
प्यार अलि खाँन
प्यूठानमा विद्युत आपुर्ति सेवा नियमित बन्न सकेको छैन् । गर्मी मौशमको सुरुवातसंगै विद्युत सेवा नियमित बन्न नसक्दा प्यूठानी जनताहरुले सास्ती भोग्नुपरेको छ । मिनेट–मिनेटमा आउने–जाने विद्युतको नियती नै बन्न पुगेको छ । झिमरुकमा पानी घटेसंगै झिमरुक पावर हाउसबाट हाल विद्युत उत्पादन नभएको बिपिसिका निमित्त प्रमुख डिल्ली ढकालले बताए ।
‘भोल्टेज अप–डाउन प्रमुख समस्या बनेको छ ।’ ढकालले भने, ‘राष्ट्रिय प्रशारण लाईनमै समस्या छ, यहाँबाट सुधार गर्न सकिदैन् ।’ १३२ केभी प्रशारण लाईनमा ११०/११२ भोल्टेज आसपास भैदिँदा विद्युत बन्द हुने समस्या रहेको ढकालले बताए । ‘पावर हाउसबाट समस्या भएको होईन ।’ ढकालले थपे ।

राष्ट्रिय प्रशारण केन्द्र लमही मार्फत प्यूठानमा विद्युत आपुर्ति भैरहेको प्राधिकरण प्यूठान शाखाका प्रमुख जयनन्द बोगटीले बताए । ‘ग्रिड स्टेबल छैन् ।’ बोगटीले भने, ‘समस्याबारे बारम्वार केन्द्रमा भनेका छौैँ ।’ दम्तीमा निर्माणाधिन सव–स्टेसन संचालन भए समस्याको स्थायी समाधान हुने बोगटी बताउँछन् । एल.डि.सि काठमाण्डौलाई भोल्टेज समस्या मिलाईदिन आग्रह गरिरहेको प्राधिकरणले जनाएको छ ।
विद्युत समस्याबारे क्षेत्र तथा केन्द्रमा समेत ध्यानाकर्षण गराईएको प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले बताए ।‘ध्यानाकर्षण गराएका छौँ , तर भोल्टजनै समस्या देखीयो’ प्रजिअ गैहृेले भने,–‘देशव्यापी समस्या रहेकाले प्युठानबाट सुधार गर्न सकिने अवस्था रहेनछ । ’
विद्युत समस्याका बारेमा जिल्लाका क्रियाशील विद्यार्थी संगठनहरुले सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराएको विद्यार्थी नेता विनोद भण्डारीले बताए ।
उता उपभोक्ताहरुले भने सिस्टममा आउने खराबी वाहेक प्यूठानमा चौबिसै घण्टा बिजुली बाल्ने प्रतिबद्धता गरेका झिमरुक जलविद्युत केन्द्र र विद्युत प्राधिकरण शाखाको लापरवाहीले समस्या भएको बताएका छन् । विद्युत सेवा नियमित नबन्दा जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयहरु, वित्तिय संघसस्था, उद्योगी व्यापारीहरु प्रत्यक्षरुपमा सास्ती खेपीरहेका छन् भने विद्युत सेवामा भर पर्ने एफ.एम रेडियो, साना लघु तथा घरेलु उद्योग, कुखुरापालक, काष्ट उद्योग, प्रेस संचालकहरुले बढी समस्या भोग्दै आएका छन् ।
कमेन्ट गर्नुहोस !