
२०७८ माघ २६
राधिका भुसाल
प्यूठान । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले माण्डवी गाउँपालिका ३ जस्पुरमा फ्रिज, पंखा र एसी (एअर कंडीशनर) मर्मत तथा सम्भार तालिमको बुधबार उद्घाटन गरेको छ ।
स्थानिय युवाहरुलाई सिप सिकाइ स्वदेशमै आत्मनिर्भर बनाउने उदेश्यका साथ सञ्चालन भएको उक्त तालिम ४५ दिन सम्म चल्ने घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका प्रमुख खेम बहादुर थापाले बताए । ‘जिल्लामा युवाहरुको आवश्यकतालाई मध्यनजर गरि हामीले प्राविधिक सिप सिकाउन तर्फ जोड गरेका छौं’ प्रमुख थापाले भने–‘हातमा सिप भएपछि जुनसुकै ठाउँमा रोजगारी पाउनका साथै थोरै लगानीमा पनि उद्यम तथा व्यवसाय सञ्चालन गर्न सफल भइने हुंदा यस्ता प्राविधिक सिपहरुलाई प्राथमिकता दिएका छौं ।’ स्थानिय सरकारले पनि भौतिक पूर्वाधार निर्माणमा मात्र ध्यान नदिइ सिप सिकाइ स्वदेशमै आत्मनिर्भर बन्न सक्ने बाटो तर्फ उन्मुख बनाउनु पर्ने उनले बताए ।
तालिम उद्घाटन सत्रमा बोल्दै माण्डवी गाउँपालिका ३ का वडा अध्यक्ष डम्बर पौडेलले यस्ता प्राविधिक सिपहरु स्थानिय तहले प्रमुख प्राथमिकतामा राखेर युवाहरुलाई सिकाउनु पर्ने बताए । बैदेशिक रोजगारबाट फर्केका युवालाई उनीहरुले विदेशमा सिकेका सिपलाई प्रयोग गर्नका लागि स्थानिय सरकारले सम्बोधन गर्नु पर्ने बताए । तालिम सफलताको शुभ कामना दिदंै तालिम सिक्नका लागि मात्रै नभई केही प्रतिफल लिने हिसावले आफुहरुलाई तयार गर्न अनुरोध गरेका छन् ।
तालिममा माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका र ऐरावती गाउँपालिकाका गरि ११ जना पुरुष र १ जना महिला गरि १२ युवा सहभागि भएका छन् । ४५ दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षक लव कुमार अधिकारी हुन । प्रशिक्षक अधिकारीले प्यूठान जिल्लाका सबै स्थानिय तहले आफ्नो क्षेत्र भित्र रहेका युवाहरुलाई सिप सिकाउन तर्फ लगानी लगाउनु पर्ने बताए । पछिल्लो समय कोभिडका कारण वैदेशिक रोजगार छोडेर स्वदेश फर्केका युवाहरुको सिप पहिचान गरि व्यवसाय तर्फ जोड्न स्थानिय सरकारले जिम्मेवारी रहेकोले बजेट विनियोजन गरि ति युवाहरुको आवश्यक सम्बोधन गर्नुपर्ने बताए । तालिम उद्घाटन सत्रको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका कर्मचारी लक्ष्मण रावतले गरेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले चालु आर्थिक वर्षको यो समाचार तयार पार्दा सम्म नौ प्रकार सिप मुलक तालिम सञ्चालन गरेको छ । यी मध्ये ३० दिने सैलुन तालिम नौ बहिनी गाउँपालिका र गौमुखी गाउँपालिका, ऐरावती गाउँपालिकामा १५–१५ दिने दुइ वटा समुहलाई अम्रीसो कुचो बनाउने तालिम सम्पन्न भइसहेको छ भने जिल्लाका विभिन्न ठाउँमा अन्य तालिमहरु १५ दिने आरन आधुनिकरण तालिम, ३ महिने बुटिक तालिम, ३ महिने सिलाई कटाइ तालिम, ४५ दिने डल्स बनाउने तालिम, ४५ दिने पञ्चेबाजा बनाउने तालिम र मोटर ड्राइभिङ तालिम सञ्चालनमा रहेको छ ।
कमेन्ट गर्नुहोस !