
राधिका भुसाल
प्यूठान । जिल्लाको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल स्वर्गद्धारीमा नेपाली सेना सुविधायुक्त वाटर फाउण्टेन निर्माण कार्यमा जुटेको छ । ईन्द्रध्वज गण प्यूठानले स्वर्गद्धारी धर्माशाला नजिकै रहेको प्रयोग विहिन जमिनलाई नयाँ रुप दिनका लागि म्युजिकल वाटर फाउन्टेन सहितको स्वर्गद्धारी बाटिका निर्माण गर्न लागेको हो ।
मध्यपश्चिम पृतना बुटवलबाट ‘क्यूक इन्प्याक्ट प्रोजेक्ट’ कार्यक्रम अन्तरगत २५ लाख बजेट विनियोजन गरि धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ स्वर्गद्धारीमा भौतिक संरचना निर्माण गर्न लागेको इन्द्रध्वज गण प्यूठानका गणपति निरज पाण्डेले बताए । ‘प्यूठानका अन्य पर्यटकीय ठाउँ भन्दा स्वर्गद्धारीमा दर्शनार्थीहरुको आउ जाउ बढि हुने गर्दछ’–गतपती पाण्डेले भने–‘धार्मिक पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको ठाउँमा पर्यटकीय विकासलाई टेवा पुगोस् भनेर नेपाली सेनाले संरचना निर्माण गर्न लागेको हो ।’
संरचना बाहिरको पर्खाल 
४ सय मिटर क्षेत्रफल ओगटेको बाटिका निर्माणका लागि दैनिक ५० जना नेपाली सेनाहरु करिब डेड महिना देखि काममा खटिएको उनले जानकारी दिए । ‘चिसोको कारण काम गर्न निकै कठिन भएको छ ।’ उनले भने–‘सामान पनि आफैले बोकेर लैजानु पर्छ स्वर्गद्धारी गेट भन्दा माथि गाडी पनि त जाँदैन ।’ भिरालो जमिन फनिसिङ गर्न अलि समय लगेको बताउदैं मौषमको कारण जुनगति (स्प्रीट)मा काम सम्पन्न हुनु पर्ने हो त्यसो हुन नसकेको समेत बताए । हाल स्वर्गद्धारी बाटिका निर्माणको ५० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए । नेपाली सेनाले थोरै बजेटबाट धेरै काम गर्ने भन्ने धारणाका साथ काम गर्दै आएको छ । विनियोजित बजेटको सतप्रतिशत बजेट निर्माण सामाग्री खरिदमै खर्च हुने उनको भनाइ छ ।
स्वर्गद्धारी तपभुमी इलाकाको सुरक्षाको लागि तैनाथ इन्द्रध्वज गणको गुल्मले उक्त फाउण्टेन पार्क (स्वर्गद्धारी बाटिका) निर्माण गर्न लागेकको हो ।
मन्दिर आउने श्रद्धालु भक्तजनहरुलाई मनोरञ्जन तथा विश्राम दिने हिसावले उक्त बाटिका निर्माण गर्न थालेको गणका सेनानी दिनेश मल्लले बताए । निर्माधिन संरचनाको वरिपरि २ रोहमा गार्डेनिङ गर्ने योजना रहेको छ । उक्त संरचना सम्पन्न भएपछि मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने समेत मल्लले जानकारी दिए ।
संरचना निर्माण नहुंदैको खाली जमिन
नागरिकसंग नजिकिदै नेपाली सेना
नेपाली सेना प्रतिको नागरिकको बुझाइ स्पस्ट पार्नका लागि पछिल्लो समय नेपाली सेना नागरिकसंग जनिकिन थालेको छ । ‘नागरिक सम्बन्ध सुधार तथा प्रभावकारी बनाउने योजना अनुसार नेपाली सेनाले विभिन्न कार्यक्रम गर्दै आएको छ,’– गणपति निरज पाण्डेले भने,–‘जनहितमा सेनाको सहभागिता गराउन देशव्यापी रुपमा नेपाली सेना सामाजिक कार्यमा जुटेको छ ।’
मल्लरानी गाउँपालिकामा अविस्थत धार्मिक पर्यटकीय स्थल झाक्रिस्थानमा पनि भौतिक संरचना निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण समेत गरेको उनले बताए । प्यूठान जिल्लाका स्थानिय तहलाई सहयोग गर्न नेपाली सेना तयार रहेको गणपति पाण्डेको भनाइ छ ।
दैविक प्रकोप, वाढी पहिरो, आगलागि जस्ता विपद्मा सक्रिय रहेको इन्द्रध्वज गण प्यूठान आएको करिब डेढ वर्ष भएको छ । यो संगै आफ्नो गण प्युठानमा बस्दा सम्म जिल्लाका विभिन्न ठाउँमा पनि यस्ता कार्य गर्ने गणपति पाण्डेले बताए । नेपाली सेनाले निस्वार्थ भावनाले यो कार्य गर्ने उनले बताए ।
कमेन्ट गर्नुहोस !