
दाङ,१२ फागुन ।
आफूमाथि लागेको मुद्दा जितेर पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका पूर्वसभामुख कृष्णबहादुर महराको स्वागतमा जनसागर उर्लिएको छ । आफूले चुनेर पठाएको अभिभावक पूर्वसभामुख कृष्णबहादुर महरा आफ्नो निर्वाचन क्षेत्र रहेको घोराहीमा पुग्दा बाजागाजा, नाचगान, अविरमालाले भव्य स्वागत गरिएको थियो । घोराहीको ट्राफिकचोकमा आयोजित सभालाई सम्बोधन गर्दै महराले भन्नुभयो, ‘यो मेरो होइन तपाईहरुको जीत हो ।’ जनताको ताकतको अगाडि कुनै पनि षडयन्त्रकारीहरुको षडयन्त्र सफल हुन सक्दैन भन्दै महराले भन्नुभयो, ‘ममाथि गरिएको षडयन्त्रलाई जनताले स्वीकार गरेन ।’ दाङवासी जनताले आफूलाई अथाह माया र ममता दिएको बताउँदै महराले यो गुण दाङवासीसँग एकाकार भएर जिल्लाको विकास, समृद्धि, भावनालाई कदर गर्दै तिर्ने प्रण गर्नुभयो । पूर्वसभामुख महराले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा, नेपालको सार्वभौमिकताको रक्षा गर्नु आफ्नो दायित्व बताउनु भयो । ‘म एक नेपाली हुँ । नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न म हिजो जसरी लडें, आज लड्दैछु र भोलि पनि लड्नेछु ।’ यसअघि पूर्वसभामुख महरालाई चौघेरामा भव्य स्वागत गरिएको थियो । दाङकै भालुवाङ, सिसहनिया र लमहीमा पनि उहाँको भव्य स्वागत गरिएको थियो ।
कमेन्ट गर्नुहोस !