
सागर रिजाल
प्युठान,१० जेठ ।
प्युठानमा ट्राफिक प्रहरीले सडकमै गाडी चालकको आँखा परिक्षण गरेको छ । सवारीसाधन चलाउने चालकका आखाँ कमजोर हुँदा दुर्घटना हुने भन्दै दूर्घटना न्यूनीकरणकालागि चालकहरुको आँखा परिक्षण गरिएको हो । चालकलाई रिफ्रेस पनि हुने आँखाको अवस्थापनि जानकारी हुने भएकाले सडकमै परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय देवीस्थान प्युठानका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण बहादुर बिश्वकर्माले बताए । प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार संग समन्वय गरि निशुल्क आँखा जाँच गरिएको उनले बताए ।
सड्कमा चालकको लापरवाहीले धेरै दुर्घटना हुने गरेपछि ट्राफिक प्रहरीले यो अभियान अगाडी वढाएको उनले बताए । ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनीकरण अन्र्तगत जिल्लामा सड्कको छेउछाउमा रहेका विद्यालयहरुमा ट्राफिक सचेतनाका कक्षाहरु समेत सञ्चालन गरिएको विश्वकर्माले बताए । जिल्लाका विभिन्न स्थानमा यस्ता परिक्षण गरिएको उनको भनाई छ । चालकहरुलाई सवारी साधन चलाउदा आँखा ठिक नितान्त हुनुपर्छ । उनले भने,–‘यहि अनुसार प्युठानमा समेत आँखा जाँच गरिएको हो ।
सवारी दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यालय प्युठानले नयाँ योजना अगाडी सारेको छ । यात्रुको आवतजावत वढी हुने ठाउँमा जेब्राक्रस राख्ने योजना रहेको ट्राफिक प्रमुख विश्वकर्माले जानकारी दिए ।
त्यस्तै माण्डवी गाउँपालिका अन्र्तगत पर्ने चकचके बजारमा आईलाईन राख्ने, विभिन्न ठाउँमा ट्राफिकमुलक चिन्ह, सन्देश राखिने र चकचकेमै सोलार प्यानल बत्ति राखिने योजना बनाएको उनले बताए ।
९२ जनाको आखाँ चेकजाच
यस क्रममा ट्राफिकले ९२ जना चालकको सडकमै आँखा चेकजाँच गरेको छ ।आँखा परिक्षण गरेर समस्या देखिएका चालकलाई चस्मा लगाउन र औषधी सिफारिस गरेको छ । मोटरसाईकल, बस, जीप, म्याजीक, कार चालकको आँखा परिक्षण गरिएको हो । चेकजाँचमा कुनै चालकको सामान्य समस्या देखिएपनि अरु समस्या नदेखीएको ट्राफिक प्रमुख विश्वकर्माले जानकारी दिए ।
चालु आवमा १२ जनाको मृत्यु
चालु आर्थिक वर्षको दश महिनामा सवारी दुर्घटनामा परि प्युठानमा १२ जनाले ज्यान गुमाएका छन् । जसमा पुरुष ७ जना, महिला ३ जना, बालक १ जना, बालिका १ जना गरि १२ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रहरी नायव निरिक्षक कृष्ण विश्वकर्माले जानकारी दिए ।
त्यस्तै नौ महिनाको अवधीमा सवारी दुर्घटनामा परि ४९ जना गम्भीर घाईते भएका छन् । जसमा पुरुष ३३ जना, महिला ८ जना, बालक ६ जना, बालिका २ जना रहेको कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय प्युठानको तथ्यांक अनुसार आर्थिक वर्ष ०७२÷०७३ मा २४ जनाको मृत्यु ४९ गम्भिर घाईते, ०७३÷०७४ मा १८ जनाको मृत्यु ४२ जना गम्भिर घाईते र ०७४÷०७५ मा १८ जनाको मृत्यु र ४९ जना गम्भिर घाईते भएको ट्राफिक प्रमुख विश्वकर्माले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !