
सागर रिजाल
प्युठान ।
जिल्लाका स्वर्गद्धारी, गौमुखी, ऐरावती, भित्रीकोट पछिको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तिर्थस्थल नौवहिनी हो । नौवहिनी गाउँपालिका वडा नंम्बर १ स्याउलिबाङ्ग गाउँको नजिकै पर्ने नौवहिनी पर्यटकीय दृष्टिकोणले सुन्दर ठाउँ मानिन्छ । पर्यटकीय स्थल नौवहिनीको नामबाटै गाउँपालिकाको नामाकरण समेत नौवहिनी राखिएको छ । रोल्पा, बाग्लुङ्ग जिल्लाको सिमानामा पर्ने यो क्षेत्र प्रचारप्रसार नहुँदा ओझेलिएको छ ।
के हो त नौवहिनी ?
जिल्लाकै दुर्गम क्षेत्रमा अवस्थित नौवहिनीका विषयमा धेरै चर्चा गरेको पाईन्छ । नौवहिनीको किवदन्ती नै फरक छ । यस क्षेत्रमा नौवहिनीहरु संगै बसेको भन्ने सुन्न सकिन्छ । नौवहिनी बस्नका लागि गुफा, खेत उत्पादनका लागि खेतका गहरा, नौवहिनी नुहाउने पधेरो देख्न सकिन्छ । नौवटा बहिनी बसेको ठाउँ भएर यस ठाउँको नाम नौवहिनी राखिएको भन्ने किवदन्ती पाईन्छ ।
नौवहिनीका विषयमा यस क्षेत्रका व्यक्तिहरु फरक फरक बताउने गर्छन् । नौवहिनी भएका ठाउँका मानिसहरुले प्राय तामा उत्खनन गर्ने गर्दथे भन्ने सुनिन्छ । तामा उत्खनन गर्ने क्रममा एकदिन रुकुम क्षेत्रबाट एक जना बने नामको मान्छे व्यक्ति आएको र उ पनि तामाखानी खन्न लागेको किबदन्ती छ । तामाखानीमा काम गर्ने क्रममा बनेले यही गाउँकी केटी विहे गरेको थियो । तामा खन्ने क्रममा गाउँलेले भन्दा वढी बनेले खनेपछि उसलाई मार्ने योजना बनाई चैते दशै पर्वमा छोरी ज्वाईलाई माईती बोलाए । माईत गईसकेपछि खाना खाने क्रममा बनेले श्रीमतीलाई संकेत खाना खान नभई भगायो उसको खाना खाएर त्यही स्थानमा मृत्यु भएको र बनेकी श्रीमती भाग्दै ओडारमा बसेको भन्ने सुनिन्छ । ओडारमा उसको छोरा जन्मिएको र उसले सबै गाउँका केटाकेटीहरुलाई बाण हान्ने खेलमा जित हासिल गरेको किवदन्ती रहेको वडा नं १ का वडा अध्यक्ष शेर बहादुर सेनले बताए । खेल जितेपछि केटालाई समेत मार्ने योजना गाउँलेले गरे । त्यसै क्रममा नौवहिनी देवीले उसलाई सेउला दिएर भगाएको भन्ने छ । र केटाले जुन ठाउँमा स्याउदा खसाल्यो उक्त ठाउँको नाम स्याउलाबाङ्ग हुदै स्याउलीबाङ्ग राखिएको वडा अध्यक्ष सेनले बताए । यी यस्ता घट्नाले पनि नौवहिनी मानिसको संरक्षण गर्ने र बस्ती बसाउने स्थान भएकाले यसको संरक्षणमा गाउँपालिका र वडा जुटेको उनले बताए ।

