
२३ असोज । राधिका भुसाल
प्यूठान । वर्षौ देखि कुलोबाट हिड्नु पर्ने समस्या भएकोले जग्गाधनी किसानहरुले आफै पैसा उठाएर निकासीको लागि बाटो खन्ने क्रममा प्यूठान नगरपालिकाले रोकिदिए पछि किसानहरु आन्दोलित भएका छन् ।
धान पराल गर्ने समयमा ट्याक्टर लैजाने बाटो बनाउदै गर्दा प्यूठान नगरपालिकाले डोजर चल्न नदिएपछि उनीहरुले प्यूठानकै मुख्य सडकखण्ड विजुवार–बाग्दुलाको पुण्यखोलामा आज दिउसो ३ बजे देखि ४ बजे सम्म एकघण्टा चक्काजाम गरेका हुन । बडरा मेला स्थान देखि विजुवारसम्मको झिमरुक फाटमा खेत भएका किसानहरुले मिलेर व्यक्तिगत रुपमै बाटो खन्न लागेपनि नगरपालिकाले हस्तक्षेप गरेको सन्तोष केसीले बताए । वडा कार्यालय र नगरपलिकामा पहिले देखि नै जानकारी गराएपनि पटक पटक अवरुद्ध गरेपछि चक्काजाम गरेरै बाटो बनाउन थालेको केसीले बताए । एक सय भन्दा बढि किसानहरुले धान पराल गर्न ओहोर दोहोर गर्ने बाटो रोखिदिए पछि धेरै समस्या भएको उनले बताए ।
स्थानिय सरकारले आफुहरुको समस्यालाई बेवास्था गरेको हुंदा चक्का जाम गर्नु परेको प्यूठान नगरपालिका ७ निवासी मेनुका केसीले बताइन । खलंगा, थापाडाडा, कार्की डाडा, पाखाडेरा,कुर्रा, धरम्पानी, टाकुरा, खमल्ती, पुण्याखेला, टिकुरी लगायतका ठाउँहरुको किसानहरुको खेत सोही ठाउँमा रहेको हुंदा धान पराल ढुवानी गर्न निकासी चाहिएको मेकुकाले बताइन् । अरु सबै ठाउँमा बाटो बनाइसकेको तर, खेतमा प्रवेश गर्ने मुख्य नाकामै पिपलको जरो परेको त्यसलाई नफाली ट्याक्टर ओहोर दोहोर गर्न नमिल्ने बताउदै स्थानीय सरकारले प्रहरी पठाएर डोजर रोखिदिएको उनले बताइन । आफुहरुले जसरी भएपनि निकासी दिनु पर्ने किसानहरुको माग छ । किसानहरुले डोजर लगाइरहेको बेला नगरपालिकाले डोजर रोकिदिएपछि चक्काजाम गरेको थिए ।
यता प्यूठान नगरपालिकाका नगरप्रमुख मेयर अर्जुन कुमार कक्षपतिले किसानहरुलाई शनिवार वार्ता लागि बोलाइ चक्काजाम खोल्न लगाएको बताए । केही समय अगाडि पिपलको बोट काटेको बताउदै केही व्यक्तिको स्वार्थका लागि सार्वजनिक सम्पति नष्ट गरेको हुंदा उजुरी समेत परेको उनले बताए । निसानहरुले बाटो खोल्न पाउँ भनी नगरपालिकामा निवेदन पनि दिएको तर, उजुरीको किनारा नलाग्दै निकासी दिन नसक्ने मेयर कक्षपतिको भनाइ छ ।
कमेन्ट गर्नुहोस !