
सागर रिजाल
प्युठान,१७ चैत ।
जिल्लाको ऐरावती गाउँपालिकाले गाउँपालिका भित्रका सरकारी सेवासुविधा प्राप्त गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीका छोराछोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । गाउँपालिकाको चैत १६ गते बसेको कार्यपालिकाको बैठकबाट यो निर्णय गरिएको हो । समाजमा सामुदायिक र नीजि विद्यालयमा हुने विभेदलाई हटाउन पालिकाले यो निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए । उनले भने,–‘यो निर्णयले गाउँ समाजमा शिक्षा प्रति देखा परेको विभेद न्युनिकरण हुने छ । ’ सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुलेनै छोराछोरीलाई नीजि विद्यालयमा पढाउने गरेको उनले बताए । उनले भने,–‘नीजि विद्यालयमा पढाईरहनुभएका शिक्षकका छोराछोरीलाई अब सामुदायिक विद्यालयमा पढाउन आग्रह गरेका छौँ । ’
गाउँपालिकाले गत वर्षदेखिनै यसलाई छलफलको विषय बनाएतापनि अब हुने नयाँ विद्यार्थी भर्ना अभियानलाई लक्षित गरि यो अभियानलाई अगाडी वढाउने निर्णय गरेको बस्नेतले बताए । राज्यले सरकारी विद्यालयलमा ठूलो धनराशी खर्च गरेतापनि समाजका प्रतिष्ठीत व्यक्तिहरुको ध्यान नपुग्नाका कारणले सामुदायिक विद्यालयप्रति विश्वासको बातावरण बन्न नसकेको उनले बताए ।
सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरु कुनै कोणबाट हेर्दापनि असक्षम हुनुहुन्न तरपनि समुदायको विश्वासको वातावरण जगाउनका लागि हामीले यो निर्णय गर्न परेको उनी बताउँछन् । साथै सामुदायिक विद्यालय र नीजि विद्यालयमा पढनपाठनको विषयबस्तु एउटै भएकाले पढाईमा फरक नहुँने उनले बताए । बर्षौ देखी कुरा मात्र गर्ने ठोस परिवर्तनका लागि केहि नगर्ने हाम्रो बानी बसिसक्यो बस्नेतले भने,–‘अब केहि हिम्मत गर्न जरुरी छ ।’ हामीले हाम्रो उदेश्यको पुष्टी गर्न सक्नुपर्छ तसर्थ मैले सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षक शिक्षीकाहरुमा आफ्नो क्षमता देखाउन विशेष आाग्रह गर्दछु गरेको छु ।

गत वर्षदेखि गाउँपालिकाका ४ सामुदायिक विद्यायमा कक्षा १ देखि अगे्रजी माध्यमबाट पठनपाठन शुरु भएको छ । पद्यमद्य माध्यामिक विद्यालय धुवाङ, मोती माध्यामिक विद्यालय बरौला, बालशिक्षा आधारभुत विद्यालय मान्द्रे र पाटेश्वरी प्राथमिक विद्यालय पकलामा अगे्रजी माध्यमबाट पढाई शुरु भएको उनले बताए । उनले भने,–‘ आगामी वर्षमा पालिकाका अरु विद्यालयमा समेत अगे्रजी माध्यमबाट पठनपाठन सञ्चालन गर्छौ । ’
ऐरावती गाउँपालिकामा ४१ सामुदायिक र ६ नीजि विद्यालय छन् । पालिकाले नयाँ वर्ष २०७६ संगै शुरु हुने भर्ना अभियानलाई जोड दिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरु सक्रिय सहभागितामा भर्ना अभियान चलाईने गाउँपालिका उपाध्यक्ष बस्नेतले बताए । सरकारी सेवासुविधा लिएका शिक्षक, कर्मचारीका छोराछोरी सामुदायिक विद्यालय पढाएको नपढाएको अनुगमन गरिने बताए ।
कमेन्ट गर्नुहोस !