
प्युठान, १४ भदौ ।
३० वटा भन्दा बढि कानुन तथा कार्यविधि तयार गरिसकेको सरुमारानी गाउँपालिका प्यूठानले तीनै कार्यविधिका आधारमा विभिन्न विकासका गतिविधिहरु संचालन गर्दै आएको छ ।
‘छोरी वचत कार्यक्रम’ मुलुकभरकै स्थानीय तहहरु मध्य उत्कृष्ट काम थालेको पालिकाले यस वर्ष नगर प्रहरी भर्ना गरेर थप चर्चा पाएको छ ।
पालिकाले बनाएका कानुन र कार्यविधिकै आधारमा समृद्ध गाउँपालिका बनाउने अभियानमा अगाडी वढेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर ओलीले बताए । गत कात्र्तिक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका ओलीले आफ्नो १० महिने कार्यकालमा सम्पादित कार्यलाई १० उत्कृष्ठ कार्यमा यसरी उल्लेख गरेका छन् ।
१) फोहोर व्यवस्थापन ः
गाउँपालिका क्षेत्रभित्र विशेष गरी बजार क्षेत्रका फोहोर व्यवस्थापन गर्दै आएको छ । पालिकाको मुख्य बजार क्षेत्र वड्डाडा, दर्भान र साना किसान क्षेत्रमा डष्टबिन वितरण छ । साताको तीन दिन ट्याक्टर मार्फत फोहोर संकलन गरी उचित व्यवस्थापन गर्ने गरिएको गाउँपालिकाले जनाएको छ ।
२) व्यवसाय दर्ता तथा बजार अनुगमन ः
यस अवधिमा गाउँपालिकाले बजार अनुगमन सम्वन्धी कार्यविधि तयार गरी अनुगमन कार्यलाई प्रभावकारी बनाउँदै आएको छ । यसै कार्यविधिका आधारमा गाउँपालिकाले दरभानमा मापदण्ड विपरित संचालन मेडिकल बन्द गराएको थियो । पालिका भित्र संचालित व्यवसायहरुलाई दर्ता तथा नविकरण समेत गर्दै आएको छ ।
३) प्रशासनिक भवन निर्माण ः
गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गर्ने योजना दुई वर्ष अघि बनाए पनि कार्यान्वयन हुन सकेको थिए । यसै १० महिनाको अवधिमा पालिका केन्द्र बड्डाँडामा प्रशासनिक भवन निर्माण शुरु भएको छ । १ करोड ५० लाखको लगानीमा भवन निर्माण भैरहेको छ ।
४) सूचनामा सहज पहुँच ः
गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा तथा कार्यक्रमका बारेमा जानकारी दिन पालिकाले सूचनामा पहुँच अभिबृद्धिका लागि विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ । टोलटोलमा सूचना पार्टी स्थापना गरिएको छ । संस्थागत अभिलेख व्यवस्थापन, वेवसाइट नियमित अपडेट गर्ने गरिएको छ । सेवाग्राहीको गुनासो सुन्नका लागि नियमित रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने गरिएको पालिकाले जनाएको छ ।
५) शिक्षक अनुदान ः
सामुदायिक विद्यालय संचालनका लागि पालिकाको अनुदान सहयोगमा ४९ जना शिक्षक भर्ना गरिएको छ । प्रशासनीक कामको समेत जिम्मेवारी प्रधानाध्यापकलाई हुने भएकाले प्र.अ. भत्ताको व्यवस्थान गरिएको छ । पालिकाको लोकप्रिय कार्यक्रमको रुपमा रहेको ‘छोरी वचत कार्यक्रम’को सफल कार्यान्वयनसँगै जनता माध्यमिक विद्यालय बड्डाँडाका विद्यार्थीहरुको सहुलियतका लागि निःशुल्क यातायात सेवा संचालनलाई निरन्तरता दिइएको छ ।
६) उद्यमशिलता तालिम ः
बढ्दो वेरोजगारी समस्या समाधानलाई ध्यानमा राखि गाउँपालिकाले विभिन्न विधामा सिप मुलक उद्यमशिलता तालिम संचालन गरेको छ । यस अवधिमा १५ बढि विधामा तीन सय भन्दा बढिलाई तालिम दिइएको पालिकाले जनाएको छ ।
७) नगर प्रहरी भर्ना ः
यसै अवधि भित्र पालिकाले नगर प्रहरी भर्ना गरेको छ । बरिष्ठ गाउँपालिका नगर प्रहरी सहित चार जना प्रहरी भर्ना गरेको हो । नीति नियमको कार्यान्वयन, सार्वजनिक तथा पालिकाको सम्पत्ति संरक्षण गर्न प्रहरी भर्ना गरिएको हो । दाङको भलुवांगबाट प्यूठान रोल्पाको मुख्य सकड क्षेत्रमा हुने सवारी दुर्घटना तथा दैवि प्रकोपका घटनामा उद्धार गर्ने कार्यमा प्रहरी परिचालन गरिने पालिकाले जनाएको छ ।
८) प्रदेश समपुरक सहकार्य ः
प्रदेश समपुरक योजना अन्तरगत रानीकुवा योग तथा शान्ति पार्क, बृहत हंसपुर खानेपानी योजनाको निर्माण अघि बढेको छ । पालिकाले आठ वटा योजनाको डि.पि.आर तयार गरेकोले प्रदेश सरकारसँगको सहकार्यमा कार्यान्वयनमा लैजाने योजना बनाएको छ ।
९) स्वास्थ्यमा पहुँचबृद्धि ः
जनतालाई नजिकबाट स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले थप तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा ल्याइएको छ । ददेरी, वड्डाँडा र गनाहामा थप तीन वटा सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालनमा ल्याइएको हो । गाउँघर क्लिनीक मार्फत पनि जनताको घरदैलोमा स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको पालिकाले जनाएको छ ।
यस अघि तिराममा संचालन भैरहेको सामुदायिक स्वास्थ्य इकाईलाई निरन्तरता दिइएको छ । प्रदेश सरकारको कार्यक्रम अनुसार ८४ वर्ष भन्दा माथिका नागरिकहरुलाई महिनामा एक पटक घरमै पुगेर स्वास्थ्य जाँच तथा परामर्श दिने कार्य नियमित संचालन हुँदै आएको छ ।
१०) वन साझेदारी कार्यक्रम ः
पालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समितिसँगहरु संगको साझेदारीमा ‘सामुदायिक वन साझेदारी कार्यक्रम’ मार्फत पुर्वाधार निर्माणका कामहरु भएका छन् ।
आवश्यकता अनुसार कर्मचारीलाई तालिम सञ्चालन, दलित, महिला, जनजाती, आदिवासी, अल्पसंख्यकका निम्ति विभिन्न शशक्तिकरण तालिम सञ्चालनलाई निरन्तरता दिइएको छ ।
(प्रमुख प्रशासकीय अधिृकतसँगको कुराकानीमा आधारित)
कमेन्ट गर्नुहोस !