
सागर रिजाल
प्युठान
प्युठान नगरपालिका–२ क्वाडीका मुक्ति पोख्रेल ५५ वर्ष पुग्नुभयो । उहाँ अहिले जिल्लाकै आवश्यकतालाई पुरा गर्ने गरि व्यवसायिक कुखुरापालनमा लाग्नुभएको छ । रोजगारीका अवसर नपाएर होईन उहाँ लामो समय शिक्षण पेशाबाट निवृत भएपछि व्यवसायिक कुखुरापालनमा लाग्नुभएको हो । उहाँको यो मेहनतले जिल्लाका थुप्रै यूवाहरुलाई गरे के हुदैँन भन्ने कुराको गतिलो पाठ सिकाएको छ ।
उहाँले २०६९ सालदेखी प्युठान नगरपालिका–१ छत्तिसबगरमा न्यु प्रगतिशील पोल्ट्री तथा कृषि फर्म मार्फत लेर्यस जातको कुुखुरा पालन व्यवसाय सञ्चालन गरेको बताउनुभयो । शुरुमा ९ जनाको साझेदारीमा व्यवसाय सञ्चालन गरिएको थियो । ०७२ साल देखी एक्लै व्यवसाय सञ्चालन गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,–‘ शिक्षण पेशाबाट सेवा निवृत भएपछि एक्लै व्यसाय सञ्चालन गरिरहेको छु । ’
प्युठानमा बाहिरी जिल्लाबाट अण्डा आउने गर्दथ्यो, आएको अण्डा खासै गुणस्तरिय हुने थिएन, उहाँले भन्नुभयो,–‘गुणस्तरयुक्त अण्डाको माग वढेपछि व्यवसाय सञ्चालनमा ल्याईएको हुँ । ’ ‘सानै देखि व्यवसायी बन्नुपर्छ भन्ने योजना बनाएको थिए, पछि शिक्षण पेशामा जोडिए । २७ वर्षको शिक्षण पेशापछि निवृत भए’ उहाँले भन्नुभयो,–‘शिक्षण पेशाबाट निवृत भएपछि व्यवसायी बनेको छु । ’
फर्ममा ५ हजार कुखुरा
पोख्रेलले सञ्चालन गरेको फर्ममा अहिले ५ हजार लेयर्स जातका कुखुरा छन् । पाँच हजार कुखुराले दैनिक अण्डा पार्छन् । केहि समय अगाडी उद्योगमा करिब दश हजार कुखुरा थिए , उहाँले भन्नुभयो,–‘अण्डा पार्ने समय सकिएपछि मासुको लागि कुखुरा बेचेपछि कम भएका हुन् । ’ एउटा कुखुराले १८ महिनादेखी २२ महिनासम्म अण्डा पार्दछ । उहाँले करिब ५ हजार कुखुरा अण्डा पार्न छाडेपछि मासुको लागि बेचेको बताउनुभयो ।
उहाँले १५ रोपनी क्षेत्रफल जग्गामा फर्म सञ्चालनमा ल्याउनुभएको छ । कुखुराले दिनमा २३ पेटी (एक हजार पचास पिस ) अण्डा उत्पादन गर्छन् । कुखुराको उमेर घट्दै जाँदा अण्डा पार्ने दर कम हुने उहाँले बताउनुभयो ।

जिल्ला र जिल्ला बाहिर खपत
कुखुराले उत्पादन गरेको अण्डा खपत गर्न समस्या नरहेको उहाँले बताउनुभयो । प्युठान जिल्ला संगै छिमेकी जिल्ला रोल्पा, अर्घाखाँची, गुल्मी मा फर्ममा उत्पादन भएको अण्डा खपत हुने पोख्रेलले बताउनुभयो ।
उहाँले सञ्चालन गरेको फर्ममा ५ जनाले रोजगारी समेत पाएका छन् । आफ्नै गाडी भएकाले अण्डा विक्रि गर्न आफै हिड्ने पोख्रेलले बताउनुभयो । फर्म सञ्चालनमा उहाँले प्याक्टो नेपालको सहयोग पाएको बताउनुभयो । उहाँलाई उक्त संस्थाले २४ लाख ३६ हजार रुपिँया सहयोग गरेको थियो । प्याक्टो नेपालले सहयोग गरेको रकमबाट उनले कुखुरा राख्ने टहरो र गोदाम घर निमार्ण गरिएको छ । यो संस्थाबाहेक अरु कसैको सहयोग नपाएको उहाँले बताउनुभयो । उहाँले फर्ममै कुखुरालाई दाना उत्पादन गर्नुहुन्छ । दाना बनाउने १४ लाखको मेसिन लिएपछि सहज भएको उहाँले बताउनुभयो ।
बार्षिक १५ लाख आम्दानी
७० लाख भन्दा वढी लगानीमा सञ्चालनमा ल्याईएको फर्म जिल्लाकै नमुना फर्म मानिन्छ । उहाँको उद्योगमा अगिल्लो वर्ष भन्दा कम कुखुरा छन् । कुखुराले अण्डा पार्ने समय सकिएपछि मासुका लागि बेचेकोले कुखुरा कम भएको उहाँले जानकारी दिनुभयो । उनले भन्नुभयो,–‘अबको केहि समयदेखी कुखुरा थप्ने योजना बनाएको छु । ’ उहाँले वार्षिक १५ लाख रुपिँया आम्दानी हुने बताउनुभयो ।
अगिल्ला वर्षहरुमा भन्दा यस वर्ष अण्डाको मुल्य कम भएको र दानाको मुल्य वढी भएकाले आम्दानी कम भएको उहाँले बताउनुभयो ।
जिल्लामै आम्दानीका श्रोत थुपै्र छन् ः पोख्रेल
भूवनेश्वरी माध्यामिक विद्यालय खैरामा ७ वर्ष र अरनिको निम्न माध्यामिक विद्यालयमा २० वर्ष सम्म शिक्षण पेशामा आवद्ध भएका पोख्रेलले जिल्लामै आम्दानीका श्रोत थुप्रै भएको बताउनुभयो । पोख्रेलले फर्म सञ्चालनमा आफ्नो परिवारको ( २ छोरा, २ छोरी ,श्रीमती, आमा र एक बुहारी) सहयोग पाएको बताउनुभयो । उहाँले सञ्चालन गरेको फर्म जिल्लामै नमुनायोग्य फर्म मानिन्छ ।
राज्यले कृषि पेशालाई प्राथमिकता दिएको छ । राज्यसंग मिलेर उद्यमशिलतामा लाग्ने हो भने खाडीमा गएर काम गर्न नपर्ने उहाँ बताउनुहुन्छ । ‘आफ्नै देशमा रोजगारीका माध्यम थुप्रै सिर्जना गर्न सकिन्छ, पैसा हामी संगै छ ’, उहाँले भन्नुभयो,–‘खाडी मुलुक गएर पसीना बगाउनु भन्दा आफ्नै भूमिमा पसिना बगाउनुपर्छ । ’ उहाँले यूवाहरुलाई खाडी जानुको सट्टा आफ्नै मुलुकमा काम गर्न आग्रह गर्नुभएको छ ।
पोख्रेल कुखुरा व्यवसाय सञ्चालन संगै सामाजिक क्षेत्रमा समेत आवद्ध हुनुहुन्छ । उहाँ उद्योग वाणिज्य संघ प्युठानका उद्योग उपाध्यक्ष, सिदार्थ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रहेको जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !