
सागर रिजाल
प्युठान,७ बैशाख ।
स्वर्गद्धारी नगरपालिका–२ खाल, नुस, बाईनेटा लगाएत स्थानका बालबालिकाहरु काफल बेचेर पढाई खर्च जुटाउदै छन् । बालबालिकाहरु विहान ५ बजे उठेर ढकियाभरि काफल बोकेर स्वर्गद्धारी मन्दीर जाने गेटमा पुग्छन् । विहान ५ बजे उठछु , बर्ष ११ की कक्षा ६ पास गरेकी लक्ष्मी वुढाले भन्नुभयो,–‘ढकियामा काफल बोकेर गाडीको सहयतामा स्वर्गद्धारी गेटमा पुग्छु । ’ बसमा ५० रुपिँया भाडा तिरेर काफल बेच्न पुग्ने गरेको उहाँले बताउनुभयो ।
धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीमा आउने दर्शनार्थीहरुलाई लक्षित गरि स्वर्गद्धारी मन्दिर जाने गेटमा काफल बेच्न आउने गरेको ६ कक्षा पास गरेका वर्ष १३ का हरि पुनले बताउनुभयो । विहान ७ बजे तिर यहाँ आईपुग्छौ, उहाँले भन्नुभयो,–‘ढकिया भरिको काफल बेचेर सकाएपछि मात्र घर फकिन्छौँ । ’ २० रुपिँयाको १ गिलास काफल बेच्ने उहाँले बताउनुभयो । दर्शनार्थीको काफल किन्नेको घुईचो लाग्ने गरेको उहाँले बताउनुभयो । कहिले दिउसै काफल बेचेर सक्छु, उहाँले भन्नुभयो,–‘कहिलेकाही काफल बेचीसक्दा साझ परेको हुन्छ । ’ दिउसोमा काफल बेचेर सकेपछि घरपुगेर खाना खाने र दिउसो नसकिए होटलमा नास्ता खाई काफल बेचेको उहाँले बताउनुभयो ।
भर्ना संगै शैक्षिक सामाग्री जुटाउन काफल बेच्छन् बालबालिका
वालमाध्यामिक विद्यालय स्वर्गद्धारी नगरपालिका–२ खालमा अध्ययन गर्ने १० देखि १२ जना बालबालिकाका २ हप्ता अघि देखी काफल बेच्दै आएका छन् । काफल पाक्ने यो सिजनमा उनीहरुको समय यसैमा वितेको छ । नयाँ शैक्षिक सत्र शुरु भए संगै नयाँ कक्षामा भर्ना हुन र शैक्षिक सामाग्री (कापि, कलम, झोला) किन्नका लागि आर्थिक जुटाउन काफल बेच्दै आएको बालबालिका बताउछन् । अब ७ कक्षामा भर्ना हुने हो, लक्ष्मि वुढाले भन्नुभयो,–‘विदाको समय सदुपयोग गरि काफल बेच्न आएको हु । ’ गाउँमा सबैको घरमा काफल फल्छ, यो वर्ष मौषम प्रतिकुलताका कारणले केहि समय अगाडी काफल पाकेको वुढाले बताउनुभयो ।
विद्यालय सञ्चालन नहुँदा सम्म बालबालिकाले काफल बेच्ने
विद्यालय सञ्चालन नहुँदा सम्म काफल बेच्न आउने बालबालिकाहरु बताउँछन् । गाउँ दुर्गममा छ, विक्रि गर्न नलानेभने घरमै कुहिएर खेर जाने वुढाले बताउनुभयो । बाबा मम्मीले विदाको समयमा काफल बेच्न जाउँ भनेर काफल बेचेको उहाँले बताउनुभयो । दिनमा नास्ता खर्च र भाडा कटाएर करिब एक हजार आम्दानी हुने गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो,–‘काफल बेचेर कमाएको पैसा घरमा लगेर बाबामम्मीलाई राख्न दिन्छु । ’ आफुले राख्न दिएको पैसा आवश्यक पर्दा माग्ने र खर्च गर्ने उहाँले बताउनुभयो । अगिल्लो वर्षपनि काफल बेचेर आर्थिक जुटाई पढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘पढाईलाई सहयोग होस भनेर काफल बेच्न आएको हुँ । ’ अबको केहि दिन पछि विद्यालय सञ्चालन हुने जानकारी पाएको वुढाले जानकारी दिनुभयो। पढाई शुरु नहुञ्जेल दैनिक काफल बेच्न आउने उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !