रुस र युक्रेनबीच अन्न निर्यात खुलाउनेबारे महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । टर्कीको इस्तानुबलमा भएको लामो वार्तापछि दुवै पक्ष खाद्यान्नको निर्यात खुलाउन सहमत भएका हुन् ।
सिधा युद्धमा रहेका रुस र युक्रेनले सम्झौतामा हस्ताक्षर गर्दा एउटै टेबलमा भने बसेनन् । सम्झौतामा पहिला रुसका रक्षामन्त्री सर्गेई सोयुगुले हस्ताक्षर गर्नुभयो । त्यसपछि अलग्गै टेबलमा युक्रेनका पूर्वाधारमन्त्री ओलेक्सान्दर कुब्राकोभले हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ ।
सम्झौता अनुसार अब युक्रेनी बन्दरगाहमा रोकिएको हजाराैँ टन खाद्यान्न कृष्ण सागर हुँदै विश्व बजारमा निर्यात हुनेछ । यो सम्झौता १ सय २० दिनसम्म लागू हुनेछ । दुई देशको युद्धले विश्वमा भैरहेको खाद्यान्न अभाव र मूल्यवृद्धिमा कमी आउने अपेक्षा गरिएको छ । दुई पक्षले चाहेको अवस्थामा सम्झौता थप लम्बिन सक्नेछ ।
सम्झौता कार्यान्वयनको सहजीकरण गर्न इस्तानबुलमा एउटा संयुक्त कार्यालय पनि स्थापना गरिनेछ । यो कार्यालयमा संयुक्त राष्ट्रसङ्घ, टर्की, रुस र युक्रेनका कर्मचारी रहनेछन् । गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेयता युक्रेनबाट विशेषगरी गहुँ, मकै र सूर्यमुखीको तेल निर्यात नहुँदा त्यसको असर विश्वभर परेको छ ।
गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण थालेको थियो । आक्रमणको झन्डै ६ महिनापछि सम्झौता भएको हो । पछिल्लो सम्झौता युद्ध अन्त्यको बाटोमा एउटा महत्त्वपूर्ण सुरूवात हुनसक्ने ठानिएको छ ।
कमेन्ट गर्नुहोस !