सड्क नहुँदा ओझेलीयो
नौवहिनीमा विभिन्न झरना, मनमोहक दृश्य हुदाहुदैँ पनि ओझेलिएको छ । सड्क सञ्जाल गाउँसम्म नपुग्दा यो क्षेत्र ओझेलिएको यस क्षेत्रका स्थानियहरु बताउछन् । नौवहिनी गाउँपालिका १ मा पर्ने यस क्षेत्र सड्क सञ्जालमा नजोडिदा यहाँका स्थानियहरु चिन्तीत छन् । जिल्लाका सबै क्षेत्रमा सड्क पुगेपनि यो क्षेत्रमा सड्क नपुग्दा यो क्षेत्र विकासमा पछाडी परेको छ । विकास संगै पर्यटकीय स्थलहरु समेत लोप हुने अवस्थामा छन् ।
नौवहिनी संगै जिल्लाकै उच्च स्थानमा रहेको कोठेभिर हिमाल पनि यसै क्षेत्रमा पर्दछ । यो पनि सड्क नै नहुँदा ओझेलमा परेको छ । यो समुन्दी सतहदेखी ३ हजार ६ सय ५९ मिटर उचाईमा छ । यस ठाउँमा पुगेपछि विभिन्न हिमाल, नौवहिनी क्षेत्र, गौमुखी क्षेत्र अवलोकन गर्न सकिने वडा अध्यक्ष सेनले बताए । यस ठाउँमा गाउँपालिका जेठ ६ गते नेपालको झण्डा समेत फहराएको छ । यस क्षेत्रको विकास र कोठेभिर क्षेत्रको पहिँचान संगै संरक्षणका लागि झण्डा गाडिएको उनले बताए । झण्डा गाडिनुका साथै यस क्षेत्रमा रहेका नौवहिनी र कोठिभीर क्षेत्रको विकास र संरक्षणमा जुटन समेत गाउँपालिका कटिवद्ध हुने निर्णय समेत गरिने उनको भनाई छ ।
स्याउलिबाङ्ग गाउँ नजिकै मन्दिर निमार्ण गरि नौवहिनी देउताको पुजा गरिन्छ । एक वर्ष विरायर बैशाखे पूर्णिमामा पुजा गरिने स्थानिय सूर्यबहादुर सेनले जानकारी दिए ।

कसरी पुगिन्छ नौवहिनी
जिल्लाको मुख्य बजार बाग्दुला देखी १३ किलोमिटर कच्ची सड्क पार गरेपछि नौवहिनी गाउँपालिकाको केन्द्र बाहाने पुगिन्छ । बाहाने देखी १२ किलोमिटर कच्ची सड्क पार गरेपछि हाम्पाल भन्ने स्थानसम्म सड्क सञ्जाल पुगेको छ । हाम्पालदेखी करिब ८ किलोमिटर सड्क पैदल हिडेपछि नौवहिनी १ स्याउलिबाङ्गमा पुगिन्छ । स्याउलिबाङ्ग गाउँमा पुगेपछि २ घण्टा पैदल हिडेपछि नौवहिनी क्षेत्रमा पुग्न सकिन्छ । नौवहिनी झरना, गुफा हेर्नका लागि पर्यटकहरुको सहायता होस भन्ने उदेश्यले पदमार्ग निमार्ण गरिएको वडा अध्यक्ष सेनले बताए । यी क्षेत्रको संरक्षणमा समेत स्थानियहरु जुटेको उनको भनाई छ ।
पर्यटकीय स्थलको प्रचारप्रसारमा गाउँपालिकाको योजना
नौवहिनी र कोठेभिर प्रचारप्रसारका लागि गाउँपालिकाले नयाँ योजना बनाएर अगाडी वढेको वडा अध्यक्ष सेनले बताए । पूर्वाधारको विकास, प्रचारप्रसार गर्नुका साथै यस क्षेत्रमा अतिथी गृह निमार्ण गर्ने योजना बनाईएको उनले बताए । जनजाती, ठकुरी, क्षेत्री, दलित बसोबास रहको स्याउलिबाङ्गमा होमस्टे अवधारणा, बस्ती विकास गरिने उनले बताए ।
स्याउलिबाङ्गबासीहरुको मुख्य पेशा खेतिपाती नै हो । यस क्षेत्रका बासिन्दाहरुको मुख्य खेती आलु उत्पादन हो । आलु उत्पादन धेरैनै भएपनि सड्क नहुँदा बेच्न नपाएको यस क्षेत्रका स्थानियहरु बताउछन् । आलुसंगै यस क्षेत्रमा मकै, गहुँ कोदो पनि केहि मात्रामा उत्पादन हुने गर्दछन् ।

१ वर्ष भित्रमा स्याउलिबाङ्ग सड्क जोडिन्छ ः पालिका अध्यक्ष
नौवहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले गाउँपालिकाको दुर्गम क्षेत्र स्याउलिबाङ्ग १ वर्षमा सड्क पु¥याउने बताए । प्रदेश सरकारले यो सड्कका लागि बजेट विनियोजन गरेको छ भन्ने भ्रम भयो, उनले भने,–‘त्यसैले यो सड्कलाई गाउँपालिकाले बजेट विनियोजन गरेन । ’ उनले अब यो सड्क पालिकालेनै जोड्ने बताए । सड्क सञ्जालले यो क्षेत्रलाई जोडेर यस क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु नौवहिनी र कोठेभिरको प्रचारप्रसार र प्रवद्र्धनमा पालिकाले योजना अगाडी वढाएको उनले बताए ।
सड्क सञ्जाल जोडिएपछि यस क्षेत्रमा पर्यटकहरु आउने विश्वास लिएको उनले बताए । नौवहिनी र कोठेभिर प्रचारप्रसारका लागि गाउँपालिकाले योजना बनाएर अगाडी वढेको उनले बताए ।

