बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

सुकुम्बासीको नाममा हुकुमबासीको बोलबाला अन्त्य हुनुपर्छ : अध्यक्ष महतरा






प्युठान । झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले सुकुम्बासीको नाममा हुकुमबासीको बोलबाला अन्त्य हुनुपर्ने बताएका छन् । असली सुकुम्बासीले भूमि नपाउने र हुकुमबासीको बोलबाला देखिएकोले यो अब अन्त्य गरि भूमिहीनको समस्या समाधानका लागि परिणाम निकाल्ने र जनताले महसुस गर्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका हुन ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति प्युठानले आज झिमरुक गाउँपालिकामा गरेको स्थानीय तह र सरोकारवालाहरुसँगको कार्यक्रममा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोवासीको व्यवस्थापनमा कुनै कसर नराखी अगाडि बढ्नु पर्ने उनले बताए ।

उनले भूमिलाई समुचित ढङ्गबाट व्यवस्थापन गर्दै आयोगको कार्यविधि अनुसार असली सुकुम्बासीहरुको पहिचान गरि अगाडि बढ्न र ऊनीहरुको समुचित ब्यवस्थापन गर्न आग्रह गरे । ‘भूमिहीन दलित, वास्तविक सुकुम्बासी भूमि पाउनबाट बञ्चित हुनुहुँदैन’, उनले भने । कसैलाई पनि आग्रह पुर्वाग्रह भएर काम नगर्न वडा अध्यक्ष तथा वडा सचीवहरुलाई उनले आग्रह गरे ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धर्मराज जिसीले भूमिसम्बन्धी समस्या समाधानका लागि जिल्ला समन्वयको तर्फबाट गर्नुपर्ने काम, सहयोग, समन्वय, सहजीकरणका साथै अन्य आवश्यक नीतिगत काममा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीसँगै कमैया, हलिया, कमलरी, हरुवा, चरुवाको समस्या हामी सबैको साझा समस्या भएकोले यसको समाधानको लागि पहलकदमी लिनुपर्ने उनले बताए । कार्यक्रममा राष्ट्रिय भूूमि आयोगका विज्ञ सदस्य रोहन महतराले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि बनेको कार्यविधिअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।


झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले आयोगको मर्म र भावनाअनुसार स्थानीय तहमा रहेका असली सुकुम्बासी जनताको मनोबल बढ्ने गरी काम गर्न सुझाए । कार्यक्रममा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, राष्ट्रिय भूमि आयोगका सदस्य रुद्र विष्ट र राधा घिमिरे वडा अध्यक्ष वडा सचीव लगाएतको उपस्तिथि रहेको थियो ।

राष्ट्रिय भूमि आयोग प्युठानले ९ वटा स्थानीय तहमध्ये ६ वटा पालिकामा अभिमुखिकरण कार्यक्रम सकिएको ३ वटा पालिकामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको सदस्य रोहन महतराले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top