
राधिका भुसाल
प्यूठान । आगामी मंसिर १४ गते हुने रित्त रहेका पदमा उपनिर्वाचनको लागि आज (मंगलबार) मनोनयन दर्ता गर्दै उम्मेद्धारहरु चुवानी मैदानमा उत्रिएका छन् ।
प्यूठान नगरपालिका वडा नं. २ मा वडा अध्यक्ष पदका लागि नेकपा बाट मुक्ति प्रसाद पोख्रेलको उम्मेद्धारी परेको छ भने नेपाली कांग्रेसबाट मोहन विष्टले उम्मेद्धारी दिनु भएको छ । केन्द्रीय सर्कुलर अनुसार नेकपा मसालको चुनाबी मोर्चा राष्ट्रीय जनमोर्चाले भने उम्मेद्धारी नदिएको पार्टी स्रोतले जनाएको छ ।
उपनिर्वाचनका लागि दलहरुले स्वहार्दपुर्ण, शान्त, भद्र र अनुशासन पूर्वक आफ्नो उम्मेद्धारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस विष्णु प्रसाद गौतमले बताउनु भयो । सोमबार वसेको सर्व पक्षीय बैठकले निर्णय गरेको समय विभाजन अनुसार नै मनोनयन दर्ता भएको उहाँको भनाइ छ ।
त्यस्तै ऐरावती गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका तर्फबाट अम्मर वहादुर रेश्मी र वडा नम्बर २ मा भुपाल जिसिले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । भने, ऐरावती २ मा राजमोका तर्फबाट भक्त बहादुर बिस्टले र ऐरावती १ मा नेकपाका दोर्ण बहादुर पाण्डेले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । ऐरावती २ मा राजमोले स्वतन्त्र भन्दै अर्जुन थापालाई वडा अध्यक्षको उम्मेद्धवारी परेको छ भने ऐरावती १ मा नेकपाले स्वतन्त्र उम्मेद्धवारको रुपमा भिमेश कुमार घर्ती मगरलाई वडा अध्यक्षको उम्मेद्धवार बनाएको छ ।
प्यूठानका ३ वटा वडामा ८ जना उम्मेदवारको प्रतिस्पर्धा रहने छ । स्थानीय तहको मनोनयन दर्ता गर्न प्रदेश सांसद हरि प्रसाद रिजाल सहितका नेकपाका नेता कार्यकर्ता निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गरी कोर्णसभा समेत गरेका थिए ।
खानेपानीको समस्या अन्त्य गर्नेछु ः पोख्रेल 
मनोनयन दर्ता पछि दाखाक्वाडीमा भएको कोण सभालाई सम्बोधन गर्दै प्यूठान नगरपालिका वडा नम्बर २ नेकपाका उम्मेद्धार मुक्त प्रसाद पोख्रेलले आफ्नो वडामा खानेपानीको निकै समस्या रहेको हुंदा सर्वप्रथम त्यसको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ‘वडाको कुल भुभाग मध्ये ६० प्रतिशत बस्तीमा खानेपानीको समस्या छ’– उहाँले भन्नु भयो– ‘नगरपालिकाको स्रोतले मात्रै यो समस्याको अन्त्य हुदैन यसका लागि प्रदेश सरकार र विभिन्न माध्यमबाट स्रोत खोज्नेछु ।’ वडामा देखिएका समस्याहरु प्रति आफु प्रतिवद्ध रहेको बताउदै अबको २ वर्ष भित्र खानेपानीको समस्या पूर्ण रुपमा अन्त्य गर्ने बचन दिनुभयो । नदि कटानको समस्या अन्त्य गर्ने, नहरकुलाहरु मर्मत गरी उत्पादन बढाउने, बाटोघाटोको स्तर उन्नती गर्ने, रोजगारी, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा विकास गर्न आफु प्रतिवद्ध रहेको उहाँको भनाइ छ । उम्मेद्धार पोख्रेलले खुस नखाने र भ्रष्टचार नगर्ने बताउदै आफुलाई एक पटक काम गर्ने अवसर प्रदान गर्न वडावासीहरुलाई आग्रह समेत गर्नु भयो ।
कोण सभामा प्रदेश सांसद कृष्णध्वज खड्का, नेकपा जिल्ला अध्यक्ष तुल्सीराम शर्मा, प्यूनपा उपमेयर शान्ता आचार्य लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
प्युठान नगरपालिका–२ का वडा अध्यक्ष खिमबहादुर विष्टको निधन भएकाले र ऐरावती गाउँपालिका–१ का वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख र वडा नं. २ वडाका अध्यक्ष केशवराज आचार्य समितिको प्रमुखमा निवार्चित भएपछि तीन वडामा उपनिवार्चन हुन लागेको हो । दुइ वटा स्थानिय तह गरी जिल्लामा १२ वटा मतदान केन्द्र रहने छन भने ८ वटा मतदान स्थल रहने स्रोतले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस !