
प्यूठान जिल्लाको महत्वपूर्ण धार्मिक सम्पदाहरु मध्ये प्यूठान नगरपालिका वार्ड नं – ४ बिजुवार बजारमा रहेको कालिका भगबती मन्दिर पनि एक हो । प्राचीनकाल देखि कालिका, काली वा महाकाली नामले सम्बोधन गरिने यी देवी हिन्दु शक्ति परम्परा र तन्त्र परम्परामा समेत पुजिने रौद्र स्वरुपकी मातृशक्ति मानिन्छन् । साथै सुन्दर स्वरुपकी दुर्गाकै कालो,डरलाग्दो भयानक र बिशाल स्वरुपलाई नै कालीको रुपमा बुझ्ने गरिन्छ । हालैको पुर्ननिर्माण पछि मन्दिरलाई इट्टाको पर्खाल र एक तहको धातुको छानोमाथी गजुर स्थापना गरिएको स्वरुपमा राखिएको छ । यसकारण यो मन्दिर सवैले धार्मिक आस्था राख्ने प्रसिद्ध मन्दिर हो । मन्दिर परिसरमा त्रिशुल, घण्ट, पानस, द्धारपाल र शार्दुल देवीका धातुमुर्तिहरु रहेका छन् । परापूर्व काल देखि देवी भगवतीप्रति जनमानसमा गहिरो आस्था र श्रद्धा रहेकाले टाढा टाढावाट आफ्नो मनो–काँक्षा पुरा हुन्छ भन्ने विश्वास राखी देवी दर्शन, पाठपुजा र आफूले कवुल गरेका भाकल चढाउन कुलदेवता मानी मन्दिर आउने गर्दछन् । यो क्रम पछिल्लो समय बढ्दो छ ।
जिल्लाकै धार्मिक धरोहरको रुपमा रहेको यो मन्दिर पुरातत्व बिभागमा प्राचीन सम्पदाको रुपमा सुचीकृत रहेको छ । कालिका भगवतीको रुपमा रहेको यो मन्दिरको स्थापना कस्ले कहिले निर्माण गरेको हो भन्ने विषयमा आज सम्म कहि कतैबाट ठोस प्रमाण प्राप्त भएको छैन,यद्यपी पुरातत्व बिभागबाट बिसं २०४५ मा प्रकाशित सम्पदा सर्भेक्षण प्रतिबेदनमा यो मन्दिर २ सय ८० बर्षअगाडि निर्माण भएको बताइएको छ । मन्दिरसंग संबन्धित सवैभन्दा पुरानो लिखित सामग्री भने बिसं १८६७ को गुठी पत्र हो । कालिका भगबती मन्दिरको लागि खेत गुठी राखेको बिषय यसमा उल्लेख भएको पाइन्छ । यसै गुठीको स्रोतमा हरेक दिन बिहान साँझमा हुने नित्य पुजा नाथ सम्प्रदायका पुजारीहरुद्धारा सञ्चालन हुदै आएको छ । ।
आजको बदलिंदो समय परिबेशमा कुतबाट मात्रै दैनिक पुजा सञ्चालन गर्न कठिनाई भएपनि आज सम्म चलिरहेकै छ । प्रत्येक दिन हुने देवीका पुजा परम्परा अनुसार बिहान ब्रम्ह मोहर्तमा मन्दिरको सरसफाई गरी आफु्र श्द्ध भई नगरा ( बाजा ) अनि घण्टी बजाई भगबतीलाई धुप बत्ती चढाई पुजा गरेपछि मात्रै भक्तजनहरुले दर्शन गर्ने, पुजापाठ गर्ने प्रक्रिया शुरु हुन्छ । साभ्m सन्ध्याकालमा पनि बिहान जस्तै धुपबत्ती चढाएर पुजा बिसर्जन गर्ने मन्दिरको परम्परा रहेको छ । प्राय ः सधैजसो भक्तजनहरु देवीदर्शनार्थ मन्दिरमा आउने गर्दछन् साथै धार्मिक महत्वका दिनहरु जस्तै बिजयादशमी,दिपावली चैतैदशै तीज र माघेसक्रान्ति जस्ता पर्वहरुमा भक्तजनको बिशेष भीड हुने गर्दछ । देवी भगबतीलाई पशुबली दिने परम्परा पनि रहेको हुँदा आफ्नो मनोकांक्षा पूर्ण होस भन्ने उद्धेश्य राखी केही भक्तजनहरुले बोका भाले आदीको बली चढाउछन् । भने कसैले नरिवल परेवा फुलभेटी बस्त्र चढाउने पनि गर्दछन् ।

