सुचना पोखरेल
प्यूठान,
गत असोज १८ गतेदेखिको निरन्तर बर्षाले जिल्लाको प्रमुख खेतीयोग्य जमिन झिम्रुक फांटमा भित्र्याउने तरखरमा रहेको धानवाली क्षत बिक्षत अवस्थामा पुगेको छ । खराई लगाउनका लागि काटेर बिच्छयाइएका धान अहिले पानीमा डुवेर उम्रन थालेका छन । पाकेर लटरम्म परेका धान पनि ढलेर डुवानमा परेका छन् । निरन्तरको बर्षाले धान बिस्तारै कुहिने अवस्थामा पुगेको छ । जिल्लाको कुल खेती योग्य क्षेत्रफलको ४२ हजार हेक्टर क्षेत्रफल मध्ये ६ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
धानबालीलाई आबश्यक पर्ने साउने महिनामा चर्को खडेरी र भित्र्याउने बेलाको यो झरीले खेतीमा पुरयाएको असरले प्यूठानका कृषकहरु अत्यन्तै चिन्तित छन् । धान काटेर बसेकाहरुलाई त झन तन घरतिर मन भने फाँटतिर नै छ ।
यो बेला प्रकृतिले पनि कृषकलाई थिलथिलो पारेर ठगिरहेको छ । बर्षा पश्चिम क्षेत्रमा आइतवार सम्म जारी रहने मौषम बिज्ञान बिभागको प्रक्षेपणले धानबाली ठूलो मात्रामा कुहिएर जाने र यसले प्यूठानमा खाद्यान्न संकट गहिरिने कृषि क्षेत्रका अधिकारीहरुको बुझाई छ ।
कमेन्ट गर्नुहोस !