
सागर रिजाल
प्युठान,३ मंसीर ।
प्युठानमा उपनिर्वाचनको माहोल वढेको छ । जिल्लाका दुई स्थानिय तहका तीन वडामा वडाअध्यक्षका लागि उपनिर्वाचन हुदैँछ । उपनिर्वाचनका लागि विभिन्न पार्टीका उमेद्वारहरु भिडेका छन् । प्युठान नगरपालिका– २ क्वाडी र ऐरावती गाउँपालिका– १ दाङवाङ र वडा नंम्बर २ बरौलामा वडाअध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । प्युठान नगरपालिका– २ क्वाडीका वडा अध्यक्ष खिमबहादुर विष्टको निधन र ऐरावती गाउँपालिका २ का वडाअध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख र वडा नं १ का वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि यी वडा खाली रहेका थिए । आगामी मंसीर १४ गते यी वडाहरुमा उपनिर्वाचन हुदैँ छ । यी वडाहरुमा अध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काग्रेस र राष्ट्रिय जनमोर्चा र एक जना स्वतन्त्रबाट उमेद्वारी दिएका छन् । प्युठान नगरपालिका २ मा नेकपाबाट मुक्ति पोख्रेल र नेपाली काग्रेसबाट मोहनसिह जिसीले उम्मेद्वारी दिएका छन् । यस वडामा राष्ट्रिय जनमोर्चाले नेकपाका पोख्रेललाई सहयोग गर्नेछ ।
त्यस्तै ऐरावती १ मा नेकपाबाट द्रोण पाण्डे, नेपाली काग्रेसबाट अमरबहादुर रेस्मीमगरले उमेद्वारी दिएका छन्। यस वडामा पनि राजमोका कार्यकर्ताले नेकपामा पाण्डेलाई सहयोग गर्ने छन् । ऐरावती २ मा राजमोबाट भक्तबहादुर विक , नेपाली काग्रेसबाट भुपाल जिसी र स्वतन्त्रबाट भिमेसकुमार घर्तिमगरले उमेद्वारी दिएका छन् । घर्तिमगरलाई नेकपाका कार्यकर्ताले सहयोग गर्ने छन् । उपनिर्वाचनको समय नजिकिएसंगै उमेद्वारहरुले जनस्तरसम्म पुगेर भोट माग्न व्यस्त देखिन्छन् । उपनिर्वाचनमा उमेद्वारी दिएका ऐरावती १ र २ मा उमेद्वारी दिएका उमेद्वारलाई तपाईको उमेद्वारी किन भनि सोधेका छौँ ?
द्रोण पाण्डे

द्रोण पाण्डे ऐरावती गाउँपालिका–१ दाङवाङ मा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) बाट उमेद्वारी दिएका छन् । साविक दाङवाङ १ जुडामा जन्मिएका पाण्डे ४१ वर्ष पुगे । आई.ए. सम्मको अध्ययन पुरा गरेका पाण्डेले २०४४ सालबाट राजनीति यात्रा सुरु गरेका हुन् । अनेरास्ववियु छैठौमा आवद्ध उनले प्रावि विद्यालयको इकाई सदस्य हुदै क्याम्पस इकाईको अध्यक्ष समेत भएका थिए । २०५४ मा राष्ट्रिय जनमोर्चाबाट उनी गाविस अध्यक्ष बने । राजनीतिको दौडानका क्रममा उनको यात्रा रोकियो । उनी जनता प्रावि जुडाटाकुरामा २२ वर्षसम्म अस्थायी शिक्षक भए । लामो समयसम्म शिक्षण पेशामा आवद्ध पाण्डे २०७५ चैत्र ३ गते शिक्षण पेशाबाट अवकाश भए ।
२०६७ सालमा तत्कालिन माओवादी केन्द्रमा उनी आवद्ध भएका थिए । हाँल उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य,वडा कमिटीका ईन्चार्ज छन् । उनै राजनीतिक व्यक्तित्व पाण्डेले आगामी मंसीर १४ गते हुन लागेको उपनिर्वाचनमा नेकपाबाट उमेद्वारी दिएका हुन् । जनताका लोकप्रिय पाण्डेले निर्वाचनमा सफल भएपछि यस क्षेत्रका समस्याहरुलाई समाधान गर्ने बताए । यस क्षेत्रको सड्क, खानेपानी, स्वास्थ्य , शिक्षा लगाएत जनताका आवश्यकताहरु पुरा गर्न आफु प्रतिवद्ध हुने उनले बताए । सिचाई कुलो, पक्की पुल निर्माणमा समेत अग्रसर हुने उनले बताए । पाण्डेलाई राजमोले समेत साथ दिएको छ । राजमोका कार्यकर्ता सहित उनी मत माग्न मतदाता कहाँ पुगेका छन् ।
अमरबहादुर रेस्मीमगर

