
सागर रिजाल
प्युठान,२२ साउन ।
प्युठान नगरपालिकाले विश्व स्तनपान सप्ताहको अवसर पारि कार्यालय परिसरमा स्तनपान कक्षको स्थापना गरेको छ । बच्चालाई स्तनपान गराउने महिलाहरुको सुविधालाई मध्यनजर गरी कार्यालय परिसर भित्र स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । नगरपालिकाको कार्यालयमा सेवा लिन आउने महिलाले आफ्ना बच्चालाई दुध चुसाउन असहज मान्ने, बच्चा रोइरहने अवस्था हुने हुँदा त्यस्तो अवस्थाको अन्त्य गरी कार्यालयलाई महिलामैत्री बनाउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख कक्षपतिको भनाई छ ।
स्तनपान कक्षको बुधवार नगरप्रमुख कक्षपतिले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले नगरपालिकाले महिलाको हकहित संरक्षण गर्नका लागि कक्षको स्थापना गरेको बताए । नगरपालिका आईसकेपछि काम गर्नका लागि समय लाग्ने हुँदा महिलालाई सुरक्षित भई स्तनपान गराउनका लागि कक्ष स्थापना गरेको उनले बताए ।उनले भने,–‘कक्ष स्थापनाले सुत्केरी महिलालाई सेवा प्रवाहमा सहजता प्रदान गर्ने छ । ’ स्तनपान कक्षमा स्तनपान गराउनका लागि खाँट र डाँडीको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठान पछि प्युठान नगरपालिकाले स्तनपान कक्ष स्थापना गरेको छ ।

विश्व स्तनपान सप्ताहको अवसरमा प्युठान नगरपालिकाका १२ वटै स्वास्थ्य संस्थामा आमा समूहको उपस्थिती गराई स्तनपानको महत्वका विषयमा चेतनामुलक कार्यक्रम गरिसकिएको नगरपालिका स्वास्थ्य संयोजक दधिराम सुवेदीले जानकारी दिए । साउन १६ गते देखी २२ गतेसम्म स्तनपान सप्ताह नगरपालिकामा मनायौँ, उनले भने,–‘अन्तिम दिन कार्यालयमा स्तनपान कक्ष राख्न सफल भयौँ । ’
कमेन्ट गर्नुहोस !