शुक्रबार, साउन ८, २०८३ | Friday 24th July 2026

पहिरोको उच्च जोखिममा गन्धर्व बस्ती ‘जग्गा त पाए तर घर बनाउने चिन्ता’


२० साउन । राधिका भुसाल
प्यूठान । प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर कुवापानीका गन्धर्व बस्ती यतिवेला पहिरोको उच्च जोखिममा परेका छन । बिगतका बर्षदेखि नै सन्त्रासमा जीवनयापन गर्दै आएका ती गन्धर्व समुदाय यसबर्षको बर्षायाममा पहिरोले बस्ती उठाउन थालेपछि जोखिममा रहेका हुन ।
२०७२ सालमा बस्ती मुनिबाट मोटरबाटो खनेपछि गन्धर्व बस्ती जोखिममा परेको स्थानीय ५८ वर्षे मोहन गन्र्धवले बताए । ‘तत्कालिन गाविस अध्यक्षले धेरैै आवश्वासन दिएर हाम्रो बस्तीमा मुनी डोजर लगाएका थिए’– उनले भने–‘जब मोटरबाटो बन्यो तब पहिरो झर्न सुरु भयो वर्षातको समय पानी परेको बेला धेरै जोखिम छ । हामी केही महिना त घरै छोडेर आफन्तको घरमा आश्रय लिएका थियौ ।’ थप्दैै उनी भन्छन्–‘हाम्रो फुर्ती त घाम लागेको बेला मात्रै हो, जब पानी पर्न थाल्छ अहिले पनि घर छोडेर भाग्नु पर्छ ।’ बस्तीमा पहिरो जोखिमलाई मध्यनजर गर्दै वडाले जग्गा उपलब्ध गराएकोमा आफुहरु खुसी भएको बताउदैं उनले भने –‘अब घर बनाउने चिन्ता छ ।’
आठ गन्धर्व परिवारलाई जग्गा धनी पूर्जा


प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरले पहिरोको जोखिममा परेको ८ गन्धर्व परिवारलाई जग्गा धनी पुर्जा (लाल पुर्जा) दिएको छ । आठै परिवारलाई सुरक्षित ठाउँमा सार्ने उदेश्यले १० रोपनी जग्गा उनीहरुको नाममा पास गरी जग्गा धनी पुर्जा दिएको वडा अध्यक्ष प्रेम बहादुर हमालले बताए । ‘वडा कार्यालयको जनता आवास कार्यक्रमबाट ५ लाख र नगरपालिकाले दलित सञ्जाललाई छुट्टाएको ३ लाख बजेटमा जग्गा खरिद गरेका थियौ’– वडा अध्यक्ष हमालले भने–‘जनता आवासको भवन सहितको कार्यक्रम आउछ भनेर आशा गरेको तर त्यो कार्यक्रम सरुमारानी गा.पा.मा परेकोले उनीहरु आफैले घर बनाउनु पर्ने भएको छ ।’ आर्थिक वर्ष ०७४÷७५ अन्तिम तिर जग्गा हस्तास्तरण गरेको बताउदै जनता आवासको जस्तापाता पनि ढिलो आएकोले २ परिवारले घर बनाइसकेको हुंदा अब जस्तापाता नपाउने बताए । चालु आर्थिक वर्षमा प्रदेशबाट सञ्चालन हुने भवन सहितको जनता आवास कार्यक्रम गन्धर्व बस्तीमा ल्याउनको लागि आफुले पहल गरिरहेको हमालले बताए । जग्गा पाउनेहरुमा तिर्थ बहादुर गन्धर्व, खुम बहादुर गन्धर्व, सिता गन्धर्व, सूर्य गन्र्धव, छुमा गन्धर्व, निर्मला गन्धर्व, विमला गन्धर्व र सुमित्रा गन्धर्व रहेको अध्यक्ष हमालले जानकारी दिए ।
घर बनाउन नसक्दा जोखिम ठाउँमा बस्न बाध्य
आफुुहरु पहिरोको उच्च जोखिममा रहेको हुंदा कतैबाट घर बनाउने सहयोग पाए तुरुन्तै नयाँ ठाउँमा सर्ने सिता गन्धर्वले बताइन् । ‘घरमुनीबाट मोटरबाटो खन्नासाथ यो ठाउँ छोडन् खोजेका थियौ ।’ उनले भनिन–‘कसैले मुखले भन्दैमा घर बन्दैन । हाम्रो आर्थिक अवस्था धेरै नाजुक छ । घर बनाउनको लागि जस्तापातसंगै दारपात पनि उपलब्ध गराइदिनु पर्छ ।’ गाउँ गाउँमा सिंह दरबार आएको भने पनि आफुहरु जस्तो गरिबको आँसू पुछ्न नसेको उनले बताइन् । यता अध्यक्ष प्रेम बहादुर हमालले भने घर बनाउने दारपात उपलब्ध गराउन नसक्ने बताएका छन् ।
आफ्नो जग्गाको नाउँमा घर उभिएकोे ठाउँ भन्दा बढि नभएकोले एक जनाको कमाइले परिवारको राशन खर्च र नांगो ढाक्नै ठिक्क हुने उनीहरु बताउछन् । वडाले जस्ता उपलब्ध गराउने भनेता पनि घर बनाए सकिदा समेत जस्तापाता नपाउदा ऋण खोजेर जस्ता खरिद गरी घर छाउनु परेको छुमा गन्धर्वले बताइन । उनले भनिन्–‘वडाबाट जस्तापाता दिन्छौं भनेर घर बनाए तर पाइन ।’ घर बनाएको ऋण कसरी तिर्ने भन्ने पिरलो भएको उनले व्यक्त गरिन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top