अमरबहादुर रेस्मीमगर नेपाली काग्रेसबाट ऐरावती गाउँपालिका– १ का उमेद्वार हुन् । दाङवाङको मान्द्रेमा जन्मेका रेस्मी मगर लामोसमयसम्म जागिरे भए । यूवा स्वरोजगार कार्यक्रम अन्र्तगत प्युठान जिल्लाका सदस्य सचिव रहेका मगरले जागिर राजनीमा दिएर मंसीर १४ गते हुन लागेको उपनिर्वाचनमा नेपाली काग्रेबाट उमेद्वारी दिएका हुन् । सात वर्षसम्म जागिर पेशामा आवद्ध मगरले गाउँमा परिवर्तन ल्याउनका लागि आफ्नो उमेद्वारी दिएको बताए । यूवा व्यक्तित्व रेस्मीले यस क्षेत्रका मतदातालाई साथ दिन आग्रह गरेका छन् । आफुले जितेमा यस क्षेत्रका समस्याहरु समाधान गर्न सदैव कटिवद्ध हुने बताए ।
भिमेसकुमार घर्तिमगर

भिमेसकुमार घर्तिमगर ऐरावती गाउँपालिका–२ बरौलाका स्वतन्त्र उमेद्वार हुन् । वि.स. २०३४ सालमा साविक बरौला ५ नेपानेमा जन्मिएका मगरले अखिल छैठौबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । धर्मोदय माद्यामिक विद्यालय जाबुनेमा अध्ययन गर्दा उनी इकाई अध्यक्ष भए । केहि समय लगत्तै उनी जिल्ला समिति सदस्य भए । राजनीतिलाई थाती राख्दै उनी २०६३ सालमा जनकल्याण आधारभुत विद्यालय रानीबासमा शिक्षण पेशा सुरु गरे । ८ वर्षसम्म शिक्षण पेशा गरेका उनी २०७१ सालमा राजीनामा दिएर तत्कालिन माओवादी केन्द्रमा आवद्ध भए । उनी उक्त पार्टीबाट गाविस उपाध्यक्ष भए । २०७४ सालको स्थानिय तह निर्वाचनमा उनी माओवादी केन्द्रबाट वडा अध्यक्षका उमेद्वार भए । तर उनी उक्त चुनावमा असफल भए । राजमोका केशवराज आचार्यले उनलाई हराए । उनी ११ मतले मात्रै पराजित भएका थिए ।
आदिवासी जनजाती महासंघ जिल्ला शाखा प्युठानका कार्यवाहक अध्यक्ष ,नेपाल मगरसंघ प्युठान शाखाका सचिव, ५ नंम्बर प्रदेशका सदस्य, बरौला कृषि सहकारी संस्थाका अध्यक्ष, जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष संगै विभिन्न योजनाका अध्यक्ष रहेका घर्तिमगर राजनीतिमा अझै हार खाएका छैनन् । केन्द्रमा राजमो र नेकपाको तालमेल भएपछि उनी हाँल स्वतन्त्र उमेद्वारी दिएका छन् ।
आफुले मंसीर १४ गते हुने उपनिर्वाचनमा विजय हासील गरेपछि वडामा भएका खानेपानी, सड्क, शिक्षा, स्वास्थ्य लगाएत क्षेत्रका समस्याहरु समाधान गर्न अग्रसर हुने बताए । वडामा प्राप्त योजनाहरु सम्पूर्ण क्षेत्रमा पुर्याउने, बालबालिका, जेष्ठनागरिक, यूवा, दलित जनजातीका क्षेत्रमा आफ्ना कार्यक्रमहरु अगाडी वढाउने उनले बताए । स्वतन्त्रबाट उमेद्वारी दिएपनि घर्तिमगरलाई नेकपाका कार्यकर्ताले सहयोग गरेका छन् । उनी घरदैलोमै पुगी ‘छडी’ चिन्हमा मतदान गरि चुनाव जिताउन आग्रह गरेका छन् ।
भक्तबहादुर विक

भक्त बहादुर विकले ऐरावती गाउँपालिका–२ बरौलामा राष्ट्रिय जनमोर्चाको तर्फबाट उमेद्वारी दिएका छन् । लामो समयसम्म राजनीतिमा आवद्ध विकले आफुले चुनाव जितेपछि पार्टीभन्दा पनि कामलाई ध्यान दिने बताए । साझा रुपमा यस क्षेत्रमा रहेका समस्याहरु समाधान गर्ने उनले बताए ।
भुपाल जिसी

भुपाल जिसीले नेपाली काग्रेसबाट ऐरावती गाउँपालिका– २ बरौलामा उमेद्वारी दिएका छन्। यूवा व्यक्तित्व जिसी टिकुरीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा उमेद्वारी दिएपछि मत माग्नमै व्यस्त छन् उनी आजकल । उनले चुनाव जितेपछि जनताका आवश्यकताहरु पुरा गर्ने बताए । चुनाव जितेपछि योजनाहरु बनाएर आफु अगाडी वढने प्रतिवद्धता उनले जनाए । उनी भन्छन् जनताका चाहाना अनुसार काम गर्नेछु ।
कमेन्ट गर्नुहोस !