
सुशील पोखरेल
प्युठान ।
अहिले यतिवेला प्युठानको राजनीतिक बजारमा केपी ओली र प्रचण्डको चर्चा छ । आँउदो बैशाख १४ गते मुलुकका २ यी शिर्ष नेताहरु नेकपा अध्यक्षद्धय एवम बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एउटै मंचबाट संवोधन गर्नेगरी प्यूठान आउने तयारीले जिल्लाको ध्यान यतैतर्फ खिचिएको छ । २ तिहाइ बहुमत प्राप्त गरी शासन संचालनको नेतृत्व गरिरहेका यी शिर्ष ब्यक्तित्व प्यूठान आउदै गर्दा अनेक अडकलबाजी र चर्चा उठेका छन् । उनीहरुको आगमनले जिल्लावासीको लागि के फाइदा हुन सक्छ ? नेताहरु आएर भाषण गर्दैमा अहिले सम्म जिल्लाले के पायो ? कम्यूनिष्ट राजनीतिको उद्गम थलो भएकै कारणले बिगतका शाशकहरुबाट उपेक्षित रहदै आएको प्यूठानमा अवका दिनमा बिकासको मार्ग प्रशस्त गर्न यो आगमन र आमसभा कोशे ढुंगा सावित हुन सक्छ या सक्दैन ? यी यस्तै क्रिया प्रतिक्रिया सकारात्मक नकारात्मक बिभिन्न कोण र प्रतिकोणबाट चर्चा र टिप्पणी हुन थालेका छन । आम सचेत नागरिक समाजले यसलाइ एउटा आशाका साथ हेरिरहेको छ भने प्रतिपक्षी दलमा आस्था राख्नेहरुको नजरवाट फरक खालका अभिव्यक्ति आउने गरेको पनि देखिन्छ । जे होस अहिले प्यूठानको राजनीतिक बजार ओली प्रचण्डको आगमन तर्फ नै केन्द्रीत रहेको छ । आयोजक दल नेकपा इतिहासमै सवैभन्दा ठूलो मास स्वर्गद्धारी क्याम्पसमा उतार्ने गरी लागि परेको छ ।

स्वभाविक रुपमा वामपन्थी आन्दोलनको उर्वर थलो प्यूठानले अलग्गै पहिचान बोक्यो, त्याग र समर्पणको राजनीती गर्यो , कम्युनिष्ट आन्दोलनका लागि ठूलठूला हस्ती जन्मायो तर अहिले सम्म उपेक्षित रहदै आयो र बिकासको स्वाद चाख्न पाएन यो तीतो यथार्थताको पृष्ठभुमीमा प्यूठानी जनताको भावना र चाहनालाइ बुझ्ने र नयाँ शिरावाट जिल्लाको बिकासमा मार्ग प्रशस्त गर्ने प्रक्रियामा शिर्ष नेताहरुको यो आगमनले अर्थ राख्न सक्यो भने अवश्य नै यो आगमन ऐतिहासिक कोशे ढुंगा बन्न सक्छ । साँच्चिकै नेताहरुको आगमन हुँदै गर्दा बहुआयामिक ढंगवाट यसको महत्व रहनु पर्दछ । पहिलो कुरा त पार्टी एकता घोषणाको करीव एकवषर््ा पछि अर्थात बैशाख ९ गते कम्यूनिष्ट स्थापना दिवसका दिन तल्लो तह सम्म गठन प्रक्रियाले पुर्णता पाएको पहिलो संदेश प्यूठानवाट घोषणा गर्न सकियो भने यो निकै खुशीको कुरा हुनेछ । यसैगरी नयाँ आर्थिक बर्षको बजेट खाका तयार हुँदै गर्दा प्यूठानी जनताले आफ्ना जनप्रतिनीधि मार्फत आफ्ना समस्याहरु पस्कने र नेताहरुले प्रतिबद्धता देखाउन सके भने त्यो हाम्रा लागि थप गर्वको विषय हुनेछ । भन्नैपर्छ, प्यूठानवासीले भोगेको एउटा तीतो यथार्थता हामीले धेरै नेता जन्मायौ । राष्टिय राजनीतिको केन्द्र भागमा पुरयायौ तर बिकासका लागि पहुँच पुरयाउन सकिएन वा हामी नेताले चाहेनौ । स्वर्गद्धारी क्याम्पसको मंचवाट धेरै आश्वासन बाड्यौ तर गरी पुरयाउन सकेनौ हाम्रा आश्वासन नारामै सिमित रहे ।यसै समस्याको वीचबाट गुज्रदै आएको प्यूठानमा इतिहासमै पहिलो पटक हाम्रा आवाजको पहूँच पुरयाउन सक्ने अवसर प्राप्त भएको छ । शिर्ष नेताहरुको यो आगमन जिल्लावासीका लागि महत्वपूर्ण अवसर हो यो अवसरलाइ सकारात्मक चिन्तनका साथ क्यास गर्नु जरुरी छ ।
प्यूठानको बिकासका सवालमा आज नौमुरे जलबिद्युत, चाल्नेटार विमानस्थल, स्वर्गद्धारी केवलकार, प्यूठान अस्पतालको स्तरोन्नती लगायतका बिषयहरु अहिले पनि चर्चामै सिमित छ । बर्तमान सरकारको वाँकी कार्यकालको अवधीमा यसको पूर्णता दिने बातावरण तयार गर्न शिर्ष नेताहरुको आगमनले विश्वासको वातावरण दिलाउनु जरुरी छ । यस्का साथै प्यूठानको शिक्षा क्षेत्रमा एक स्थानीय तहमा एक प्राबिधिक शिक्षालय, स्वर्गद्धारी क्याम्पसलाइ आंगिक बनाउन प्रमुख प्राथमिकता यसैगरी सडक संजाल बिस्तार र सतरोन्नती, कृषि उद्योग लगायत समग्र प्युठानको बिकासमा नयाँ खाका तयार गरी यहाँका यहाँका जनप्रतिनीधी मार्फत पहल लिइ शिर्ष नेताहरुबाट प्रतिबद्धता आउन सक्यो भने नेताहरुको यो आगमन जिल्लावासीका लागि ऐतिहासिक हुनेछ । त्यसले नै पयूठानले आफ्नो रक्तरन्जित एवं क्रान्तिकारी परम्परा र इतिहासलाइ डगमगाउन दिने छैन ।
कमेन्ट गर्नुहोस !