शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

काठमाण्डाै उपत्यकामा हैजाको प्रकोप बढ्दो, अहिलेसम्म १४ जनामा सङ्क्रमण पुष्टि




काठमाण्डौ उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । हिजो थप दुई जनामा हैजा पुष्टि भएको छ ।
योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म काठमाण्डौमा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिनुभयो। उहाँका अनुसार हैजा पुष्टि हुनेमा चार जना महिला र १० जना पुरुष रहेका छन् ।
काठमाण्डौ उपत्यकामा हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको पाइएको छ । धाराको पानी, बोतल/जारको पानी र जमिनमुनिको पानीको चार वटा नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो । त्यस्तै ललितपुरबाट लिएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमुनामा इकोलिन फेला परेको छ ।
छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम मानिन्छ । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो । यो दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ । सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ ।
निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लागेपछि तौल घट्दै गएमा, पेट दुखेमा, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने र जलवियोजन हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासको आग्रह छ
हैजाबाट बच्न पानी उमालेर खान, सकेसम्म घर बाहिरका खाना र बासी खानेकुरा नखान पनि डाक्टरको सुझाव छ । सङ्क्रमण फैलने जोखिम रहेकाले सचेत रहन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मिश्राको आग्रह छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top