प्रचारप्रसार र संरक्षणका लागि महोत्सव
नौवहिनी गाउँपालिका–१ स्याउलिबाङको खलेसबाङमा दोस्रो नौवहिनी धार्मिक तथा पर्यटन महोत्सव सञ्चालन भएको छ । जेठ ५ देखि ९ गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएकोे छ । कोठिभिर विकास केन्द्र नेपालको आयोजना तथा नौवहिनी गाउँपालिका र वडा कार्यालयको संयोजनमा महोत्सव सञ्चालन गरिएको हो । जिल्लाको सबै भन्दा अग्लो टापु कोठेभिर लगाएत नौवहिनी गाउँपालिकामा रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचारप्रसार एंव संरक्षण गर्ने उदेश्यले महोत्सव सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष पूर्ण वुढा मगरले जानकारी दिए ।
जेष्ठ ५ गते चण्डीगड पूर्णिमाका दिन देखि ९ गते सम्म सञ्चालन हुने महोत्वस नौबहिनीको प्रचार प्रसार गर्नका लागि समुन्द्रि सतह देखि ३४ सय ५० मिटरको उचाइमा रहेको खलेसवाङको घासे मैदानमा गरिएको हो ।
भौगोलिक बिकटताका कारण बिकासका हिसाबले पछाडी परेको स्याउलिवाङको बिकासका लागि महोत्सव मह्त्वपुर्ण हुने बताएका छन् । स्थानिय स्तरमा उत्पादित बस्तुको बजारीकरण,त्यस क्षेत्रमा भएका महत्वपुर्ण जडिबुटीको उचित व्यबस्थापन, नेपाली कागज, स्याउलिबाङका लोक तथा रैथाने कला सँस्कृती , पर्यटकिय सम्भावना रहेको जिल्लाको उच्च भाग कोठिभिर , नौबहिनी गुफा तथा झरना , श्राबण १ गतेमात्र उम्रने पानिको मुहान लगाएतको प्रचारप्रसार गरी त्यस क्षेत्रको विकासका लागि महोत्सव सञ्चालन गरिएको हो ।
५ दिन सम्म सञ्चालन हुने महोत्सवमा ख्याति प्राप्त कलाकार तथा स्थानिय कलाकारहरुद्धारा दैनिक राष्ट्रभक्ति, चेतनामुलक तथा मनोरञ्जनात्मक लगाएत विविध विधामा प्रतिभा प्रर्दशनी गरिने संस्थाका अध्यक्ष मगरले जानकारी दिए । त्यस्तै लोक सांस्कृतिक प्रतियोगिता, खुल्ला भलिवल, महिला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता सञ्चालन गरिने उनले बताए । स्थानिय कृर्षि , हस्तकला,लघु उद्यमीले उत्पादन गरेका बस्तुको प्रचार , धार्मिक तथा पर्यटकिय क्षेत्रको चिनारी, विभिन्न बिषयमा बिचार गोष्ठि आकर्षणका विषयबस्तु रहेको संस्थाका अध्यक्ष मगरले बताए ।
महोत्सवमा ५ हजार दर्शक तथा २२ लाख सम्मको कारोबार हुने अपेक्षा गरीएको कोठिभिर बिकास केन्द्रका सचिव एल पि सेरचनले जानकारी दिए । महोत्सवले नौबहिनी क्षेत्रको मात्र नभइ समग्र जिल्लाको विकासमा सहयोग पुग्ने छ । यस क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय गन्तब्य लाइ राष्ट्रिय स्तरमा प्रचार गर्न , स्थानिय उत्पादनको बिकास गरी बजार घाटा न्युनिकरण गर्न , लगानिका क्षत्रको पहिचान गरी लागानिका लागि प्रोत्साहन गर्न , नगदे बाली तथा जडिबुटिको आधुनिकरण गर्ने महोत्सवको मुख्य उदेश्य रहेका सेरचनले जानकारी गराए ।

कमेन्ट गर्नुहोस !