यो पनि स्पष्ट छकी कालिका भगबती मन्दिर नेवार समुदायको बीच बस्तीमा अबस्थित रहेको छ । नेवार समुदायले देवी देवताप्रति बढी आस्था राख्ने गर्दछन् । तुलनात्मक रुपमा नेवार समुदायले अन्य जाती समुदायले भन्दा देवी कालिकालाई इष्ट देवताको रुपमा बढी पुज्ने गर्दछन् । यहाँ नेवार समुदायका हरेक बरबधुले बिवाहको अवसरमा देवी भगबतीलई साक्षी राखी बरले बधुको सिंउदोमा सिन्दुर भरी सफल बैबाहिक जीवनको लागि आशिष लिने प्रचलन छ । यस्तै गरी नेवार कन्याहरुको पनि परम्परा अनुसार गरिने बेल बिवाह ( इही ) र सूर्य दर्शन ( बारा तेयगु ) जस्ता नेवारी संस्कारमा गरिने महत्वपूर्ण कार्यक्रममा भगवतीको दर्शन गरी आशिष लिनु अनिवार्य मानिन्छ ।
ऐतिहासिक रुपमा अगाध धार्मिक आस्थाको केन्द्र मानिने पबित्र थलोमा कुनै बेला पापिष्टहरुको गलत नियतले काम गर्यो यस किसिमको दुखद घटना घट्ला भन्ने यहाँका आम नागरिकको कल्पना बाहिरको बिषय थियो । त्यतिबेलाको तथ्य घटना के हो भने २० बर्ष अगाडि अर्थात २०६३ कार्तिक २० गते मध्यरातमा मन्दिरको ताला तोडी कालापत्थरबाट निर्मित कालिका भगबतीको प्राचीन मूर्ति र केही पुरातत्वका हिसावले महत्व राख्ने बस्तुको चोरी हुन पुग्यो । यस दुखद घटनाले सवैलाई स्तब्ध बनायो । चोरी भएको मूर्ति खोजतलास प्रक्रियामा हरसंभव प्रयास भए, समाजका सवै पक्ष बेस्सरी खटे तर मूर्ति पत्ता लाग्न सकेन । यही बिषयलाई लिएर २०६३ साल माघ २९ गतेका दिन समाजसेवी स्व. भूपाल सिंह कार्कीको अध्यक्षतामा मन्दिर प्रांगणमा प्रजिअ, स्रक्षा निकायका प्रमुख, स्थानीय बिकास अधिकारी र समाजका अग्रज ब्यक्तिहरुको सहभागितामा बसेको भेलाले गरेको बिस्तृत छmलफल पश्चात केशव कर्माचार्यको अध्यक्षतामा १३ सदस्यीय कालिका मन्दिर संरक्षण तथा सुब्यवस्थापन समिति गठन गरी मूर्ति खोजी र मन्दिर ब्यवस्थापन कार्य संगसंगै अगाडि बढाउने निर्णय भयो । उक्त निर्णय अनुसार समितिबाट पनि चोरी भएको मूर्ति खोजीकार्यमा पहलकदमी ब्यापक रुपमा लिइयो तर दुखद कुरा आजसम्म पनि मूर्ति फेला पर्न नसकेको अवस्था छ । यता त्यसपछिका दिनहरुमा मन्दिर ब्यवस्थापन तर्फ भने उल्लेखनीय कार्य भएको छ । यस अन्र्तगत प्रथमतः खण्डित रहेको पुजापाठ सुुचारु गरियो भने कालिका भगबतीको मन्दिर संरक्षण समितिलाई आधिकारिक संस्थाको रुपमा मान्यता प्राप्तिको लागि जिप्रकामा दर्ता गर्ने कार्य भयो । यस्तै समितिको अथक प्रयास र सवैको सहयोगमा प्यूठान नगरपालिका –७ पुुुन्यखोला निवासी बासुुदेव पोखरेलबाट पुरानै मूर्तिको झल्को दिनेगरी निर्मित भगबतीको नयाँ मूर्ति बिधिपूर्वक मन्दिरमा