
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव अलग हुने स्थितिमा पुगेका छन् ।
नेताहरुका अनुसार दुई नेताबीच बुधबार भएको भेटले आपसी मतभेद कम गर्नुको सट्टा अविश्वास बढाएको छ । र, असार २७–२८ मा वीरगञ्जमा बोलाएको केन्द्रीय समितिको बैठकले पार्टी विभाजनलाई औपचारिकता दिने सम्भावना छ ।
गत साउनमा महन्थ ठाकुर पक्षलाई अल्पमतमा पार्ने बेला एक ठाउँमा उभिएका यादव र भट्टराई पक्षबीच झण्डै एक वर्षदेखि विवाद चलिरहेको थियो । स्थानीय चुनावअघि नै भट्टराई पक्षले त्यही बेला सके बहुमत जुटाउने नभए केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत जुटाएर नयाँ पार्टी बनाउने तयारी गरेको थियो ।
नजिकै चुनाव आइसकेका कारण त्यतिबेला भट्टराई पक्ष रोकियो । यादव पनि पार्टी सञ्चालनका लागि भट्टराई र वरिष्ठ नेता अशोक राईलाई राखेर हेडक्वार्टर बनाउने तथा स्थानीय चुनावको उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार राईलाई दिन सहमत भए
तर अध्यक्ष यादवले सहमति पालना नगरी एकलौटी ढंगले पार्टी चलाएको भट्टराई पक्षको आरोप छ । त्यही कारण चुनावलगत्तै भट्टराई पक्षले सके बहुमत जुटाउने, नभए पार्टी फुटाउन आवश्यक संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशतको समर्थन जुटाएर नयाँ पार्टी बनाउने तयारी थाल्यो । पछिल्लो समय भने पार्टीको समीकरणमा हेरफेर भयो ।
भट्टराईतिर लागेका ईस्तियाक राई, प्रदीप यादव लगायतका नेताहरु उपेन्द्र यादवतिर ढल्किए । बहुमत पु¥याउने दाबी गरेको भट्टराई पक्षमा ४० प्रतिशत पुग्न पनि हम्मेहम्मे पर्ने अवस्था आएको एक कार्यकारिणी सदस्यले जानकारी दिए । तर अध्यक्ष यादवसँग एउटै पार्टीमा मिलेर बस्ने अवस्था पनि छैन ।
त्यसैले संघीय परिषद्का अध्यक्ष भट्टराईले नै अध्यक्ष यादवलाई भेटेर छलफल गर्ने प्रस्ताव राखे । संसदीय दलको कार्यालय, सिंहदरबारमा बुधबार दुई नेताबीच करिव दुई घण्टा वान टू वान वार्ता भयो । लगत्तै बसेको संसदीय दलको बैठकमा यादवले भट्टराईले आफूसँग विदाइ भेट गरेको ब्रिफिङ सुनाए ।
यादवले सञ्चार माध्यमहरुसँग संघीय परिषद् अध्यक्ष डा. भट्टराईले हार्दिकताका साथ अलग हुने प्रस्ताव राखेको र आफू पनि सहमत भएको बताए । भट्टराई निकट नेताहरुले पनि अध्यक्ष यादवको भनाइलाई पुष्टि गरेका थिए ।
तर बिहीबार आफू निकट कार्यकारिणी सदस्यहरुसँग भएको भेटमा भट्टराईले अहिले नै अलग भइहाल्ने प्रस्ताव आफूले नराखेको बताएका छन् । कार्यकारिणी सदस्य प्रशान्त सिंहका अनुसार अध्यक्ष यादवसँग भएको भेटबारे भट्टराईले बिहीबार ब्रिफिङ गरेका थिए ।
एकल निर्णय गर्दा पार्टीमा समस्या आउने भन्दै परामर्श गरेर मात्र अघि बढ्न सचेत गराएको भट्टराईले बताए । जीवन्त पार्टीमा अन्तरसंघर्ष हुनु स्वभाविक भएकाले यसलाई व्यक्तिगत रुपमा लिन नहुने र अतिरञ्जित प्रचार गर्न नहुनेमा आफूले जोड दिएको उनले बताए ।
यदि मिल्नै नसक्ने अवस्था आए हार्दिकताका साथ छुट्टिनुपर्नेमा आफूले जोड दिएको भट्टराईको ब्रिफिङ थियो । यसरी छुट्टिँदा एकले अर्कालाई कारबाही गर्ने जस्ता काम गर्न नहुनेमा समेत जोड दिएको भट्टराईले सुनाए ।
‘पार्टीमा देखिएका समस्याहरु समाधान गरौं भन्ने नै हाम्रो जोड हो,’ कार्यकारिणी सदस्य सिंह भन्छन्, ‘हुँदै भएन र छुट्टिनुपर्ने अवस्था आयो भने पनि सहमतिमै छुटौं भन्ने हो । आरोप प्रत्यारोप नगरौं भन्ने मात्र हो ।’ यादव पक्षले भने छुट्टिए झैं गरी प्रचार गरिएको भट्टराई पक्षको गुनासो छ ।
अध्यक्ष यादवले भने भट्टराईले नै अलग हुने प्रस्ताव राखेको र आफूले सहमति मात्र जनाएको बताएका छन् । बिहीबार आफूलाई भेट्न आएका नेताहरुसँग पनि उनले आफूले पार्टीबाट अलग हुनुस् नभनेको, मिलेर काम गरौं भन्ने नै चाहेको, तर एकसाथ नबस्ने निर्णयमै पुगेको भए नरोक्ने मात्र बताएको सुनाएका छन् ।
उनले केन्द्रीय समितिको बैठक यही असार २७ र २८ गते वीरगञ्जमा बोलाएका छन् । आफूहरुसँग परामर्श नगरी बैठक बोलाएको भन्दै भट्टराई पक्षले असन्तुष्टि जनाएको छ ।
शुक्रबार नेताहरुसँग परामर्श गरेपछि जाने कि नजाने भन्ने निर्णय हुने एक कार्यकारिणी सदस्यले बताए । यादव पक्षले भने सबैलाई खबर गर्ने, तर भट्टराई पक्ष नआए अघि बढ्ने तयारी गरेको देखिन्छ ।
नेताहरुका अनुसार २३ वैशाख २०७६ मा एकतामा आएका भट्टराई र यादव यो बैठकसँगै अलग हुने बाटोमा लाग्ने सम्भावना छ । एक पदाधिकारी भन्छन्, ‘दुबै पक्ष एक ठाउँमा बस्ने चाहेको छैन । निर्णयमा पुग्न केही दिन लाग्ला ।’
कमेन्ट गर्नुहोस !