शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

बैदेशिक रोजगार ः चुनौंति र अवसर


शिवराज पण्डित (पीएच.डी.)
सन् ६० को दशक देखि नेपालीहरु अध्ययन र रोजगारीका सिलसिलामा विदेश जाने क्रम सुरु भएको देखिन्छ (मिश्र,२०७०) । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कूल जनसंख्याको ७.२५ प्रतिशत जनशंख्या नेपाल बाहिर बसोवास गरेको देखिन्छ । साथै कूल जनसंख्याको १२.७३ प्रतिशत सकृय जनशंख्या (१५–५९) नेपाल बाहिर बस्ने गर्दछन् । यो जनसंख्या नेपालको सकृय जनसंख्याको आधा भन्दा बढी हो । विभिन्न अध्ययनहरुले झण्डै ६४ लाख नेपालीहरु अन्तराष्ट्रिय श्रम बजारमा कार्यरत रहेको अनुमान गरेकाछन् । श्रम तथा रोजगार मन्त्रालय (सन् २०१४) को प्रतिवेदन अनुसार वार्षिक ५ लाख २० हजार यूवाहरु श्रम स्वीकृति लिएर विदेश गएको देखिन्छ । यो संख्या भित्र भारत जाने र भारत हुंदै लुकिछिपि तेस्रो मूलुक जानेहरुको संख्या पर्दैन । यसले के देखाउंछ भने कति नेपालीहरु विदेशमा छन् यकिन तथ्यांक भेटिदैन् । गत् आ.व.(२०७६÷०७७) को बिप्रेषण(रेमिट्यान्स) को तथ्यांक हेर्दा झण्डै ७ खरब रुपैंया वैदेशिक रोजगारीबाट नेपाल भित्रिएको थियो । यो रकम नेपालको समग्र अर्थतन्त्रको करिव ३० प्रतिशत हो । विभिन्न अध्ययनहरुले झण्डै ५० प्रतिशत घरधूरी बैदेशिक रोजगारसंग प्रत्यक्ष जोडिएको देखिन्छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को असर र प्रभाव नेपालको अर्थतन्त्रसंगै शिक्षा,स्वास्थ्य,जस्ता आधारभूत कुराहरुमा पर्ने देखिन्छ । बैदेशिक रोजगार नेपालको ग्रामिण अर्थतन्त्र सवलीकरण गर्ने प्रमुख आधार हो । महामारीको असर र प्रभाव कुन क्षेत्रमा के कति पर्दछ ,अहिले नै आंकलन गर्न संभव छैन,महामारी कति लम्बिन्छ त्यसले निर्धारण गर्ने कुरा हो । बैदेशिक रोजगार बोर्डले हालै प्रकाशित गरको सूचना अनुसार खाडी क्षेत्रमा मात्र एक लाख सत्ताइस हजार ब्यक्तिहरु भिसा र रोजगारी गुमेका कारण अलपत्र परेकाले तत्काल उद्धार गर्नु पर्ने र त्यस्तै झण्डै दुई लाख साठी हजार ब्यक्तिहरु अन्तराष्ट्रिय हवाई उडान सुचारु हुंदा वित्तिकै नेपाल फर्कने तयारीमा रहेको बताएको छ । नेपाल– भारत सिमानामा हजारौं अलपत्र छन् । कम्पनी बन्द भएका कारण भारत लगायत विश्वका अन्य मूलुकहरुबाट लाखौं युवाहरु नेपाल आउन सक्ने विभिन्न घटनाक्रमले देखाएको छ । बैदेशिक रोजगारीमा गएका एक तिहाइमा मात्र विदेशको रोजगारी छाडी नेपाल भित्रिने हो भने देशको अर्थतन्त्रसंगै सामाजिक जीवनका अन्य क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।