प्रतिस्थापन भयो । यसका साथै प्यूठान नपा –४ इन्द्रेडाँडा हाल धनगढी निवासी गोपालमान सिंह भण्डारीबाट जीर्ण भएको मन्दिरको स्थलमा पुरातत्व बिभाग काठमाण्डौबाट स्वीकृत नक्सा बमोजिम कालिकाको नयाँ मन्दिर निर्माण भएको छ । सहयोगी हातहरु बढ्दै जाँदा प्यूठान नपा – ४ बिजुवार निवासी स्व. श्रीप्रसाद प्रधानबाट आफ्ना बुवा आमाको सम्झनामा मन्दिरलाई आबश्यक रहेको जग्गा खरिद गरी मन्दिरको नाममा हस्तान्तरण गर्ने महत्वपूर्ण कार्य भएको छ । नेपाल गुठी संस्थानका तत्कालीन अध्यक्ष डा. शिवराज पण्डितको प्रयासबाट गुठी संस्थानको आर्थिक सहयोगमा जीर्ण पाटीको अहिले पुर्ननिर्माण भएको छ । यस्तैगरी बैकल्पिक उर्जा तथा प्रबर्धन केन्द्रका इन्जिनीयर खलंगा निवासी शुभलक्ष्मी श्रेष्ठको सहयोगमा सोलार बत्ती जडान गरिएको छ । सोलार बत्तीको जडानले मन्दिरमा जुनसुकै बेला पनि पुजापाठ भर्जन किर्तन लगायतका धार्मिक गतिबिधिमा सहजता थपेको छ । यसैगरी खानेपानी धारा ब्यवस्थापनमा ओम प्रकाश क्षेष्ठको सहयोग पनि महत्वपूर्ण रहेको छ । मन्दिरको भौतिक संरचना निर्माणको लागि पुरातत्व बिभाग काठमाण्डौ, लुम्विनी प्रदेश सरकार र प्यूठान नगरपालिकाको आर्थिक सहयोग रहेको छ । यसका अतिरिक्त स्थानीय भक्तजनहरुबाट स्वतस्फूर्त रुपमा बिभिन्न सामग्रीहरु ( जोडी पानस, जोडी सिंहका मूर्ति, आरामदायी बेन्च कुर्र्सी ऐना घडी, परेवा बस्ने घर र जुत्ता राख्ने रयाक ) उपलब्ध भएको छ, हुँदै आएको छ । भने मन्दिरलाई ब्यबस्थित, आकर्षक रुप दिने र पूर्वाधारयुक्त रुप दिन क्रमशः सहयोगी हातहरुको आकर्षण थपिंदै गएको छ भने सहयोग गर्नेहरुको योगदान सुरक्षित गरी पारदर्शितामा मन्दिर ब्यवस्थापन समितिले पनि उच्च रुपमा ध्यान दिएको छ ।
यसरी हेर्दा यी हालसम्म भएका यी सवैखाले गतिबिधि र भक्तजनहरुको समर्पणलाई हेर्दा जनमानसमा कालिका भगबतीप्रति अगाध आस्था, श्रद्धा र बिश्वास जसरी रही आएको छ । समय अनुसार बढ्दै गइरहेको यो जनआस्थालाई ध्यानमा राखी केही ब्यवस्थाकीय सुधारका साथै निर्माण कार्य परा गरी ब्यवस्थित रुपमा प्रचार प्रसारमा ध्यान पुरयाउनु पर्ने खाँचो समयले खोजेको छ । धार्मिक पर्यटनको बहस चलिरहेको यो बेला नेपालगन्जको बागेश्वरी, पोखराको बिन्धवाबासिनीको झल्को आउने गरी लुम्विनीको धार्मिक गन्तब्यको रुपमा जोड्ने आधार र संभावनाहरु प्रशस्त छन् । यसका लागि अवका दिनमा ब्यापक पहलकदमी लिंदै बिशेष महत्वपूर्ण धार्मिक सम्पदाको रुपमा स्थापित गर्न र यस मन्दिरको महिमा आगामी दिनहरुमा उचो रुपमा स्थापित गर्न आम सरोकारवाला पक्षको थप भूमिका र सहयोग आबश्यक छ ।
लेखक ः यस कालिका भगबती मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष हुनुहन्छ ।
कमेन्ट गर्नुहोस !