शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

एमालेका हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त


एमालेका हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।

सत्तारूढ गठबन्धनमा प्रदेश १ सरकारको नेतृत्व एमालेले गर्ने सहमति जुटेसँगै कार्की प्रदेशसभाको दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका हुन्।

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका छन्।

उपधारा २ मा कुनै पनि दलको एकल बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्था अनुसार प्रदेश प्रमुख खापुङले १ साताको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न गत पुस १७ गते आह्वान गरेका थिए। दाबी पेस गर्ने समय आइतबार साँझ ५ बजेसम्मको थियो।

मुख्यमन्त्री नियुक्त भएका कार्की झापाको निर्वाचन क्षेत्र नम्बर ५ ‘क’बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी एमाले स्थायी कमिटी सदस्य र प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हुन्।

उनले प्रदेशसभाको दोस्रो कार्यकालका लागि बहुमतसहित प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।

एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले सत्ता गठबन्धनमा आवद्ध पार्टीका संसदीय दलका नेताको हस्ताक्षर र बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित तोकिएको समयभित्रै दाबी पेस गरेपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको बताए।

कार्कीलाई मुख्यमन्त्री बनाउन सत्तारूढ गठबन्धनमा आबद्ध ४ दलका ६० जना सांसद (प्रदेशसभा सदस्य)ले समर्थन गरेका थिए।

प्रदेशमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)सहितको सत्तारूढ गठबन्धन छ। एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाको संसदीय दलका नेताको हस्तक्षरसहितको दाबीपत्र कार्कीले बुझाएपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

‘हामी हस्ताक्षरकर्ता दलहरूको प्रतिनिधित्व प्रदेशसभा सदस्य संख्या कूल प्रदेशसभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँ (कार्की)लाई नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्ति गरिदिनु हुन अनुरोध छ,’ गठबन्धनका तर्फबाट प्रदेश प्रमुखलाई बुझाएको दाबीपत्रमा उल्लेख गरिएको छ।

उनलाई मुख्यमन्त्री बनाउन दाबीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बूसहितका प्रदेशसभा सदस्यहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। मुख्यमन्त्रीको शपथ भने सोमबार दिउँसो २ बजेलाई राखिएको छ।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। तर, कार्की झण्डै दुईतिहाइ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

प्रदेशसभामा ठूलो दल एमालेका ४० सांसद छन्। माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना सांसद रहेका छन्। प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी)का ४ जना सांसद छन्।

यसअघि माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गर्दै आएको थियो। तर, शीर्ष नेताहरूबीचमा भएको छलफलमा प्रदेश १ को मुख्यमन्त्री एमालेले लिने सहमति भयो। त्यसपछि माओवादी आफ्नो दाबीबाट पछि हटेको हो। प्रदेशको सभामुख माओवादीले लिने सहमति शीर्ष तहमा भएको छ।

प्रदेशमा मुख्यमन्त्री नियुक्त भएपनि सरकार विस्तारका लागि सत्तारूढबाट मन्त्रीहरूको टुंगो लागिसकेको छैन। कुन मन्त्रालय कसले लिने भनेर दलहरूबीचमा सहमति पनि भइनसकेको बताइएको छ। एमाले प्रमुख सचेतक भण्डारी शपथग्रहणका लागि मुख्यमन्त्री जाँदा पहिलो चरणमा सानो मन्त्रिपरिषद् बनाउने तयारी रहेको बताउँछन्

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top