शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

महोत्सव कि जात्रा


शिवराज पण्डित (पीएच.डी.)

फागुन ८ गते देखि बिजुवार स्थित झिम्रुक नदी किनाराको खेल मैदानमा स्वर्गद्वारी प्यूठान चौथो महोत्सव चलेको छ । फागुन महिनामा देशभरी नै यसरी महोत्सवहरु चलेकाछन् । यसै महिनाको दोस्रो हप्तामा दांगको बिजौरी स्थित प्रदेश खेल मैदानमा राप्ती एक्स्पो नामको महोत्सव सम्पन्न भएको छ । गत हप्ता छिमेकी जिल्ला रोल्पा जिल्लाको सदरमुकाम लिवाङ्गमा लगानी सम्मेलन सम्पन्न भएकोछ । सामाजिक संजाल र संचार माध्यमहरु हेर्दा र सुन्दा लाग्दछ,सिंगो देश महोत्सव र जात्रामय भएकोछ । देश जात्रामय र महोत्सवमय भैरहेको बेला प्यूठान पनि यसबाट अछुतो रहेन ।
महोत्सव र जात्रा लगाउने र मनाउने चलन नेपालीहरुको नयां परम्परा होइन । परापूर्वकाल देखि नै चल्दै आएको परम्परा हो । लिच्छिवी र मल्लकालमा समेत थुप्रै प्रकारका जात्राहरु लगाउने र मनाउने प्रचलन रहेको देखिन्छ । अहिले पनि ति जात्राहरुले कुनै न कुनै रुपमा मान्यता र निरन्तरता मान्यता पाउंदै आएकाछन् । विशेषतः नेवार र मगर समुदायमा जात्रा र पर्वलाई विशेष महत्व दिने गरेको पाइन्छ । मगर समुदायको तुलनामा नेवार समुदायले अझ धेरै प्रकारका जात्राहरु लगाउने र मनाउने गर्दछन् । त्यसैले ब्यांग्यात्मकरुपमा भन्ने गरिन्छ – वर्षमा ३६५ दिन हुन्छ, तर नेवारले ३६६ दिन जात्रा लगाउंछ र मनाउंछ ।
नेपाली शव्दकोष हेर्दा जात्रा र महोत्सवको अर्थ फरक छ । जात्रा भन्नाले देव देवीका स्थानमा निश्चित दिनमा पूजा आजा सहित मनाइने विशेष प्रकारको उत्सवलाई जनाउंछ र महोत्सव भन्नाले धेरै ठूलो उत्सव वा विशेष प्रकारको समारोह भनिएको छ । शव्दको अर्थबाट हेदा जात्राको निश्चित दिन र समय हुन्छ र कुनै जात, जाति विशेषले ऐतिहासिक दिन र घटनाको संझनामा लगाइन्छ । तर उत्सव र महोत्सव खुशीयाली मनाउनका लागि गरिन्छ । महोत्सवको इतिहांस हेर्दा राजा महाराजाहरुले आफ्नो जन्म र विवाह उत्सवहरुमा जनतालाई उपस्थित गराइ राजा महाराजाहरुको जयजयकार र स्तुतिगानका लागि महोत्सव लगाउने प्रचलन रहेको थियो । राजतन्त्रको अवसानसंगै राजा महाराजाहरुको नाममा महोत्सव तथा उत्सव मनाउने प्रचलन पनि अन्त्य भएको थियो ।
अहिले देशभरी नै महोत्सवको नाम दिएर भिन्न प्रकारको जात्रा चलेको छ । महोत्सवको नाम दिए पनि यो फरक शैलीको जात्रा हो । नाच्ने र नचाउने खेल भित्रको ब्यापार हो । सार्वजनिक रुपमा आयोजना गरि मनाइने महोत्सव वा उत्सवको मर्म या भाव यस्तो हुनु पर्ने थियो कि त्यो दिन विशेष दिन या ब्यक्ति विशेषको बहादुरीको संझनाको लागि महोत्सवको आयोजना गर्नु पर्ने थियो । यस्तो ऐतिहासिक दिन या ब्यक्ति विशेषको सामाजिक योगदानको संझानामा महोत्सवको आयोजना गरेको भए मेलामा सबैको अपनत्व र स्वामित्व हुने थियो । तर त्यो रुपमा महोत्सवको आयोजना हुदैन । बरु महोत्सवको भाव र शाव्दिक अर्थलाई तोडमोड गरी ब्यक्ति या समुह विशेषको फाइदाको लागि महोत्सव लगाउने होड चल्न थालकोे छ ।