विदेशमा अलपत्र परेका र स्वदेश फिर्ता हुन चाहानेलाई नेपाल भित्रने वाताबरण निर्माण गर्न सम्मानित सर्वोच्च अदालत, राष्ट्रिय मानव अधिकार आयोग र प्रतिनिधिसभाको कानून,न्याय तथा मानव अधिकार समितिले सरकारको ध्यानाकर्षण गराएको छ । तर सरकार विदेशबाट स्वदेश फर्काउने सवालमा उदासिन देखिएको छ । सरकारको तत्कालको उदासिनता भविश्यका लागि चुनौंति हुन सक्ने अनुमान गरिएको छ ।
कोभिड–१९ को महामारीले अर्थतन्त्रमा पर्ने प्रभावको विषयमा विश्वब्यापी रुपमा विभिन्न चर्चा,अध्ययन र खोज भए पनि राष्ट्रिय जीवनको अन्य क्षेत्रमा पर्ने प्रभाव र असरका बारेमा कमै चर्चा भएको पाइन्छ । महामारीको प्रभाव बहुआयामिक प्रकृतिको हुने र यसले सामाजिक,सांस्कृतिक,राजनैतिक र वातावरणीय क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने कुरामा अधिकांश मानिसहरु सहमत छन् । नेपाल जस्ता विकासिल र कमजोर राजनैतिक प्रणाली भएका देशहरुमा अर्थतन्त्रसंगै राजनैतिक र सामाजिक जीवनका अन्य बढी प्रभावित हुने देखिन्छ ।
चुनौंतिः
अन्तरािष्ट्रय श्रम संगठनले गरेको प्रारंभिक अनुमानमा महामारीका कारण विश्वमा करिब १ अरब ६० करोड ब्यक्तिहरु बेरोजगार हुने देखिन्छ । यो महामारीको प्रभाव विश्वका अन्य देशहरुमा परे जस्तै नेपालको आन्तरिक श्रम बजार पनि पर्ने देखिन्छ । यसबाट नेपालका ६० लाख संगठित र असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुमा प्रत्यक्ष मारमा पर्ने देखिन्छ । त्यस्तै अन्तर्राष्ट्रिय श्रम बजारमा कार्यरत झण्डै ६५ लाख नेपाली कामदारहरु पनि प्रत्यक्ष वा परोक्ष रुपमा महामारीबाट प्रभावित हुने देखियो । राष्ट्र बैंकले गरेको प्रारंभिक प्रक्षेपण अनुसार बैदेशिक रोजगारबाट प्राप्त भै रहेको बिप्रेषणमा चालु आ.व.मा झण्डै डेढ खरब गिरावट हुने अनुमान छ । तर यो अनुमान भन्दा बढी हुने तर्क सम्बद्ध विज्ञहरुले गरेका छन् ।
कोभिड–१९ को चुनौति आर्थिक क्षेत्रले झल्नु पर्ने त छंदै थियो, त्योसंगै नेपाल जस्ता गरिव देशहरुले भोकमरी र सामाजिक ब्यबस्थामा अशान्ति,कलह,सामाजिक विद्रोह जस्ता पक्षहरु पनि प्रभावित हुने देखिन्छ । अपराधहरु वृद्धि हुने नयां नयां अपराधहरु वृद्धि हुने देखिन्छ । यसले राज्यको सुरक्षा संयन्त्र देखि सिंगो राजनैतिक प्रणालीलाई समेत ठाडो चुनौति दिन सक्ने देखिन्छ ।
