शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

शाइन रेसुंगा बन्यो प्रदेश ५ को पहिलो राष्ट्रियस्तरको विकास बैंक


प्युठान ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । शाइन रेसुंगाले प्रदेश ५ कै अन्य तीनवटा विकास बैंकलाई प्राप्ति गरेपछि राष्ट्रियस्तरमा स्तरोन्नति भएको हो ।

प्रदेश ५ का विभिन्न जिल्लामा केन्द्रीय कार्यालय रहेका विकास बैंकहरु मिलेर राष्ट्रियस्तरको विकास बैंकको स्वीकृति पाउनेमा शाइन रेसुंगा पहिलो बैंक बनेको छ ।
नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्न दुई अर्ब ५० करोड चुक्ता पुँजी तोकेकामा शाइन रेसुंगाको चुक्ता पुँजी दुई अर्ब ६२ करोड रहेको छ ।

देशभर हाल ११ वटा राष्ट्रियस्तरका विकास बैंक रहेका छन् । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो ।

शाइन रेसुंगाले प्यूठान जिल्ला कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो भने गतवर्ष मात्रै तीन जिल्ला कार्यक्षेत्र रहेको पूणिर्मा विकास बैंक र पाँच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन० गरी गत असोजबाट एकीकृत कारोबार सुरु गरेको थियो ।

बैंकको अहिले प्रदेश ५ का रोल्पा र रुकुम बाहेकका १० जिल्ला तथा प्रदेश ३ को चितवन र गण्डकी प्रदेशको बागलुङ गरी १२ जिल्ला कार्यक्षेत्र छन् ।

शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकबाट यही मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्न स्वीकृति प्राप्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले बताए ।

‘राष्ट्र बैंकको नीति अनुसार हामीले आफूलाई अर्थन्त्रको जिम्मेवार अंगको रुपमा मनन् गरेर सबल र सुदृढ वित्तीय संस्था बन्न मर्जरमा जानुपर्छ भन्ने निर्णयमा पुग्यौं र पार्टनर बैंकहरुको विश्वास जित्दै राष्ट्रियस्तरमा स्तरोन्नतिको विन्दुमा आइपुग्यौं’ पौड्यालले भने, ‘हामीले सुरुदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र पारदर्शितालाई अंगाल्यौं, जसले गर्दा मर्जर सफल भयो ।’बैंकको अधिकृत पुँजी पाँच अर्ब र जारी पुँजी दुई अर्ब ६२ करोड रहेको बैंकको ७० वटा शाखा र एउटा एक्सटेन्सन कार्यालय छन् । प्रदेश ५ मा मात्रै बैंकका ६९ वटा शाखा कार्यालय छन् ।

प्रदेश ५ मा शाखा रहेका समग्र बैंकहरु मध्ये सबैभन्दा धेरै शाखा कार्यालय हुने बैंक पनि शाइन रेसुंगा नै भएको छ । ‘प्रदेश ५ लाई आधार बनाएर राष्ट्रियस्तरमा अग्रणी विकास बैंकको पहिचान बनाउने लक्ष्य छ,’ पौड्यालले भने, ‘तत्काल संघीय राजधानी काठाडौंसहित सातवटै प्रदेशका मुख्य शहरमा शाखा कार्यालय स्थापना गर्ने तयारीमा छौं ।’

बैंकले हालसम्म २६ अर्ब ८२ करोड निक्षेप संकलन र २४ अर्ब १४ करोड कर्जा प्रवाह गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले जानकारी दिए ।बैंकका ग्राहक संख्या तीन लाख ८० हजार पुगेका बैंकले जनाएको छ । बैंकले उत्पादनशील क्षेत्रमा कूल कर्जाको २२ प्रतिशत लगानी गरेको छ । राष्ट्र बैंकको कम्तीमा १५ प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने निर्देशन छ । बैंकले कृषिलगायत ब्याज अनुदानमा आधारित कर्जा ८१ करोड रुपैयाँ प्रवाह गरेको बैंकका नायब महाप्रवन्धक सार्जन भट्टराईले जानकरी दिए ।

कूल नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा खर्च गर्नुपर्ने राष्ट्र बैंकको नीतिअनुसार गत वर्ष शिक्षा, स्वास्थ्य, सरसफाइ, दुर्घटना न्यूनिकरण जस्ता क्षेत्रमा १५१ संस्थासंगको सहकार्यमा ४५ लाख २३ हजार रुपैयाँ खर्च गरेको नायब प्रमुख कार्यकारी गुरुङले बताए । बैंकको केन्द्रीय कार्यालयको नयां पाँचतले भवन भवन बुटवल(११ कालिकानगरमा निर्माणाधीन छ । शाइन रेसुंगा बैंक राष्ट्रियस्तरमा स्तरोन्नति भएको घोषणा नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरन्जिवी नेपालले रुपन्देहीको मणिग्राममा बिहीबार ९आज० दिउँसो एक औपचारिक समारोहबीच गर्ने कार्यक्रम रहेको छ ।

अनलाईन खबरबाट साभार

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top