
प्युठान,२६ चैत ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले मल्लरानी गाउँपालिकाका वडा नं ३ को रस्पुरकोटमा राहत वितरणको शिलशिलामा स्थानीयले उठाएको आवाजलाई सञ्चारकर्मीहरुले प्रस्तुत गर्दा मल्लरानी गाउँसरकारले पत्रकारलाई कपोकल्पीत समाचार लेखेको भन्दै लगाएको आरोपप्रति ध्यानाकर्षण जनाएको छ। आज एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाले ‘संचारकर्मीले नै भिड जम्मा गरेको, पुरानो फोटो प्रयोग गरेको र कपोलकल्पित समाचार लेखेको’ जस्ता आरोप लगाएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
समुदायको आवाजलाई समाचारका आधारभुत सिद्धान्तमा रहि प्रस्तुत गरिएकोले त्यहाँ उठान गरिएका समस्याको समाधानका लागि अग्रसर हुन संघका सचिव विजयसिंह भारतीले हस्ताक्षर गरेको विज्ञप्ती मार्फत सम्बन्धीत पक्षलाई अनुरोध समेत गरेको छ । विपत्तिको सामाना गर्नका लागि आ–आफ्ना स्वार्थ भन्दा माथि उठी समुदाय र नागरिक प्रति उत्तरदायी बन्न समेत पत्रकार महासंघले आग्रह गरेको छ ं ।
यस्ता विपत्तिका बेला संचारकर्मी र सञ्चार माध्यमहरुले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका हुन्छन् । आधिकारिक निकायहरुले दिने सूचनालाई यस्तो समयमा अझै सरल र सहज बनाउनुपर्ने आवश्यकता भएकाले स्थानीय सरकार, सरकारी कार्यालय, संघसस्थाहरुको गम्भिर ध्यानाकर्षण गराउदछौं विज्ञप्तीमा उल्लेख छ । नागरिकका समस्याहरु बारे संचारकर्मीहरुले समाचारका माध्यमबाट सम्बन्धीत निकायलाई झकझकाई रहेकाले ती निकायहरु जिम्मेवार ढङ्गले आएका समस्याहरुको समाधान तर्फ अग्रसर हुनुपर्दछ ।
त्यस्तै महासंघले विज्ञप्तीमा विपत्तिको यस समयमा दैनिक ज्यालादारी श्रमिक, विपन्न असहायहरुलाई स्थानीय सरकारहरुले खाद्यान्न सामाग्री वितरण गरिरहेका छन्। खाद्यान्न सामाग्री वितरणका लागि निश्चित मापदण्डका आधारमा राहतग्राहीको छनौट तथा सामाग्री वितरण गर्नुपर्ने बताएको छ । सञ्चारकर्मीहरुलाई पर्नसक्ने पेशागत समस्याहरुमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठान सदैब यहाँहरुको साथमा रहेको समेत जनाईएको छ । प्रधानमन्त्रीले यो महामारीबाट बच्न अझै दुई साता घरबाट नकिस्कन अनुरोध गर्नुभएको सन्दर्भमा सुरक्षित रहि सकेसम्म एकान्तवासबाटै कार्यसम्पादन गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका सचिव विजयसिंह भारतीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघले संचारकर्मी र संचारमाध्यमहरुका लागि कोरोना भाईरस सम्बन्धी समाचार सम्प्रेषणका लागि सुझाएका कुराहरु पालन गर्न अनुरोध समेत गर्दछौं । साथै, संचारकर्मीहरु अहिले पनि असुरक्षित तबरले काममा खटिइ रहनुभएको वर्तमान सन्दर्भमा सुरक्षाका सामाग्री उपलब्ध गराउन सम्वन्धीत निकायको ध्यानाकर्षण समेत गराएको विज्ञप्तीमा लेखिएको छ ।
कमेन्ट गर्नुहोस !