अर्को महत्वपूर्ण कुरा बिदेशमा अध्ययन वा रोजगारी गुमाई स्वदेश फर्कने युवाहरु सामान्य श्रमिक या अध्येयता मात्र होइनन् । उनीहरु बैचारिक तथा राजनैतिक रुपले प्रशिक्षित युवाहरु पनि हुन । साविक शान्ति तथा पुनर्निमाण मन्त्रालय र मेरो अध्ययन अनुसार तत्कालिन माओावादीका १७०५२ जनमूक्ति सेनाका लडाकुहरु प्रमाणिकीकरण भएका थिए । ति मध्ये १५५८५ जना स्वैच्छिक अवकास लिएका थिए । स्वेच्छिक अवकास लिएका अधिकांश युवाहरु बैदेशिक रोजगारमा गएका थिए । अनमिनले अयोग्य ठहराएका ४००८ लडाकुहरु मध्ये पनि केही युवाहरु बैदेशिक रोजगारीमा गएका थिए । यी र यी युवाहरुले प्रशिक्षित गरेका लाखौं युवाहरु नेपाल भित्रिए भने नेपालको राजनैतिक प्रणालीले ठूलो चुनौंति र क्षति ब्यहोर्नु पर्ने देखिन्छ । संघीय ब्यबस्था र यसका संचालकहरु प्रतिका जनआक्रोष वृद्धि भैरहेको परिदृश्यमा बैदेशिक रोजगारबाट फर्कने युवाहरु गलत बाटोमा लाग्ने र बैकल्पिक शक्तिको खोजि भैरहेका सन्दर्भमा विप्लवको नेकपा देखि अन्य स्वतन्त्र समुहमा आवद्ध हुन सक्ने प्रबल संभावना छ । राजनैतिक, बैचारिक र सैन्य ज्ञान समेत भएका युवाहरुको आवद्धता राज्यले गर्ने ब्यबहारमा भर पर्दछ । राज्य उदासीन भयो भने यसले सिंङ्घो राजनैतिक प्रणाली माथि नै चुनौंति दिन सक्दछ ।
अवसरः
विदेशबाट स्वदेश फर्कने युवाहरुले खाने मुख मात्र लिएर आउंदैनन् । विदेशमा प्राप्त गरेको अनुभव,ज्ञान र सीप समेत लिएर आउने हुन । श्रमश्रील जनशक्तिसंग डराउनु पर्दैन, खुसी हुनु पर्ने हुन्छ । देश निर्माण गर्ने युवा शक्तिले राज्यमा आफ्नो भूमिका खोजे भने त्यो भूमिका र अवसर दिलाउने दायित्व राज्यको हो । विदेशमा आर्जन गरेको ज्ञान र सीप आफैमा पूंजी हो । नेपाल सरकारले परिकल्पना गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना तिनै युवाहरुको अनुभव,ज्ञान र सीपबाट पूरा हुन सक्दछ । नेपालको संविधानले पनि यहि कुराको परिकल्पना गरेको छ । संविधानको धारा ५१(झ)(१)मा बैदेशिक रोजगारीबाट आर्जन गरेको पूंजी,सीप,प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने भन्ने ब्यबस्था रहेको छ ।
जनशंख्याविद् र अर्थशास्त्रीहरु समेतले जनसंख्या वृद्धि र प्रतिब्यक्ति आयका बीच सोझो सम्बन्ध हुने र जनसंख्या बृद्धि हुंदा प्राकृतिक स्रोत साधनहरुको उचित र भरपूर दोहोन र सदुपयोग हुने हुंदा जनसंख्या वृद्धिलाई बोझको रुपमा लिन नहुने तर्क राख्दछन् । आफ्नो देशका नागरिकले स्वदेश फिर्ता हुन्छु भन्दा बोझ मान्ने र विदेशी नागरिकलाई नागरिकता दिन लालायित हुने नेताहरुको रबैया न्यायोचित मान्न सकिन्न ।