महोत्सव या कुनै जात्राको नाम दिएर आयोजना गरिने यस प्रकारका कार्यक्रमहरुले नकारात्मक प्रभाव पारे संगै केही सकारात्मक प्रभाव पनि पार्ने गर्दछ । उत्सव आयोजकहरुले यो जात्रालाई कुन रुपमा संचालन गर्दछन् त्यसैमा भर पर्दछ । मेला या उत्सवलाई स्थानीयकरण गर्दै जिल्लाको उत्पादन, धार्मिक र ऐतिहासिक महत्व राख्ने स्थलहरुको प्रचार प्रसारका साथै बजारिकरण, मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने जस्ता कार्यक्रमहरुसंग उत्सवलाई जोडन सके मेला या उत्सवले जिल्लाको विकासमा सकारात्मक प्रभाव पर्दछ । त्यसो नगरी बाह्य बस्तु या सेवाको बजारिकण गर्ने तर्फ मेलाहरु लक्षित भए भने स्थानीय बस्तु र सेवा प्रबाह कमजोर हुने हुन्छ । जसको प्रत्यक्ष असर जिल्लाको आर्थिक गतिविधिमा पर्दछ र जसले गर्दा यस्ता मेलाहरु जिल्लाको लागि प्रतिउत्पादक सावित हुन सक्दछन् ।
मेला या उत्सवमा जनताको आकर्षण हुनका लागि ति उत्सव या मेलाहरुमा नौलोपन या मौलिकता हुनु पर्दछ । प्यूठानमा विगत् देखि संचालन हुंदै आएका यस्ता महोत्सवमा जनताको आकर्षण घटदै गएको देखिन्छ । आकर्षण घट्नुको पछाडि जात्रामा नयांपन र मौलिकता देखिएन र छैन पनि । प्यूठानमा तिहार र दर्शैपछि लगाइने मेलाहरुको ऐतिहासिक महत्व छ र ति मेलाहरुमा जनताहरुको स्वतःस्फूर्त सहभागिता हुने गर्दछ । तर कुनै ऐतिहासिक सन्दर्भ विशेषलाई नजोडि आफूखुसी कुनै ब्यक्ति या समुह विशेषको लाभ र लहडका लागि लगाइने मेलाहरुको आकर्षण घट्नुलाई अस्वभाविक मान्नु हुदैन । मेला या उत्सव संचालकहरुले गंभिर समिक्षा गर्नु पर्दछ ।
मौसमका दृष्टिले न जाडो न गर्मी, काम या फुर्सदका दृष्टिले खेतिपाति गर्नु नपर्ने समय भएकोले फागून महिना राम्रो महिना मानिन्छ । मध्यम र उच्च वर्गका ब्यक्तिका लागि यो महिना उत्तम भए पनि गरीवका लागि भने फागून र साउन पेटभरी खान गाह्रो हुने महिनाका रुपमा लिइन्छ । महोत्सवको आयोजना गर्ने आयोजकहरुले सबै बर्ग र समुदाय रमाउन सक्ने महिनालाई लक्षित गरी यस्ता जात्राको आयोजना गर्दा राम्रो होला । बहुसंख्यकको सहभागितामा सम्पन्न हुने यस्ता मेलाले सार्थकता पाउने र स्थानीय जनताको स्वामित्व र अपनत्व समेत बृिद्ध हुने थियो ।
मेला या उत्सव खुसियालीका लागि आयोजना गरिने एक प्रकारको पर्व हो । यो पर्वमा सबै रमाउने र जिल्लाको आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरण हुने गरी आयोजना गरौं । विगत्का महोत्सवहरुको समिक्षा गरौं, कमि कमजोरीहरुबाट पाठ सिकौं र जात्रा या महोत्सवलाई उपलब्धिपूर्ण बनाऔं । नाचगनमा मात्र महोत्सवलाई सिमित नगरौं । एउटा असल शिक्षक,एउटा असल ब्यापारी,एउटा राम्रो लेखक,एउटा सफल कृषक पुरस्कृत हुने र रमाउने महोत्सवको आयोजना गरौं । महोत्सवलाई बर्षेनी फरक शैली,सोंच र रुपमा आयोजना गर्ने बारे सोचौं । यो दृष्टिकोण राखी महोत्सवको आयोजना गरयौंभने महोत्सवमा मौलिकता थपिन्छ,जिल्लाको छुट्टै पहिचान हुन्छ । मौलिक महोत्सव र जात्रालाई प्रश्रय दियौं, छाडा र आयातित संस्कृतिलाई बहिष्कार गरौं ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top