकुरी बनाउनुपर्छ,’ मनमनै सोचिहाले । त्यस फलामको टुक्रालाई हातले उचाले । आम्मै ! त्यसले त चट्याङले हानेजस्तै झड्का दियो । मेरो शरीर त डगडग काम्न पो थाल्यो ।
त्यही एउटा सुन्दर पानीको तलाउ थियो । मैले मेरो हातको फलामको टुक्रालाई त्यही तलाउमा फ्याँकी दिए । त्यसपछि मात्र मलाई कमाउन छाड्यो । त्यसपछि म त घरतिर कुलेलाम ठोके । घर पुग्दा मेरो शरीर पसिनाले निथ्रुक्क भिजेको थियो ।
पसिना ओभाउन्जेल घरमा आराम गरे । मेरो मन चन्चल भइरहेको थियो । आफूले देखेको भोगेको कुरा गाउँभरि भन्दै हिँडे । गाउँका मानिस सर्लक्कै उर्लेर तलाउतिर लागे । तलाउको वरिपरि मानिसको ठुलै भिड लाग्यो । तर तलाउभित्र पसेर त्यो फलामको टुक्रा निकाल्ने हिम्मत कसैले पनि गर्न सकेन ।
‘म निकाल्छु त्यस फलामको टुक्रालाई,’ हरिलाल रेग्मी एकाएक हौसिए ।
भिडले अचम्म मान्दै हरिलाललाई उत्साहका साथ हेर्न थाल्यो । डरले सबै जनाको ओठ तालु सुकेको थियो । वातावरण चकमन्न भयो ।
हरिलाल हिम्मतका साथ झ्वाम्म तालमा हामफाले र त्यो फलामको टुक्रा च्याप्प समाते । मेरो आङ सिरिङ्ग भयो ।
हरिलाल फलामको टुक्रा समात्ने बित्तिकै डगडग काम्न थाले । उनी थरथरथर काम्दै फलामको टुक्रा लिएर तलाउको डिलमा आइपुगे ।
काम्दाकाम्दै उनले भन्न थाले, ‘हेर जा.. हेर जा.. म खड्गदेवी हुँ । मलाई टाकुरामा लगेर थान बनाएर राख । मैले सबै गाउँलेको रक्षा गर्नेछु ।’
हरिलालले काम्दै भनेको कुरा त्यहाँ जम्मा भएको कसैले पनि पत्याएनन् । यस्तो पनि हुन्छु र भनेर खिसीटिउरी गर्न थाले । एकजनाले खिसिटिउरी गर्दै गिज्याएर ट्वाक्कै भन्यो, ‘हरिलालले भनेको कुरा सत्य भए मेरो घरका सबैलाई पखला लागोस् ।’
अचम्म ! उसको घरमा पखला झैलियो । घरका सबै परिवार थलिए भन्ने खबर आयो । उसलाई पनि पखलाले समात्यो ।
यो खबरले सबै मानिस डरले त्रसित भए र त्यति नै बेला एकाएक त्यस तलाउमा इन्द्रेणी प¥यो । अब भने सबै जनालाई त्यो फलामको टुक्रा खड्गदेवी हो भनेर पत्यार लाग्यो ।
‘हुन्छ यो खड्गदेवीलाई टाकुरामा लगेर थान बनाएर राखौ । पूजा गरौं । बली दिने कामचाहि नगरौं,’ लक्षीराम खनालले प्रस्ताव राखे ।
लक्षीरामको प्रस्तावलाई भिडका सबैजनाले एकै स्वरमा स्विकार गरे ।
हुतारामले काम्दै त्यस खड्गलाई टाकुरामा ल्याए र थान बनाएर राखे ।
लक्षीराम खनाल त्यतिबेलाका गाउँका मुख्या थिए । उनकै पहलमा टाकुरामा कोट बनाइयो र खड्गलाई शक्तिको रुपमा राखियो ।
कोटघरभित्र खड्ग राखेको राति लक्षीरामले डरलाग्दो सपना देखे । एउटा डरलाग्दो राक्षसजस्तो मानिस खुकुरी बोकेर उनको अगाडि आएर गर्जँदै ‘तेरो बली खान्छु’ भनेछ । उनी डरले झस्केर जुरुक्क उठेछ । त्या रात उनी निदाउँदै सकेनन रे ! किन यस्तो सपना देखें । उनी सोचमग्न भएछन् ।
उनले सोचे पक्कै खड्गदेवीले बली खोजेको हुनुपर्छ । अर्कोदिन बिहानै एउटा बोका र खुकुरी लिएर उनी कोटघर गए । खुकुरी चढाए र बोकाको बली दिए ।
त्यतिबेला देखि नै त्यस कोटमा बली दिने परम्परा शुरु भयो । टाकुराको नामै फेरिएर कोटघर हुन पुग्यो ।
ओहो एक दिन त त्यो खड्गदेवीले सर्पको रुप धारण गरेर सलल्ल ख¥यानतिर पो गर्जन थाल्यो । खै उसलाई टाकुराको कोटघरमा बस्न मन लागेर हो कि ?
