
सागर रिजाल
प्युठान, ७ भदौ।
ऐरावती गाउँपालिकाले पालिका क्षेत्रभित्रका विपन्न परिवारको खरको छाना विस्थापित गरेको छ । पालिकाले ६ वटा वडाका एक सय ५५ घरका लागि आर्थिक वर्ष ०७५÷०७६ मा जस्तापाता वितरण गरेको हो । गाउँपालिकाभित्र रहेका खरका छाना विस्थापित गर्नका लागि खरका छाना भएका घरहरुकोे तथ्यांक संकलन पछि जस्तापाता वितरण गरिएको गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए । पालिकाले यस क्षेत्रलाई वातावरणमैत्री बनाउनको लागि हरियो रंगको जस्तापाता वितरण गरेको उनले बताए ।
६१ लाखमा जस्तापाता
५ नंम्बर प्रदेश र ऐरावती गाउँपालिकाको ६२ लाख ३७ हजार दुई सय १५ रुपिँया लागत मध्ये ६१ लख २२ हजार पाँच सय रुपिँया लागतमा ठेक्का दिई जस्तापाता खरिद गरेको गाउँपालिकाका सव ईन्जीनियर प्रजापती ज्ञवालीले जानकारी दिए । उनका अनुसार सिदार्थ हार्डवयर एण्ड सप्लायर्स तुल्सीपुरले जस्तापाताको ठेक्का पाएको हो ।
पालिकाका ६ वटा वडामा ९५ वण्डलका दरले पाँच सय ७० वण्डल जस्तापाता र २८ वण्डल पेलेनपाता वितरण गरिएको सवईन्जीनियर ज्ञवालीले बताए । उनका अनुसार वडा नंम्बर १ मा २५ घर, वडा नंम्बर २ मा २८ घर, वडा नंम्बर ३ मा २७ घर, वडा नंम्बर ४ मा २५ घर, वडा नंम्बर ५ मा २५ घर र वडा नंम्बर ६ मा पनि २५ घरलाई जस्तापाता वितरण गरिएको हो । वडा कार्यालयबाट घर लम्बाई चौडाई नापेर पठाईसकेपछि गाउँपालिकाले जस्तापाता वितरण गरेको ज्ञवालीले बताए ।
आगलागी घटना न्युनीकरणमा सहयोग
ऐरावती गाउँपालिका क्षेत्र आगलागीको उच्च जोखीममा रहेको क्षेत्र हो । यस क्षेत्रमा प्रसस्त मात्रामा जंगल रहेकाले आगलागी वढी हुने गर्दछ । खरका छानामा आगीलागी भयो भने सल्कने संभावना वढी हुन्छ । आगलागीका घटना बढ्दै गएकाले त्यसलाई न्यूनिकरण गर्न जस्तापाताले सहज हुने गाउँपालिका अध्यक्ष शाहले बताए ।
मुलुकमा यतिबेला दुई तिहाई बहुमत सहितको बामपन्थी सरकार रहेको छ, यो सरकारले गरिबको पक्षमा काम गर्ने कुरामा हामी पूर्ण विस्वत रहेको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए । संघिय सरकार र प्रदेश सरकारको नीतिगत निर्णयनै सम्पूर्ण खरको छानालाई मुक्त गराउने र घरघरमा पानीको धारा पु¥याउने लक्ष्य सहित अगाडी वढेकाले यतिबेला कामले तिव्रता पाएको छ ,उपाध्यक्ष बस्नेतले भने,–‘ सोही अनुसार हाम्रो ऐरावती गाउँपालिकामा पनि खर छाना मुक्त गर्ने अभियान शुरु भईसकेको छ र चालु आर्थिक वर्षको लागि पनि प्रदेश सरकार संगको साझेदारीमा गाउँपालिकाले दोब्बर संख्यामा घरको छाना मुक्त गराई जस्तापाता लगाउने योजनामा रहेको छ । ’
घरमा खरको छाना थियो, बर्खाको समयमा चुहिएर घर भत्किन लागेको थियो ऐरावती गाउँपालिका –५ साधनचौरका गंगाबहादुर कुमालले भने,–‘घर भत्किन लागेको समयमा गाउँपालिकाले जस्तापाता दियो खुसी छु । ’ कुमालले आफ्नो घरमा २४ पाता जस्ता र आठ पेलेन पाता लागेको बताए । वर्षेनी आगलागी हुन्थ्यो, घर जंगलको विचमा हुँदा जल्छ भन्ने निकै डर थियो, कुमालले भने,–‘अबका दिनमा त्यो समस्या हल भएको छ । ’ उनी संगै यस क्षेत्रका विपन्न परिवारहरु जस्तापाता पाएपछि खुसी भएका छन् ।
कमेन्ट गर्नुहोस !