
प्युठान,७ बैशाख ।
जिल्ला प्रशासन कार्यालय प्युठानले नौवहिनी गाउँपालिका वडा नंम्बर १ स्याउलीवाङमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । जिल्लाको ६४ वडा मध्ये सबैभन्दा विकट वडा स्वाउलिवाङमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । पिछिल्लो समयमा दुर्गम वस्तिहरूसम्म पुगेर स्थानीयका समस्याका बारेमा स्थलगत अध्ययन गरि समस्या समाधानका लागि सहजीकरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय, प्यूठानले स्याउलिवाङमा पनि कार्यक्रम गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सनुवाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गैह्रेले जिल्लाकै दुर्गम स्थानमा पुगी स्थानीय बासीको समस्या बुझ्न पाउँदा आफु अत्यन्तै खुशी रहेको बताउँदै स्याउलिवाङ बासीका समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । स्थानीय बासिबाट उठेका प्रश्न तथा जिज्ञासाहरूको जवाफ दिँदै प्रजिअ गैह्रेले शान्ति सुरक्षा, विकासमा सहजीकरण, सेवा प्रवाहमा प्रभावकारिता, घरदैलोमा सेवाको पहुँच पुर्याउने, सुशासन प्रवद्र्धन, विपद व्यवस्थापन जस्ता कार्यलाई प्राथमिकता दिई आफुले कार्य गर्दै आएको बताउनुभयो । उहाँले शान्ति सुरक्षा कायम गर्न स्थानीयस्तरमा मदिरा नियन्त्रण र नियममा जोडदिनुपर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, सुरक्षा निकाय र नागरिकबीच साझेदारी हुनुपर्ने जस्ता कुरामा जोड दिदै उक्त कार्यका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताउनुभयो ।
प्रजिअ गैह्रेले स्याउलिवाङ चट्याङ तथा पहिरोबाट अत्यन्त जोखिममा रहेको बताउँदै चट्याङ न्यूनीकरण प्रविधिको विकासका लागि सम्बन्धित निकायमा पहल गर्ने भन्दै पहिरो न्यूनीकरणका लागि स्थानीय बासी तथा स्थानीय तह जागरुक भई लाग्नुपर्ने, जोखिममा रहेका बस्ती स्थानान्तरण गर्नुपर्ने र सोका लागि स्थानीय तहले अध्ययन गरि सिफारिस गरि पठाउन अनुरोध गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी गैह्रेले जिल्लास्थित कार्यालयहरूसँग समन्वय गरि स्याउलिवाङमा नयाँ कार्यक्रमहरू पार्न आफुले पहल गर्ने बताउनुभयो । साथै उहाँले सेवा प्रवाहमा आफुले स्याउलिवाङलाई उच्च प्राथमिकतामा राख्ने बताउँदै अन्य निकायहरूलाई समेत स्याउलिवाङलाई केन्द्र विन्दुमा राखि काम गर्न अनुरोध गर्छु भन्नुभयो । उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले शान्ति सुरक्षाका विविध पक्षमाथि प्रकाश पार्दै जिल्लामा वालविवाह, बहुविवाह जस्ता सामाजिक अपराधमा वृद्धि भएकोले स्थानीय वासी यस विषयमा सचेत भई नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताउनुभयो । यसैगरी उक्त कार्यक्रममा उक्त वडाका वडाध्यक्ष शेर बहादुर सेनले वडाले यस आर्थिक बर्षमा गरेका मुख्यमुख्य कार्यक्रमका बारेमा जानकारी गराउँदै वडाका तर्फबाट प्रमुख जिल्ला अधिकारी समक्ष यातायातको पहुँच पुर्याउन, चट्याङ न्यूनीकरणका पहल गर्न तथा स्थानीय समस्यालाई समाधान गर्न अनुरोध गर्नुभयो ।
यातायातको पहुँच पुर्याउन माग
स्याउलीवाङबासीले उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले मुख्यतः सडक यातायातको पहुँच पुर्याउन सम्बन्धित निकायमा पहल गरिदिन प्रजिअ बद्रीनाथ गैह्रे समक्ष अनुरोध गरेका थिए । हाँल सम्म गाउँमा सड्क नपुगेकाले सड्क पुर्याउन माग गरेका हुन्।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहे, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, प्रमुख अनुसन्धान अधिकृत हेमन्त कार्की, निमित्त जिल्ला समन्वय अधिकारी सुरेल रावल, नौबहिनी गापा वडा नं १ का वडाध्यक्ष शेर बहादुर सेन, वडाका जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुख, स्थानीय कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस !