
सागर रिजाल
प्युठान,१८ बैशाख ।
ऐरावती गाउँपालिकाले सूचना, सञ्चार र प्रविधिको प्रयोग गरि आफ्ना कार्यक्रम अगाडी वढाएको छ । आधुनिक युगलाई सूचना, सञ्चार संगै प्रविधिको युग भनिएसंगै गाउँपालिकाले यसको महत्व सबै क्षेत्रमा पु¥याउन आफ्ना गतिविधिहरु सञ्चालनमा ल्याएको छ । यसले गाउँपालिका, वडा कार्यालय संगै सेवाग्राहीमा सहजता ल्याएको छ ।
विद्यालयमा ई हाजिरी जडान
गाउँपालिका शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयमा ई हाजीरी जडान गरेको छ । पालिकाका जनता माध्यामिक विद्यालय विजुली र मोती माध्यामिक विद्यालयमा ई हाजीरी जडान गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले जानकारी दिनुभयो । हातको सेन्सरले हाजिरी गर्ने राखिएको र शिक्षक विद्यालयमा सही समयमा आए नआएको गाउँपालिकाको केन्द्रबाट हेर्न सकिने उहाँले बताउनुभयो । यसले गर्दा शिक्षकको हाजिरी कार्यालयमै बसी रेकर्ड राख्न सकिन्छ । उहाँले भन्नुभयो,–‘यसले गर्दा शिक्षक समयमा विद्यालयमा उपस्थिती हुनुहुनेछ । ’ विद्यालयमा सहि समयमा शिक्षक आएसंगै शिक्षामा गुणस्तर वृद्धि गर्न टेवा पुग्ने अपेक्षा गाउँपालिकाले लिएको छ ।
यहि महिनाको अन्त्य सम्ममा पालिकाका दाङवाङ, जाबुने, सरङबेसी, धुवाङ गरि ४ वटा माध्यामिक विद्यालयमा समेत ई हाजिरी जडान गरिने प्रविधि अधिकृत गुरुङले जानकारी दिनुभयो । त्यस्तै पालिका क्षेत्रका सम्पूर्ण विद्यालयमा आगामी वर्षमा ई हाजिरी जडान गरिने गुरुङले बताउनुभयो ।
गापाका गतिविधि वेवसाईट र मुवाईल म्यासेजमा
त्यस्तै गाउँपालिकाले पालिकामा गरिने गतिविधि वडा कार्यालय, विद्यालय लगाएत सेवाग्राहीसम्म पु¥याउन वेवसाईट , गुप्र म्यासेज मार्फत जानकारी गराएको छ । गाउँपालिकाबाट निस्कने सूचना, कुनै विषयमा पुरा गर्नुपर्ने कुराहरु यसैबाट सेवाग्राहीले जानकारी पाउने प्रविधि अधिकृत गुरुङ बताउनुहुन्छ ।
दैनिक गतिविधि संगै अरु जानकारीमुलक विषयबस्तुहरु गाउँपालिकाको एप्समा राखी जानकारी गराउने प्रयास गरिएको उहाँले बताउनुभयो । त्यस्तै गाउँपालिकामा सिसीटिभी जडान गरिएको छ ।

मुवाईल एप्स सूचारु , काममा सहजता
पालिकामा मुवाईल एप्स समेत सुचारु भएको छ । यो एप्स सुचारु भएसंगै सेवाग्राहीका गुनासा अनलाईनमै दर्ता हुन थालेको कार्यालयका प्रविधि अधिकृत गुरुङले जानकारी दिनुभयो । यो सेवालाई सेवाग्राही घरमै बसी प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ यस मार्फत सेवाग्राहीले जुनुसुकै ठाउँबाट भएपनि समस्या राख्न पाउँछन् । ’ पालिकाले यो एप्स सञ्चालनमा ल्याएसंगै सेवाग्राहीलाई सानातिना गुनासा लिएर कार्यालयमै आउने बाध्यता हटेको छ ।
पालिकाले सुचना, सञ्चार तथा प्रविधिका विषयमा पालिकाका ६ वटै वडामा यसको महत्व र प्रयोगमा फाईदाका विषयमा तालिम सञ्चालन गरेको गुरुङले जानकारी दिनुभयो । वडा कार्यालय र पालिकाको दुरी टाढा भएपनि सूचना र सञ्चारको पहुँचले नजिक बनाएको छ, गुरुङले भन्नुभयो,–‘पालिकाका गतिविधि, चिठी, सूचना ईन्टरनेट मार्फत आदानप्रदान हुदा काममा सहजता भएको हो । ’
कमेन्ट गर्नुहोस !