
आउदो वर्षदेखी कक्षा ११ को पढाई ।
सागर रिजाल
प्युठान,१७ पुस ।
ऐरावती गाउँपालिका–३ जाबुनेमा अवस्थित धर्मोदय माध्यामिक विद्यालयको विहिवार अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका शिक्षाशाखा प्रमुख कुलबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको भेलामा विद्यालयका शिक्षक, पूर्व शिक्षक, छिमेकी विद्यालयका प्रधानाध्यापक, अभिभावक , विद्यार्थीसंगै शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।
वि.स. २०१६ साल माघ १० गते धर्मोदय पाठशाला पाठशाला नामाकरणबाट सुरुवात गरिएको विद्यालय २०२७ सालमा निमावि, २०४६ सालबाट माध्यामिक शिक्षा कक्षा १० सम्म अध्यापन गराउन सफल भएको थियो । ३० वर्ष माध्यामिक कक्षा १० सम्म अध्यापन गराएसंगै उक्त विद्यालयले कक्षा ११÷१२ सञ्चालन गर्नका लागि विहिवार भेला आयोजना गरेको हो ।

भेलामा उपस्थित अभिभाव विद्यार्थीहरु । तस्बिर ः सागर रिजाल
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको अध्ययन बिचमा छोड्ने दर कमी गरि अध्ययन कार्यलाई निरन्तरता दिन, घरदेखी ३÷४ घण्टा पैदल हिडेर पढेका विद्यार्थीलाई सहजता ल्याउन, नेपाल सरकारले अनिवार्य रुपमा माध्यामिक विद्यालय सञ्चालनका लागि कक्षा ११÷१२ सुचारु गर्ने कानुनी व्यवस्था भएको, विवाह भएका छात्राहरु अनेत्र डेरा लिएर अध्ययन गर्न समस्या भएका कारण त्यसलाई सहजता ल्याउन जस्ता उदेश्यहरु बनाई यस विद्यालयमा उच्च शिक्षा अध्ययन सुरु गर्न लागिएको विद्यालयका प्रधानाध्यापक निरन्जन पौडेलले जानकारी दिनुभयो ।
भेलाबाट अभिभावकहरु आउदो ०७७ सालदेखी उच्च शिक्षा कक्षा ११ सञ्चालनका लागि सहयोग गर्न प्रतिवद्ध हुनुभएको छ । लामो समयसम्म माथिल्लो कक्षा पढनका लागि यस क्षेत्रका विद्यार्थीहरुलाई पैदल हिडेर बरौला पुग्नुपथ्र्यो, स्थानिय एंव नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) ऐरावती गाउँपालिका ईन्चार्ज टिकाबहादुर गुरुङले भन्नुभयो,–‘आगामी वर्षदेखी सहज हुने छ ।’ सञ्चालन गर्नुका साथै यसको दिगो व्यवस्थापनमा जुट्नुपर्ने उहाँले बताउनुभयो । विद्यार्थी उत्पादन, गुणस्तरीय शिक्षा भयो भने उच्च शिक्षा कक्षा सञ्चालनमा सहज पुग्ने उहाँको भनाई छ ।
त्यस्तै भेलाका प्रमुख अतिथी एंव गाउँपालिका शिक्षा शाखा प्रमुख कुलबहादुर थापाले लामो समयपछि विद्यालयले कक्षा ११ र १२ सञ्चालन गर्न लागेकोमा शुभकामना दिनुभयो । २६ वर्ष आफुले पढाएको स्मरण गर्दै उहाँले विद्यार्थीको पढाईलाई प्राथमिकता दिई अध्यापन गराउन शिक्षकहरुलाई निर्देशन दिनुभयो । यो भन्दा गएको वर्ष कक्षा १० को रिजल्ट राम्रो नभएकोले यसलाई ध्यान दिन समेत उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो । उच्च शिक्षाका लागि आर्थिक महत्वपूर्ण हुने भएकाले यसमा ध्यान पुर्याई आर्थिक जुटाउनु तर्फ खटिनुपर्ने उहाँको भनाई छ ।
भेलामा स्थानिय एंव विद्यालयका पूर्व अध्यक्ष केदारप्रसाद पोख्रेल, पूर्व शिक्षक टोपाराम आचार्य, दाङवाङ माध्यामिक विद्यालयका प्रधानाध्यापक रमेश आचार्य, शिक्षक भोजबहादुर राउत लगाएतले उच्च शिक्षा सञ्चालन गर्न लागेको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

६ लाख बजेट संकलन
उच्च शिक्षा कक्षा सञ्चालनका लागि भेलाबाट ६ लाख रुपिँया आर्थिक संकलन भएको छ । यस क्षेत्रका स्थानियहरुले उक्त रकम दिनुभएको हो । रकम संकलन अभियानलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ । त्यस्तै तीन नं वडा कार्यालयले चालु आर्थिक वर्ष ०७६÷०७७ मा रु ८ लाख विनियोजन गरेको वडा सचिव लिलामणी सुनारले जानकारी दिनुभयो । भेला कार्यक्रमको सञ्चालन शिक्षक तिर्थराज पोख्रेलले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !