
प्यूठान, जिल्लामा विद्युतको अनियमितताले उपभोक्ता हैरान छन् । लामो समय बन्दाबन्दीको मारबाट भरखरै सञ्चालनमा आउन थालेका उद्योगी व्यवसायी तथा उपभोक्ताहरुलाई विद्युत अनियमितताले थप समस्यामा पारेको छ ।
जिल्लामा नियमित विद्युत आपूर्ति नहुँदा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरु, वित्तिय सस्था, उद्योगी व्यापारीहरु प्रत्यक्षरुपमा सास्ती खेपिरहेका छन् । त्यति मात्रै होइन एफ.एम रेडियो, साना लघु तथा घरेलु उद्योग, कुखुरापालक, काठ तथा फर्निचर उद्योग, प्रेस संचालकहरुले समेत समस्या भोग्दै आएका छन् ।
प्युठान नगरपालिका वडा नं ४ विजुवार स्थित मेघा फर्निचर उद्योगका सञ्चालक सुर्यचन्द्र खनालले विद्युत नियमित नहुँदा काम गर्न समस्या भएको बताए । दैनिक ज्यालादारी राखेका व्यक्तिहरुलाई सोचे जस्तो काम नहुँदा ज्याला दिन समेत धौधौ भएको उनको भनाई छ । ‘विद्युत आउने जाने हुदा समस्या भएको छ, खनालले भने,–‘लाईन जाने आउने समस्याले मेसिन समेत बिग्रने सम्भावना बढ्ेको छ । ’ विद्युत सुधार नभएमा जिल्लाका धेरै उद्योगी व्यवसायीहरु संकटमा पर्ने स्थिती पैदा हुने उनले बताए । प्युठानमा पछिल्लो केहि दिन देखी विद्युत आपूर्ति सेवा नियमित हुन सकेको छैन् । गर्मी मौषममा विद्युत सेवा नियमित बन्न नसक्दा समस्यामा परेको उपभोक्ता बताउँछन । मिनेट–मिनेटमा आउने–जाने विद्युत नियती नै बन्न पुगेको छ ।
विद्युत अनियमितता हुनु नौलो कुरा होइन । बर्षेनी बर्षायाममा जिल्लाबासीले भोग्दै आएको समस्या हो । जिल्लाबासीले अघोषित रुपमा गरिएको लोडसेडिङको महशुस भएको बताउन थालेका छन् तर वुटवल पावर कम्पनी दारिमचौरका प्रमुख श्याम थापाले भने दाङको लमही स्थित राष्ट्रिय प्रशारण लाईनमै समस्या हुदाँ विद्युत नियमित हुन नसकेको बताए । प्युठानबाट उत्पादित विद्युत जिल्लासंगै छिमेकी जिल्लाहरु रोल्पा, अर्घाखाँची गएको ३३ केभी प्रशारण लाईनमा आउने खराबीले पनि विद्युत नियमित हुन नसकेको उनले बताए । राष्ट्रिय प्रशारण लाईनमा समस्या आएमा लामो समय विद्युत जाने गर्दछ, थापाले भने ‘पछिल्लो समय जिल्लामै आएको खराबी, हावाहुरी, रुखहरु ढल्ने समस्याले विद्युत नियमित हुन सकेको छैन् ।’
छिमेकी जिल्ला अर्घाखाँची जाने लाईनमा धेरै हागाहरु छन्, थापाले भने,–‘कुनै ठाउँमा समस्या आयो भने कन्ट्रोल गर्ने मेकानिजम छैन् ।’ यसले गर्दा लाईन काटेर मात्र ठाउँ पत्ता लगाउनुपर्नेले पनि विद्युत नियमित हुन नसकेको थापाको भनाई छ । पछिल्लो समय विद्युत जाने क्रम बढेकाले समस्या समाधानका लागि विद्युत लाईनका छेउमा भएका रुखहरु काट्नुपर्ने, विभिन्न ठाउँमा मर्मतका कामहरु गर्न आवश्यक रहेको उनले बताए ।
विद्युत प्रशारण लाईन लामो भएकाले जिल्लामा नियमित विद्युतमा समस्या आएको नेपाल विद्युत प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख जयानन्द बोगटीले बताए । प्युठान नगरपालिका वडा नं ८ दम्तीमा निर्माणाधिन सबस्टेशन सञ्चालनमा आएमा समस्याको समाधान हुने उनले बताए । विद्युत नियमित नभएपछि जिल्लामा रहेका नेपाल विद्युत प्राधिकरण र बुटवल पावर कम्पनी लिमिटेड संग समन्वय र सहजीकरण भईरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए ।
सवस्टेशनले पूर्णता पाउन सकेन
विद्युत नियमितताको लागि जिल्लाबासीले प्रतिक्षा गरिरहेको सवस्टेशन बनेपनि प्राविधिक समस्याका कारण लामो समय देखि अलपत्र छ । प्युठान नगरपालिका–८ दम्तीमा सबस्टेशनको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगंजका ईन्जीनियर ज्ञानबहादुर फर्सालले जानकारी दिए । वहुवर्षिय योजना अन्र्तगत सवस्टेशन निर्माण कार्य, कन्ट्रोल भवन र स्टाफ क्वाटर निर्माण भएको छ भने ३३ केभि प्रशारण लाईन तथा ११ केभि वितरण लाईनको लागि पोलहरु गाड्ने र तार तान्ने काम बाकी रहेको उनले बताए । केहि सामाग्रीहरु आएपनि कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीले पनि काममा प्रभाव पारेको उनले बताए । काम सुरु भएको ६ महिनामा काम सकिने जनाईएको छ ।
कमेन्ट गर्नुहोस !