हुताराम रेग्मी काम्दै आए र त्यस सर्पलाई च्याप्प समातेर कोटभित्रै राखिदिए । त्यसपछि भने चुप लागेर त्यही बसिरह्यो ।
खड्गदेवीलाई गाउँलेले इच्छादेवीको रुपमा पनि मान्दै आएका छन् । कुनै इच्छा पुरा गर्नु परे खड्गदेवीको नाममा भाकल गर्ने चलन छ ।
मेरा आँखा अगाडि घटेको यो अचम्मको घटनाले म तिन छकमा परे । ‘हैन त्यस फलामको टुक्राको वास्ताविक रहस्य के हो त ?’ यस कुराले मेरो मन कुतकुताइ रह्यो । यस रहस्यमय घटनाको वास्ताविकता पत्ता लगाएर छाड्ने अठोट गरे ।
‘अ यो रहस्यबारेमा कसलाई थाहा होला ?’ म सोचमग्न भएँ । ‘पक्कै पनि लक्षीराम खनाललाई थाहा हुनुपर्छ । उनी त यस गाउँका मुखिया पनि त हुन उनलाई थाहा नभएर कसलाई हुन्छ त ?’ मैले मनमनै विचार गरे र सरासर उनको घर गए ।
‘बिहानबिहानै हस्याङफस्याङ गर्दै आइपुगेछस् के कति कामले आइपुगिस् है जगतबहादुर ?’ लक्षीराम बाजेले जुँगा मुसार्दै सोधे ।
‘मेरो मनमा एउटा कुरा खेलिरहेको छ । त्यही कुरा बाजेलाई सोधौ भनेर आएको,’ मैले विनम्र अनुरोध गरे ।
‘के कुरा खेलिरहेको छ है जगतबहादुर तेरो मनमा । भने केरे, मैले जानेको कुरा रहेछ भने भनौला,’ लक्षीराम मुसुक्क मुस्कुराए ।
‘बाजे त्यो टाकुरामा राखेको खड्गदेवीको वास्तविक रहस्य के हो ? कसरी एउटा सानो फलामको टुक्रा त्यति धेरै शक्तिशाली हुन्छ । विश्वास नगरौ आफै भुक्तभागी छु,’ मैले हिम्मत उठाएर सोधें ।
‘ओहो तैले त साह्रै राम्रो प्रश्न सोधिस् त जगतबहादुर । यस्तो प्रश्न त मलाई कसैले पनि सोधेको थिएन । ल सुन म भन्छु,’ बुढाले मेरो काँधमा धाप मारेर कथा भन्न थाले ।
‘तैले भुरेटाकुरे राजाहरुको बारेमा त सुनेको छस नि,’ मलाई सोधे ।
‘सुनेको छु बाजे,’ मैले भने ।
‘हो तिनै भुरेटाकुरे राजामध्येका काला राजा सारिकोटमा बस्थे,’ उनले भने ।
‘राजाको नाम पनि काला राजा,’ मेरो मुखबाट फुत्तै फुत्कियो । मलाई हाँसो लाग्यो । हाँसो दबाएर भने ‘अनि के भयो त बाजे ?’
‘के हुनु नी । गोरखाका राजा पृथ्वीनारायणका सेनाले एकाएक सारिकोट दरबारमा धावा बोले । सारिकोटे राजाले क्षणभरमै हारे । उनी दरबार छाडेर भागे । पृथ्वीनारायण शाहका सेनाले उनलाई लखेटे ।
‘राजा लखेटिन्छ र त्यो फलामको टुक्रा र खड्गको के साइनो छ त बाजे,’ मैले प्याच्च सोधिहाले ।
‘भन्दै छु नि त किन बिचबिचमा प्याच्च प्यच्चा बोल्छस्,’ लक्षीराम बाजे झनक्क भए ।
‘माफ गर्नुस् बाजे अब त्यसरी बोल्दिन,’ मैले दुई हात जोडे ।
काला राजाले दरबार छाडेर भाग्ने बेला आफ्नो मुख्य हतियार लिएर भागेको थिए । त्यही हतियारलाई राघन खोलमा लुकाएर गएछन् ।
‘के हाम्रो कोटघरमा राखेको खड्गदेवी तिनै काला राजाको मुख्य हतियार हो त बाजे ?’ मैले उत्सुक हुँदै सोधे ।
‘हो त्यही हतियार नै हो,’ उनले ढुक्क साथ भने ।
‘अनि टाकुराको नाम कोटघर कसरी भयो नि ?’ मैले सोधे ।
‘कोटमा बस्ती राजाको मुख्य हतियार भएकोले मैले नै यस टाकुराको नाम कोटघर राखिदिएको हुँ,’ लक्षीराम बाजे गजक्क परे ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top