
सागर रिजाल
प्युठान,२० असार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई( धान जोन ) प्युठानले चालु आर्थिक वर्ष ०७५÷०७६ मा ऐरावती र मल्लरानी गाउँपालिकाका विभिन्न ठाउँमा १७ वटा सिँचाई कुलो निमार्ण गरेको छ । लामो समयदेखी पानी नभएर धान लगाउन नपाएका स्थानीयहरुलाई मध्यनजर गरि सिँचाई कुलो निमार्ण गरिएको कार्यालयले जानकारी दिएको छ । मल्लरानी गाउँपालिका अन्र्तगत वडा नंम्बर २ र ३ मा १३ वटा सिँचाई कुलो र ऐरावती गाउँपालिका अन्र्तगत वडा नंम्बर ५ र ६ मा ४ वटा गरि १७ वटा सिँचाई कुलो निमार्ण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्रमुख भास्कर पौडेलले जानकारी दिनुभयो ।
दुई करोड वढी बजेटमा सिँचाई कुलो निर्माण
मल्लरानी गाउँपालिकामा चुजाँ छापेखोला काउलेटारी सिँचाई आयोजना, साउने खोला सिँचाई आयोजना, नर्सरी सिँचाई कुलो, सूर्यमुखी सिँचाई कुलो, वुढदेवी बगर सिँचाई आयोजना, सेराखोला सिँचाई आयोजना, कैनी कुलो, विराह मुख सिँचाई आयोजना, डबलीटारी सिँचाई आयोजना लगाएतका १७ वटा सिँचाई कुलोको लागि १८ लाख ३५ हजार रुपिँयामा निमार्ण गरिएको इकाई प्रमुख पौडेलले जानकारी दिनुभयो । त्यस्तै ऐरावती गाउँपालिका अन्र्तगत वडा नंम्बर ५ र ६ मा स्यालाविनीटारी सिँचाई आयोजना, छापेखोला सिँचाई आयोजना, नब्बेफाँट सिँचाई आयोजना र लिफ्ट सिँचाई आयोजनाका लागि आठ लाख ५० हजार रुपिँयामा कुलो निर्माण गरिएको हो । ऐरावती र मल्लरानीमा कुलो निर्माणका लागि दुई करोड ६ लाख ८५ हजार रुपिँया बजेट विनियोजन गरिएको इकाई प्रमुख पौडेलले जानकारी दिनुभयो ।
सिँचाई कुलो निर्माण भएसंगै किसान खुसी
लामो समयदेखी पानी नभएर धान खेति गर्न नपाएका किसानहरु सिँचाई कुलो निर्माण भएपछि खुसी भएका छन् । अगिल्ला वर्षहरुमा पानी नभएर केहि भाग मकै रोपेका थियौँ, केहि ठाउँ खाली छोडेका थियौ, ऐरावती–६ महेन्द्रदिपका कृषक ईन्द्रमणी घिमीरेले भन्नुभयो,–‘अहिले सिँचाई कुलो निर्माण भयो, अब धान रोप्छौँ । ’ लामो समयदेखी सिँचाई नहुँदा खेत बाझै छोडियो, बाहिरबाट चामल किनेर खानुपथ्र्यो, उहाँले भन्नुभयो,–‘अब पानी भयो आफ्नै खेतमा धान उब्जाउछौँ । ’
घिमीरेसंगै ऐरावती र मल्लरानीका सयौँ किसान सिँचाई कुलो निमार्ण भएसंगै खुसी भएका छन् । निमार्ण सम्पन्न भएपछि कुलोको जिल्ला समन्वय समिति प्रमुख केशवराज आचार्यको नेतृत्वमा अनुगमन गरिएको छ । अनुगमन गर्दै जिल्ला समन्वय समिति प्रमुख आचार्यले किसानका लागि निमार्ण गरिएका सिँचाई कुलाको संरक्षण गर्नुपर्ने बताउनुभयो । किसानले अन्नवाली उत्पादनका लागि पानी महत्वपूर्ण भएको उहाँले बताउनुभयो । त्यस्तै मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगरले आफ्नो पालिका क्षेत्रमा जोन परियोजनाले सिँचाई कुलो निर्माण गरिदिएकोमा खुसी व्यक्त गर्नुभयो । पालिकालेपनि खानेपानी योजनाका लागि थुप्रै योजनाहरु अगाडी सारेको उहाँले जानकारी दिनुभयो । अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख केशवराज आचार्य, मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज रानामगर, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे, जोन ईकाइ प्रमुख भास्कर पौडेल लगाएतको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस !