आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

मल्लरानीमा सोलार–सेट वितरणमा किचलो मापदण्डको खिल्ली उडाउँदै हुनेखाने दलित तथा जनजातिलाई सोलार


प्यार अलि खाँन
मल्लरानी गाँउपालिकामा सोलार वितरणमा किचलो आएको छ । वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र काठमाण्डौबाट अनुदानमा आएका सोलार–सेट वितरणमा विवाद देखिएको हो ।
२० वाट क्षमताका ४ सय ८० थान सोलार सेट आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । ४ वटा बत्ती सहित १ प्यानल सेट आएको रिजालले बताए । यस अघि गाँउपालिकालाई वैकल्पिक उर्जाले आदिवासी जनजाती, दलित, अति विपन्न तथा पिछडिएको क्षेत्रलाई प्राथमिकतामा पारी नाम पठाउन आग्रह गरेसंगै पालिकाले वडा मार्फत नाम लिष्ट वैकल्पिक उर्जा केन्द्रमा पठाएको थियो ।
सोलार आईसकेपछि वितरणमा प्रक्रियामा क्रुटि भएको स्थानियहरु बताउँछन् । सोलार वितरणमा विशेषगरि वडा नं. ४ मा विवाद देखिएको स्थानिय इमानसिंह भारतीले बताए । ‘हुनेखाने धनाड्यले सोलार पाए ।’ नेकपा मल्लरानीका अध्यक्ष समेत रहेका भारतीले भने, ‘वास्तविक गरिब तथा विपन्न वर्गले सोलार पाएनन् ।’ अनुदानमा आएका सोलार सेटको बजार मुल्य करिब ८ हजार पर्ने बताईएको छ ।
उता वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले गाँउपालिकाले आफ्नो वडामा १ सय ५ सेट सोलार पठाएको बताए । ‘हाम्रो वडामा सबैको घरमा विजुली छ, तर अति गरिब महसुल तिर्न नसक्नेलाई प्राथमिकतामा पारेका छौँ ।’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘वाँकी बचेको २० सेट सोलार विपन्न बर्गलाई नै दिन्छौँ ।’
वडा नं. १ मा पहिला वैकल्पिक उर्जामा पेश गरिएको नामावलिमा सोलार आईसकेपछि नाम फेरबदल भएको स्थानिय स्थानिय सुक्रराज सार्कीले बताए । दलित समुदायको नाम छानीछानी काटिएको सार्की बताउँछन् । भक्त बहादुर नेपाली, उजेली नेपाली, सुमन्त नेपाली, खेतुलाल सार्की र धनकला सार्कीको नाम छुटेको उनले बताए । वडामा नाम संकलन गर्दा आफ्ना आसेपासे तथा कार्यकर्तालाई खोजी–खोजी हालिएको र राजनीतिक पूर्वाग्रही साँधिएको स्थानियहरुको आरोप छ ।
वडाबाट सिफारिस भई आएका मापदण्डभित्र पर्नेलाई सोलार दिने कार्यक्रम रहेको गाँउसरकार प्रमुख अमरध्वज रानाले बताए । ‘सुरुमा १ सय ५० सेट सोलार मात्र माग गरेका थियौँ ।’ प्रमुख रानाले भने, ‘४ सय ८० सेट आउने भएपछि वडालाई छनौट गर्ने जिम्मा दियौँ ।’ विशेषगरि खलङ्गा बजारका केही हुनेखाने साथीहरुले सोलार लिएपछि सामान्य असन्तुष्टि बाहिरिएको गाँउसरकार प्रमुख रानाले बताए । ‘दिए पछि फिर्ता माग्न अफ्ट्यारो प¥यो ।’ पालिका प्रमुख रानाले भने, ‘केही साथीहरुले सोलार फिर्ता गर्छौँ भन्नु भएको छ ।’ केही वडाले सोलार वितरण गरिसकेको र केहीले वाड्न वाँकी रहेको रानाको भनाई छ । मिटर बक्स जोड्न नसकेका, लुज तारबाट बिजुली बालेका र पिछडा बर्गलाई पहिलो प्राथमिकतामा पारिने गाँउपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top