
प्युठान,२० असार ।
विषय विज्ञ छनोटमा धाँधली भएको भन्दै शिक्षक छनोट परीक्षा स्थगित भएको छ । गौमुखी गाउँपालिका ५ खुङमा रहेको जन सहयोगी आधारभूत विद्यालयमा गत जेठ २९ गते निम्नमाध्यमिक तह तृतीय श्रेणी बिज्ञान विषयको राहत शिक्षक पदको लागि भएको विज्ञापनअनुसार बिहीवारलाई तोकिएको परीक्षा स्थगित भएको हो ।
विद्यालय व्यवस्थापन समितिले बिज्ञान विषयको परीक्षाको लागि गणित विषयको विषय विज्ञ छनोट गरेपछि विवाद उत्पन्न हुँदा परीक्षा स्थगित भएको हो । शिक्षक परीक्षाको लागि शिक्षा नियमावलीअनुसार सम्बन्धित विषयको २ जना विषय विज्ञ छ्नोट गर्नुपर्नेमा त्यसमद्दे गौमुखी माविका गणित विज्ञ शिक्षक माधवराज पोख्रेललाई छनोट गरी परीक्षा सञ्चालन गर्न खोज्दा विवाद बढेको थियो । समितिले अर्का विज्ञ सम्बन्धित विषयकै लिला बहादुर केसीलाई छनोट गरेको थियो । विविद्यालयले शुद्ध विज्ञान विषयको विज्ञापन गरेर शुद्ध गणित विषयको विज्ञ छ्नोट गरी परीक्षा गर्नु नियम र विधिसम्मत नभएकोले त्यस्तो परीक्षाको जिम्मेवारी लिन आफूले नसक्ने भएकाले स्थगित गरी नियमपूर्वक परीक्षा गराउन गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओमहरी पोख्रेल र विद्यालयका प्रधानाध्यापक अमृत केसीलाई अनुरोध गरेको शिक्षा विकास तथा समन्वय इकाई प्युठानका प्रमुख शिवराज पण्डितले बताउनु भयो ।
जिल्लाभित्र र जिल्ला बाहिरका परीक्षार्थीलाई बिहीवार परीक्षाको लागि ठुलाबेसी बोलाइ पालिकाका शिक्षा शाखा प्रमुख ओमहरी पोख्रेलको नेतृत्वमा प्रश्न पत्र निर्माण गर्न सुरु गरे लगत्तै विज्ञान विषयका विज्ञ शिक्षकहरूले बिज्ञान विषयको परीक्षा गणित विज्ञले लिन नीतिगत रूपमा नमिल्ने र उक्त परीक्षा वैध पनि हुन नसक्ने बताएपछि परीक्षा स्थगित हुन पुगेको हो । नीति नियमलाई लागु गराउने निकायमा बसेका तथा गाउँ शिक्षा शाखा प्रमुखको जिम्मेवारी सम्हालेका व्यक्तिले नै नियमसंगत विषय विज्ञ छ्नोट नभएको परीक्षा गराउनको लागि प्रश्रय दिनु समग्र शिक्षा क्षेत्र, शिक्षा पद्धति र विषयगत शिक्षक माथिको प्रहार भएको शिक्षाका जानकारहरू बताउँछन् ।
परीक्षा के कारणले स्थगित गर्नु भयो भनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओमहरी पोख्रेलसँग बुझ्दा विद्यालय व्यवस्थापन समितिले विज्ञान विषयको विज्ञ छ्नोट गर्नुपर्नेमा गणित विषयको छ्नोट गर्दा त्यो नियमसंगत नभएकोले परीक्षा स्थगित गर्नुपरेको स्वीकार गरे । ूबिहीबार नै परीक्षा गराउन व्यवस्थापन समितिको बैठक बसी अर्को विज्ञ छ्नोट गर्ने समय नभएकोले परीक्षालाई आजका लागि स्थगित गरेका हौं । छिटोभन्दा छिटो नियमपूर्वक विज्ञ छनोट गर्न लगाई परीक्षा गराउँछौँ । तर, विद्यालयले आफ्नो आवश्यकताअनुसार विषय बदलेर पुन विज्ञापन गर्न पनि सक्छ।पोख्रेलले भने ।
गौमुखी गाउँपालिकाका विभिन्न विद्यालयहरूमा शिक्षकको परीक्षा गर्दा गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओमहरी पोख्रेलको संलग्नता र निर्देशनमा यस अघि पटकपटक परीक्षामा विवाद हुने एवं परीक्षा नै स्थगित हुन पुग्दा विद्यार्थीहरूको महिनौं दिनसम्म पठनपाठन अबरुद्ध भएको थियोे । शिक्षा शाखा प्रमुख ओमहरी पोख्रेलले यस अघि नेपाल राष्ट्रिय आधारभूत विद्यालय बुक्तिचौर लिवाङमा निजी शिक्षक छनौटका क्रममा विषय विज्ञसँग कपी परीक्षण गर्नेकुरामा विवाद गर्दा परीक्षा स्थगित भइ विद्यार्थीहरूले एक महिनासम्म पढ्न पएका थिएनन् । उनले परीक्षा बनाउन नसक्ने भन्दै शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन विद्यालय निरीक्षक नरेन्द्र सुबेदीको उपस्थितमा शिक्षक छनोट गरिएको थियो । त्यस्तै जनकल्याण प्राथमिक विद्यालय रजवाराको बाल विकास शिक्षकको छनोटमा शाखा प्रमुख पोख्रेलले कुनै व्यक्तिलाई पहिले नै शिक्षक बनाउने घोषणा गरेको थाहा भएको भन्दै उक्त विद्यालय व्यवस्थापन समितिले पोख्रेलले प्रश्न काटे परिक्षा गराउन नसकिने र त्यो निष्पक्ष पनि नहुने भन्दै परीक्षा स्थगित भएको थियो । त्यस्तै पोख्रेलले स्रोतकेन्द्रमा भइरहेको परीक्षालाई केन्द्रमा नगरी जनज्योति आधारभूत विद्यालय पुजाको निम्नमाध्यमिक तहको गणित विषय शिक्षकको परीक्षा गर्न सामाजिक विषयको विज्ञलाई लिई रातारात विद्यालय पुग्न खोज्दा परीक्षा स्थगित हुन पुग्दा विद्यार्थीले महिनौं दिनसम्म पढ्न पाएका थिएनन् । यसपटक पनि शाखा प्रमुख पोख्रेलले स्पष्ट नीतिगत धारणा नराखी नियम बिपरित छनोट भएका विषय विज्ञसँग परीक्षा सञ्चालन गर्न खोज्दा परीक्षा स्थगित हुन पुगी जन सहयोगी आधारभूत विद्यालयका विद्यार्थीको पठनपाठन अन्योलमा परेको छ । राज्यले स्रोत व्यक्ति नै खारेज गरेपछि गौमुखी गाउँपालिकाले ४० वर्ष नाघेका पोख्रेललाई विज्ञापन बिनानै करारमा नियुक्ति गरेको थियो । शिक्षाको नेतृत्व गर्न बसेका व्यक्तिले नै नीति र पद्धति बिपरित काम गर्दा शिक्षा क्षेत्र नै प्रदुषित हुनेमा शिक्षा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
कमेन्ट गर्नुहोस !