
सागर रिजाल
प्युठान,२१ जेठ ।
प्युठान कारगारमा रहेका कैदबन्दीलाई तालिम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा पुरूष कैदिबन्दिका लागि १ महिने अल्लोको कपडा बुन्ने तालिम र जिल्ला कारागार कार्यालयको आयोजनामा महिला कैदिबन्दीहरुका लागि १० दिने अल्लोको धागो उत्पादन गर्ने तालिमको सञ्चालन गरिएको हो ।
दुबै तालिमको मंगलबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै प्रजिअ गैह्रेले कारागारमा रहेका कैदिबन्दिको समयको सदुपयोग गर्न र सीप तथा क्षमताको विकास गर्नका लागि तालिमको आयोजना गरिएको बताए । उनले सिकेको सिपलाई कारागारमा रहँदा र त्यहाँबाट छुटिसकेपछि पनि व्यवहारमा ल्याउन अनुरोध समेत गरे । साथै प्रजिअले प्युठान कारागारमा धेरै समस्या रहेको, यसको विकल्प खोजिरहेको र उपलब्ध स्रोतसाधनको अत्युत्तम उपयोग गरेर कैदीबन्दिलाई सुविधा उपलब्ध गराउने प्रयास भईरहेको त्यहि सिलसिलामा यो तालिम आयोजना गरिएको बताए । भविष्यमा यस्ता तालिमलाई निरन्तरता दिने बताउदै प्रजिअले सिकेको सिपलाई व्यवहारमा उतार्नका लागि आवश्यक वातावरण मिलाउन कारागार कार्यालय प्रमुखलाई निर्देशन समेत दिए ।
तालिममा १९ जना पुरुष र १३ जना महिलाको सहभागीता रहेको छ । तालिमको प्रशिक्षक खिम बहादुर बुढा मगर र चित्रकला बुढामगर रहेका छन् ।
कमेन्ट गर्नुहोस !