बैदेशिक रोजगारबाट फर्कने युवा श्रमशक्तिलाई उनीहरुको रुचि, क्षमता,सीप अनुसार औद्योगिक प्रतिष्ठान र कृषि क्षेत्रमा लगाउन सकिन्छ । साथै उनीहरुले विदेशमा आर्जन गरेको सीपका आधारमा नयां उद्योगहरु निर्माण गर्न सकिन्छ । त्यसको साथै सरकारी स्वामित्वमा रहेका चालु रुग्न र बन्द भएका उद्योगहरुलाई पुनः संचालन गर्न पनि बैदेशिक रोजागारीबाट फर्केका युवाहरुको अनुभव,सीप र प्रविधि हाम्रो लागि अवसर हुन सक्दछ । यसको अलवा परम्परागत खेति प्रणालीलाई विस्थापन गर्दै आधुनकि र ब्यबसायिक खेति प्रणालीको विकास गर्न उनीहरुको सीप महत्वपूर्ण हुन सक्दछ । विदेश जाने बहुशंख्यक नेपालीहरुले सहज रुपमा पाउने रोजगारी भनेको कृषि फर्महरुमा हो । भूमि सम्बन्धी ऐनले अख्तियार गरेको पर्ति वा बांझो जग्गा राख्न नपाउने नीतिलाई ब्यहारिक रुपले कार्यान्वयन गर्न पनि बैदेशिक रोजगारबाट फर्कने युवाहरुको योगदान महत्वपूर्ण हुन सक्दछ ।
निश्कर्ष र सुझावः
विदेशबाट फर्कन चाहाने युवाहरुलाई स्वदेश फर्कने वातावरण राज्यले निर्माण गर्नु पर्दछ । आफ्नो देशमा फर्कन पाउने उनीहरुको नैसर्गिक अधिकार हो । सरकारले विदेश स्थित आफ्ना राजदुत मार्फत सम्बद्ध देशका रोजगारदाता कम्पनीहरुसंग रोजगारी र अवसरको पुर्नस्थापनाका लागि पहल गर्ने कुरामा विशेष पहल गर्नु पर्ने देखिन्छ । यो संगै रोजगारी गुमाएर नेपाल आउन चाहानेहरुलाई ससम्मान नेपाल भित्रिने वातावरण निर्माण गर्नु पर्ने हुन्छ । आफ्नो देशको नागरिक अर्को पराइ भूमिमा दुःख पाइ रोइ कराइ गरेको दृश्य देख्दा सारा नेपालीहरुको स्वाभिमानमा झुकेको छ । स्वदेशमा बसी अवसर खोज्ने युवाहरुलाई उनीहरुको क्षमता,रुचि र अनुभवका आधारमा सेवा र उद्योगको क्षेत्रमा ब्यबस्थापन गर्ने तर्फ राज्यको ध्यान जानु जरुरीछ । त्यसका लागि संघीय सरकारले चालु आर्थिक वर्षलाई रोजगारी वर्ष घोषणा गर्नु पर्दछ । निजी क्षेत्रलाई पनि रोजगार प्रवद्र्धन तथा सिर्जना गर्ने उद्योग संचालन गर्ने तर्फ उन्मूख हुन अनुरोध गर्दै रोजगार अभिवृद्धि गर्ने लक्ष्य र सुनिश्चतताका आधारमा सहुलियतपूर्ण कर्जाको ब्यबस्था गर्नु पर्ने देखिन्छ ।
देश संघीय ब्यबस्थाको संस्थागत विकास तर्फ उन्मूख भै रहेको सन्दर्भमा केन्द्र सरकारले मात्र विदेशबाट फर्कने युवाहरुको भार थेग्न सक्दैन । तसर्थ स्थानीय र प्रदेश सरकार समेतले युवा र रोजगार लक्षित कार्यक्रममा जोड दिएर आगामी वर्षको बजेट निर्माण गर्दा बैदेशिक रोजगारबाट फर्कने युवाहरु ग्रामिण समुदायमा स्थापित हुन सक्दछन् । ग्रामिण समुदायमा रोजगारीको अवसर दिन सकिएन भने यसले सहरी विद्रोहको आधार तयार हुने देखिन्छ । यस तर्फ पनि सबैको ध्यान जान जरुरी छ । सरोकारवाला सबै जिम्बेवार भए महामारीको विपत् चुनौंति होइन अवसरमा परिणत हुन सक्दछ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top