शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

लकडाउनले डेढ वर्ष पछाडि धकल्यो ः प्यूठानका यातायात व्यवसायी


राधिका भुसाल
प्यूठान । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड– १९ को कारण मुलुक ४४ दिन यता लकडाउनमा छ । दैनिकी गुजारा चलाउने मजदुरहरुलाई लकडाउन भएसंगै घरखर्च अर्थात विहान साझँको छाक जुटाउन समेत मुस्किल भएको छ । जिल्लामा सञ्चालन भएको स्वर्गद्धारी गौमुखी यातायात प्रा.लि. र नमस्ते प्यूठान यातायात प्रा.लि.का ठुलासाना गरि २ सय ८१ वटा यातायातहरु ठप्प छन् । डेढ महिनाको लक डाउनले व्यवासयीहरुलाई डेढ वर्ष पछाडि धकेलेको व्यवासयीहरु बताउछन् ।
गाडी साहु तथा मजदुर पनि आफै भएको हुँदा आफ्ना यातायातका साधन चल्न नपाउदा यातायात व्यवसायीहरु दोहोरो मारमा परेको बताउछन् । मुलुकमा दैनिक बढ्दो गएको जोखिमले यतिबेला यातायात व्यवसायीहरु सबैभन्दा बढि मर्कामा परेको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि. प्यूठानका अध्यक्ष सुनिल बस्नेतले बताए । ‘सबै यातायात व्यवासयीहरुले बैंक लोनमा गाडी किनेका हुन्छन्’ अध्यक्ष बस्नेतले भने–‘सरकारले बैंकबाट ऋण लिएका ग्राहकहरुको लागि ठोस निर्णय नगर्दा व्यवसायी अन्योलमा परेको छन्’– बस्नेतले थप्दै भने – कतिपय त जेनतेन चैत्र महिनाको बैंक किस्ता तिरेका छन् ।’ लगडाउनको समयावधी बढ्दो जाँदा व्यवसायीहरुको समस्या दिनानुदिन बढ्दो गएको उनले बताए । कोरोना संक्रमणको कारण जिल्लाभर छरिएर रहेका व्यवसायीहरुको कार्यालयमा बसेर छलफल गर्न नपाएको अध्यक्ष बस्नेतले बताए । गाडीको विमा, भलाइकोष, ब्ल्युबुक सबै काम संस्था मार्फत गर्ने र त्यसैबाट कर्मचारीको तलब व्यवस्थापन गर्ने भएको लगडाउनले गर्दा संस्था नै आर्थिक अवस्था निकै कमजोर भैसकेको उनले बताए ।
व्यवसायीक रुपमा यातायात क्षेत्रका जोडिएका सबै मजदुरहरु यतिबेला दोहोरो मारमा परेको स्वर्गद्धारी गौमुखी यातायात प्रा.लि. का सुचना अधिकारी हरि खड्काले बताए । ‘लकडाउन खुले लगतै पनि बैंक किस्ता तिर्न समस्या हुनेछ’ खड्काले भने–‘यतिबेला निकै चिन्ताजनक अवस्था पुगेको हुंदा राज्यले यातायात व्यवसायीहरुको लागि उचित राहत व्याकेज ल्याउन नसक्दा व्यवसायीहरु चिन्तित छन् ।’ स्वयंमसेवक सहित ४० जना कर्मचारी, मजदुर र व्यवसायीहरुको अवस्था दयनिय बन्दै गएको उनले बताए । ‘मैले पनि मासिक ८० हजार बैंक किस्ता तिर्दै आएको छु’– व्यवसायी समेत रहेका खड्काले भने–‘अब गाडी चलेपछि बैंक किस्ता कसरी तिर्ने ?’ लकडाउन खुलेपनि लामोदुरीमा सवारी साधन चल्दैनन् र पहिलेको जस्तो कमाइ नहुने उनले बताए । उनले भने–‘बैंक ऋण सौलिएतको लागि राज्यले ध्यान दिनु पर्छ ।’
‘करिब ५५ लाखका लगानी गरेर ३ महिना अगाडि डिलक्स बस किनेको थिए’– प्यूठान नगरपालिका २ क्वाडीका यातायात व्यवसायी विजय विष्टले भने–‘मासिक ८० हजार बैंक किस्ता तिर्दै आएको छु ।’ यिनीसंगै जिल्लाका सबै यातायात व्यवसायीहरु लकडाउनको कारण मारमा परेको गुनासो गरेका छन् । लकडाउन खुलेपनि पहिलेकै अवस्थामा जानका लागि न्युनतम एकवर्ष लाग्ने व्यवसायीहरु बताउछन् ।
यस्तै नमस्ते प्यूठान यातायात प्रा.लि. द्धारा सञ्चालन भएका ७६ गाडीहरु पनि लकडाउनको कारण चल्न नपाउंदा मारमा परेका छन् । ‘गाडी चलाएर दैनिकी चलाउदै आएका मजदुरहरुको घरपरिवारमा आर्थिक संकट पर्न थालेको छ’– नमस्ते प्रा.लि.का अध्यक्ष लिलाप सिंह केसीले भने–‘यि यस्ता मजदुरी गरेर दैनिकी गुजारा गर्ने मजदुरहरुको विषयमा राज्यले विशेष ध्यान दिनु पर्नेहुन्छ ।’ प्यूठानबाट हप्तामा ३ बार भारतका लागि बस चल्दै आएका थिए भने जिल्लाबाट काठमांडौं, बुटवल नेपालगञ्ज, दाङ लगायतका शहरहरुमा सञ्चालन भएका यातायात लकडाउन भएसंगै बन्द छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top