
सागर रिजाल
प्युठान,२४ साउन ।
स्वर्गद्धारी नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷०७७ मा ‘उपमेयर कोषेली कार्यक्रम’ सञ्चालन गरेको छ । नगरक्षेत्रभित्रका गरिब,विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने महिला गर्भवती तथा सुत्केरी महिलाहरुको लागि सहयोग पु¥याउने उदेश्यले यो कार्यक्रम सञ्चालन गरेको नगर उपमेयर गोमा रेग्मीले जानकारी दिनुभयो । कार्यक्रम संचालन गर्नको लागि स्पष्ट मापदण्ड र कार्यविधी वनाइ कार्यान्वयन गरिने उपमेयर रेग्मीको भनाई छ । उपमेयरको कोशेली कार्यक्रमका लागि नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा २० लाख रुपिँया विनियोजन गरेको नगरउपमेयर रेग्मीले जानकारी दिनुभयो ।
सुत्केरी महिलालाई झोला उपहार
नगरपालिकाले ‘उपमेयर कोषेली कार्यक्रम’ मार्फत स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई झोला उपहार दिने भएको छ । झोला संगै सुत्ेकरी महिलालाई व्यक्तिगत सरसफाई सामाग्री, पोषणयुक्त खानेकुरा उपलब्ध गराउने उपमेयर रेग्मीले जानकारी दिनुभयो । उहाँहरुलाई सुत्केरी भएको तीन र सात दिनमा स्वास्थ्य संस्थामा नियमित जाँच गराएमा उपहार दिईने व्यवस्था मिलाएको उपमेयर रेग्मीले बताउनुभयो । ग्रामिण क्षेत्रमा सर्वेक्षण गर्दा सुत्केरी महिलाहरुले प्रसस्त मात्रामा पोषणयुक्त खानेकुरा नखाएको र व्यक्तिगत सरसफाई नगरेको समस्या पाईएकाले यो कार्यक्रम अगाडी सारिएको उहाँले बताउनुभयो । ग्रामिण क्षेत्रका महिलाहरुमा यो समस्या विकराल छ, नगरउपमेयर रेग्मीले भन्नुभयो,–‘समस्या समाधान गरि सुत्केरी महिलालाई टेवा पु¥याउने उदेश्यले यो कार्यक्रम अगाडी वढाएका हौँ । ’ यस कार्यक्रम मार्फत सुत्केरी महिलाले दुई हजार पाँच सय बराबरको सामाग्री पाउने उहाँले बताउनुभयो । जसवाट प्रत्यक्षरुपमा महिला दिदीवहिनीहरु लाभान्वीत हुने आशा लिइएको उहाँले बताउनुभयो ।
छोरीको सुनौलो भविश्यका लागि आमा शिक्षा कार्यक्रम
नगरपालिकाले छोरीको सुनौलो भविश्यका लागि आमा शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । नगरक्षेत्रभित्रका पाँच वर्ष मुनिका छोरीका आमालाई शिक्षा दिईने नगरउपमेयर रेग्मीले जानकारी दिनुभयो । यस कार्यक्रम मार्फत आमाहरुलाई आफ्नो छोरीहरुलाई शिक्षा, स्वास्थ्य र बचतमा जोड दिन सिकाउनुका साथै केहि आयआर्जन गरेमा आर्थिक सहयोग गर्ने योजना बनाएको उहाँले बताउनुभयो । प्रत्येक वडाका आमाहरुलाई भेटेर छोरीका लागि कसरी अगाडी वढने भन्ने विषयमा जानकारी लिनुका साथै शिक्षा र बचत तर्फ जोड दिईने उहाँले बताउनुभयो । पहिलो वर्षमा १० वडाका ९० जना आमालाई शिक्षा दिने लक्ष्य राखेको उहाँले बताउनुभयो । आफु पुग्न सकेकोमा आफै र नपुग्ने ठाउँमा स्वास्थ्य अनमीको सहायतामा आमा शिक्षा कार्यक्रम सञ्चालन गरिने नगरउपमेयर रेग्मीले बताउनुभयो ।
पाँच विरुवा उपहार
छोरीको सुनौलो भविश्यका लागि आमा शिक्षा कार्यक्रम मार्फत छोरीहरुको हितका लागि पाँच विरुवाहरु उपहार दिने भएको छ । नगरपालिकाले आमाहरुलाई बोदिचित्त,रक्तचन्दन, श्रीखण्ड, अमृत र रुद्राक्षको विरुवा उपलब्ध गराउने नगरउपप्रमुख रेग्मीले बताउनुभयो । नगरले उपलब्ध गराएका विरुवाहरु छोरी हुर्कायजसरी हुर्काउनुपर्ने छ, नगरउपमेयर रेग्मीले भन्नुभयो, –‘विरुवाबाटनै आर्थिक आम्दानी गर्नका लागि विरुवा उपहार दिएका हौँ । ’ यी विरुवाबाट हुने आम्दानीले छोरीको हेरचाँह, शिक्षा,स्वास्थ्य र सरसफाईको क्षेत्रमा सहयोग पु¥याउने उदेश्य रहेको उपमेयर रेग्मीले बताउनुभयो ।
स्वच्छ महिनावारी अभियान
नगरपालिकाले उपमेयर कोषेली कार्यक्रम मार्फत स्वच्छ महिनावारी अभियानलाई पनि प्राथमिकतामा राखेको छ । समृद्ध नगरपालिका बनाउने उदेश्य लिईरहेको अवस्थामा यो अभियानलाईपनि प्राथमिकता ठानेर अगाडी वढेको उहाँले बताउनुभयो । महिनावारी भएको अवस्थामा महिलाले ख्याल नगर्दा धेरै समस्या आईपर्नेका साथै , रोगले पनि आक्रमण गरेको हुन्छ,उहाँले भन्नुभयो,–‘ महिलाहरुलाई रोग लाग्न नदिनका लागि यो अभियान अगाडी वढाईएको हो । ’
स्वच्छ महिनावारी अभियानमा सहयोग पु¥याउनका लागि नगरक्षेत्रमै सेनेटरी प्याड निर्माण गरिने उहाँले बताउनुभयो । १० वर्ष देखी ६० वर्ष उमेर समुहका महिलालाई स्वच्छ महिनावारी अभियानमा सहभागी बनाईने योजना रहेको उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !